जागिरको प्रलोभनमा ठगी

भारतको नेटवर्किङ कम्पनीमा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति ६० हजार भारु उठाइएको छ
शंकर आचार्य

(पर्सा) — खोटाङ बाह्रपोखरी गापा–२ सुन्तलेकी २८ वर्षीया राधा थापा (नाम परिवर्तन) र २९ वर्षीय अशोक कुमार (नाम परिवर्तन) लाई माइती नेपालका सीमा पहरेदारले मंगलबार वीरगन्जस्थित सीमाबाट उद्धार गरे । इटहरीका सुनिल प्रधानले भारतमा मासिक भारु २५ हजार तलब पाइने जागिर लगाइदिने प्रलोभन दिएपछि उनीहरू भारतको खुसीनगर जान रक्सौल नाका पुगेका थिए । 

भारतको ‘अरेन्ज नेटवर्किङ’ कम्पनीमा राम्रो जागिरको प्रलोभनमा भारत जाँदा जोखिममा पर्ने सम्भावना देखेर माइती नेपालले दुवैलाई जिल्ला प्रहरी कार्यालयमा बुझायो । प्रहरीले उनीहरूका आफन्त बोलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाएको छ । फागुन २ गते पनि माइती नेपालले नेटवर्किङ कम्पनीमा काम गर्न भनी हिँडेका तीन जनाको उद्धार गरेको थियो । तीमध्ये मोरङका दुई र नुवाकोटका एक जना थिए ।


चालु फरवरी महिनामा मात्र यो नाकाबाट भारतीय नेटवर्किङ कम्पनीमा रोजगारीका लागि भनी जाँदै गरेका आधा दर्जनको उद्धार गरिएको माइती नेपाल आवधिक गृहकी प्रमुख संगीता पुरीले बताइन् । भारतीय नेटवर्किङ कम्पनीहरूले आकर्षक कमाइको प्रलोभन दिएर दुई वर्षयता नेपाली युवायुवतीबाट मोटो रकम ठग्ने गरिरहेको उनले जानकारी दिइन् । ‘यो समस्या दैनिक बढ्दो छ,’ उनले भनिन्, ‘नेटवर्किङ व्यवसायबारे थाहा नभई लहलहैमा असुरक्षित रुपमा भारत जाने गरेका छन् ।’ जोखिमपूर्ण रुपमा चेलीबेटीहरू भारत जाने भएकाले यो राष्ट्रिय स्तरकै समस्या भइसकेको उनले बताइन् ।


उक्त गृहले सन् २०१९ मा वीरगन्ज नाका हुँदै नेटवर्किङ व्यवसायमा संलग्न हुन भनी भारत जाँदै गरेका २६ जनाको उद्धार गरेको थियो । तीमध्ये आधा दर्जन पुरुष र बाँकी महिला थिए । दलालमार्फत अधिकांश चेलीहरू भारत जाने र दलालीमा अधिकांश महिला नै संलग्न हुने गरेका छन् । टाठाबाठा महिलाहरू तथा विगतमा आफै नेटवर्किङ व्यवसायमा संलग्न भइसकेकाहरूले सोझासाझा चेलीहरूलाई ‘पैसाले पैसा तान्छ’ भन्दै नेटवर्किङ व्यवसायमा लाग्न उत्प्रेरित गर्ने गरेको पुरीले बताइन् । उनका अनुसार लगानी गरेको रकमभन्दा १० गुणा बढीसम्म आम्दानीको प्रलोभन दिने गरिएको छ ।


सोझासाझा महिलासँग ५० देखि ६० हजार भारुसम्म लिने गरेको पाइएको छ । वीरगन्ज नाकाबाट विशेषगरी भारत बनारसको आइकोन र गोरखपुरको बिडी नेटवर्किङ कम्पनी जाने नेपाली धेरै छन् । ती कम्पनीमा पूर्वी नेपालका विराटनगर, झापा, धनकुटा, संखुवासभा, धरान, इटहरी क्षेत्रका महिलाहरू बढी जाने गरेका छन् । यसरी जानेमा विगतमा अधिकांश दलित, जनजाति र सामान्य साक्षर युवायुवती मात्र थिए । पछिल्लो समय शिक्षित युवायुवती पनि दलालको पासोमा परेर जोखिमपूर्ण रुपमा भारत जाने गरेको माइती नेपालले जानकारी दिएको छ । नेपालबाट भारत जाने चेलीबेटीहरू असुरक्षित हुने सम्भावना रहेको पुरीले बताइन् ।


जिल्ला प्रहरीका प्रवक्ता डीएसपी वीरेन्द्रबहादुर शाहीले नेटवर्किङ कम्पनीमा जागिर पाउने आशमा भारत जान लागेका थुप्रै युवायुवतीको उद्धार गरिरहेको बताए । तर भारतका नेटवर्किङ कम्पनीहरुको जालो नेपालसम्मै फैलिएको हुन सक्ने उनको भनाइ छ । सोही कारण विभिन्न कम्पनीको नेपालभित्रको गतिविधिमाथि अनुसन्धान भइरहेको उनले जानकारी दिए । ‘मुख्य व्यक्तिसम्म पुग्न मात्र बाँकी छ,’ उनले भने, ‘केही दिनमै यस्तो गैरकानुनी काममा संलग्नलाई समात्छौं ।’ प्रकाशित : फाल्गुन १४, २०७६ ०८:५७

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राजस्व छल्न ग्यारेजमै गाडी

शिव पुरी

(रौतहट) — गौर–चन्द्रनिगाहपुर खण्डको मोटर ग्यारेजहरूमा लामो समयदेखि भारतीय गाडी थन्किएको छ । मर्मतको बहानामा राजस्व छल्न ग्यारेजमा गाडी थन्काइएको हो । राजस्व तिरेर मात्र चलाउन पाइने नियममा कडाइपछि जिल्लामा भारतीय गाडी कमै देखिएको छ । तर, राजस्व छलीका लागि ग्यारेजमा थन्काउने क्रम भने बढेको छ ।

गरुडा, शिवनगर, गौरमा सबैभन्दा धेरै भारतीय नम्बर प्लेटका गाडी वर्षौंदेखि ग्यारेजमा अलपत्र छन् । यस्ता गाडीले एक दिनको पनि राजस्व तिर्दैनन् । वर्षमा ३० दिन मात्र भन्सार तिर्ने नियम छ । आर्थिक वर्षको साउन १ गतेदेखि असार मसान्तसम्म ३० वटा मात्र भन्सार काट्न पाइने प्रावधान रहेको गौर भन्सार कार्यालयका अधिकृत आशुतोष राईले बताए । ‘पहिला मेनुअल सिस्टम हुँदा भारतीय गाडीले प्रवेश गर्दा झुक्याउन सक्थ्यो,’ उनले भने, ‘अब कम्यूटराइज सिस्टम लागू भएपछि झुक्याउन सक्दैन । एउटा गाडीले कतिपटक भन्सार तिर्‍यो थाहा हुन्छ ।’

भारतबाट नेपाल प्रवेश गरेपछि कार, जिपलगायतका साना गाडीले दैनिक ५ सय राजस्व तिर्नुपर्छ । त्यस्तै मोटरसाइकलले १ सय ५० र ठूला सवारीले १ हजार ७ सय रुपैयाँ राजस्व तिर्नुपर्छ । भारतबाट सामान बोकेर आउने ठूला सवारी ट्रकलगायतले भन्सार राजस्व तिरेका हुन्छन् । साना सवारीले मात्र झुक्याउने गरेको भन्सारका कर्मचारहरूले बताए । रौतहटमा करिब ५ सय भारतीय गाडी रहेको अनुमान छ । बाटोका ग्यारेजहरूमा कति छन् भन्ने स्थानीय प्रशासनले तथ्यांक राख्ने भएको छ ।

भन्सार अधिकृत राईले ग्यारेजमा मर्मतको नाममा लामो समयसम्म राख्ने सवारी सुरक्षाकर्मीले समातेर बुझाएको खण्डमा ‘सिज’ गर्न सकिने बताए । ‘मर्मत गर्न राखेको वा कुनै आधार पेस गरेमा प्रतिदिन २ हजार ५ सयका दरले राजस्व लिई छाड्न सकिन्छ,’ उनले भने । ग्यारेजमा स्कार्पियोदेखि महँगा भारतीय गाडीहरू छन् । जिल्ला प्रहरीका डीएसपी नवीन कार्कीले भन्सार राजस्व नतिरेर बसेको भारतीय नम्बरप्लेटका गाडीलाई कारबाहीका लागि पठाउने गरेको बताए । ‘पछिल्लो समय भारतीय गाडी सञ्चालनमा कडाइ गरेका छौं,’ उनले भने, ‘ग्यारेजमा थन्काएका सवारीको हकमा योजना बनाउँदै छौं ।’ जिल्लाका ठूला पार्टीका नेतादेखि सामान्य कार्यकर्ताले समेत भारतीय गाडी चढ्छन् ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०८:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×