कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाका कटाउन महिलाको प्रयोग

दिनमा पाँचदेखि सात पटकसम्म भारतबाट तस्करीका सामान ल्याइँदै, एक पटकमा पाँच सयसम्म कमाइ 
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको सदरमुकाम मलंगवासहित आसपास क्षेत्रका महिलालाई तस्करले भारतबाट अवैध सामान ढुवानीमा प्रयोग गर्दै आएका छन् । दैनिक पाँचदेखि सात पटकसम्म सीमा वारपार गरेर महिलाहरूले तस्करीका सामान ओसार्दै आएका हुन् । थोरै मेहनतमा धेरै आम्दानी हुन थालेपछि महिलाहरू यो काममा हौसिएका छन् ।

नाका कटाउन महिलाको प्रयोग

अवैध ढुवानीमा प्रायः गरिब परिवारका महिला संलग्न छन् । सीमामा प्रहरीले रोकेमा उनीहरूले प्रतिकार समेत गर्दै आएका छन् । महिला भएका कारण प्रहरी पनि पछि हट्दा तस्करहरूको मनोबल बढेको हो । महिलालाई प्रयोग गरेर बाह्रै महिना सीमाबाट अवैध सामान ढुवानी हुँदै आएको स्थानीय राजेशप्रसाद साहले बताए । सामानको मूल्यांकन हेरेर एक पटकमा दुई सयदेखि पाँच सयसम्म तस्करले दिने गरेको उनले जानकारी दिए । ‘सीमामा खटिएका प्रहरीलाई मिलाउने जिम्मा महिलाकै हुन्छ,’ उनले भने, ‘एक पटकमा बीसदेखि पचास रुपैयाँसम्म प्रहरीले पनि पाउँछन् ।’


मलंगवासहित भाँडसर, खुटौना, त्रिभुवननगर, पर्सालगायत सीमावर्ती गाउँका महिलाहरू अवैध सामान ढुवानीमा प्रयोग भइरहेका छन् । यी सबै क्षेत्रमा प्रहरीको जाँच भए पनि प्रभावकारी हुन सकेको छैन । जिल्लाको पूर्व संग्रामपुरदेखि पश्चिम बलरासम्मका दर्जनौं बस्ती भारतीय सिमानासँग जोडिएका छन् । यहाँका स्थानीय दैनिक उपभोग्य वस्तु किनमेल गर्नसमेत सीमावर्ती भारतीय बजार जाने गर्छन् ।


सुरक्षा अधिकारीहरूको बास सदरमुकाम मलंगवामै भए पनि यहाँको चोरीतस्करी रोकिएको छैन । मलंगवासहित आसपासका बजारमा ती नाकाहरूबाट भारतीय सामान भित्रिने गरेको छ । स्थानीय व्यापारीले अवैध सामान जिल्लाका उत्तरी क्षेत्रसहित संघीय राजधानी काठमाडौंसमेत पठाउने गरेका छन् । भारतबाट खाद्यवस्तु, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान भित्रिने गरेको छ । जिल्लामा मल अभाव भएका बेला पनि भारतबाट ल्याउने गरिएको छ ।


मलंगवामा भन्सार कार्यालय छ । तर, त्यहाँ आलु र प्याजबाट बाहेक अन्य सामानको राजस्व उल्लेख्य रुपमा उठेको देखिँदैन । बजारमा भने अधिकांश सामान भारतीय नै पाइन्छ । भारतीय बजार सोनवर्षाबाट नेपाली नाका त्रिभुवननगर जोड्ने झिम नदीमा पुल बनेपछि पनि त्रिभुवननगरस्थित छोटी भन्सारको राजस्वमा सुधार आउन सकेको छैन । यहाँ मिलेमतोमा सामान वारपार हुँदै आएको छ । ट्रकमा मुख्य भन्सार हुँदै आएको सामानमा पनि पाँच गुणा कमसम्मको भन्सार काटिने गरेको नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले बताए ।


उनले कर्मचारीको सेटिङमा व्यापारीले कम रकमको बिल बनाएर राजस्व छल्ने गरेको दाबी गरे । ‘एक ट्रकमा १० लाखको सामान भए दुई लाख रुपैयाँको बिल बनाएर ल्याउँछन्, त्यसैको राजस्व तिर्छन्,’ उनले भने, ‘सबैको मिलेमतोमा व्यापारीले राजस्व छल्दै आएका छन् ।’


झण्डै एक वर्षअघि सशस्त्र प्रहरीका एक उच्च अधिकारी आफै सीमामा पुगेर कडिकडाउ गरेका थिए । तर, महिलाहरू आक्रोशित भई खनिएपछि प्रहरीले सामान्य बल प्रयोग गर्नु परेको थियो । त्यही क्रममा एक महिला गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको सम्पूर्ण खर्च ती अधिकारीले तिर्नुपरेको थियो । त्यसपछि प्रहरी सीमामा कडिकडाउ गर्न हच्किरहेको छ । यसैलाई आधार बनाएर सीमामा खटिएका प्रहरीले महिलालाई रोकतोक गर्दैनन् । उनीहरूले महिलाले दिएको पैसा भने बुझ्ने गरेका स्रोतको दाबी छ । स्थानीयका अनुसार प्रहरीलाई दिने पैसामा कुरा नमिल्दा बेलाबेला दुई पक्षबीचमा तनाव हुने गरेको छ ।


खुला सीमाका कारण पोके तस्करलाई नियन्त्रण गर्न चुनौती रहेको सशस्त्र प्रहरीको १० नम्बर गणले जनाएको छ । पोके तस्करहरू खेतको बाटो र गोरेटो बाटो प्रयोग गर्ने गरेकाले हरेक स्थानमा प्रहरीको पहुँच हुन नसकेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले बताए । घरायसी रूपमा प्रयोग हुने सामान भएकाले रोकतोक गर्न कठिनाइ भइरहेको उनको भनाइ छ ।


‘खुला सीमाका कारण पोके तस्करीलाई नियन्त्रण गर्न चुनौती नै छ, ठूला तस्करी रोक्नमा सफल भएका छौं,’ उनले भने, ‘पोके तस्करी नियन्त्रणका लागि सबै पक्षको सहयोग हुनुपर्नेमा प्रहरी मात्र एक्लो उभिएको हुन्छ । यहाँका समाज र राजनीतिक दल पनि उनीहरूकै पक्षमा हुने गरेका छन् ।’ पोके तस्करलाई समात्नेबित्तिकै राजनीतिक प्रेसर समेत आउने गरेको प्रहरी बताउँछन् । त्यसलाई थेग्न प्रहरीलाई हम्मे पर्ने गरेको छ । मन्त्रालयबाट समेत प्रेसर आएपछि प्रहरीको मनोबल कमजोर हुँदै गएको छ । केही दिनअघि केही पोके तस्करलाई समातेर कारबाही गर्दा एक नेताको हप्कीदप्की सहनुपरेको एक प्रहरी अधिकृतले बताए ।


जिल्ला प्रहरी कार्यालयले भने गोरेटो बाटोमा प्रहरी नै परिचालन नगरिएको जनाएको छ । प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले गोरेटो बाटोको सीमामा सशस्त्र प्रहरीले जाँच गरिरहेको बेला कुनै काम विशेषले र सुराकीको आधारमा सादा पोसाकको प्रहरी गएको हुनसक्ने जानकारी दिए । ‘भारतसँग जोडिएको गोरेटो सीमामा सशस्त्र प्रहरीको चेकपोस्ट छ, नेपाल प्रहरी त्यहाँ परिचालन गरिएको छैन,’ उनले भने, ‘सुराकीका आधारमा घुमुवा प्रहरी गएको हुनसक्छ ।’

प्रकाशित : चैत्र १, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?