कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुरे बस्तीमा पुगेन विकास

ओमप्रकाश ठाकुर

(सर्लाही) — सर्लाहीको चुरे क्षेत्रका बस्तीमा आधारभूत विकास हुन नसक्दा जनजीवन कष्टपूर्ण बनेको छ । 

चुरे बस्तीमा पुगेन विकास

नगरपालिकाभित्र परे पनि चुरे बस्तीका स्थानीय सडक, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता विकासका पूर्वाधारबाट वञ्चित छन् ।


लालबन्दी बजारभन्दा २५ किलोमिटर उत्तरमा रहेको नारायण खोला बस्ती लालबन्दी नगरपालिका–१४ मा पर्छ । बस्ती पुग्न खोलाको बगरै–बगर गाडीमा जोमिखपूर्ण यात्रा गर्नुपर्छ । हिउँदको बेला यातायातका साधन चले पनि वर्षायाममा ठप्प हुन्छ । वर्षायामको तीन महिना सडक नभएकै कारण बिरामीलाई अस्पताल पुर्‍याउन समस्या हुने गरेको स्थानीय सन्चमाया थिङले बताइन् । ‘सामान्य स्वास्थ्य जाँचका लागि यात्रामा जोखिम मोल्नुको साटो पेनकिलर खाने गर्छौं,’ उनले भनिन्, ‘पेन किलरबाट आराम भएन भने धामीकोमा जान्छौं ।’


ईश्वरपुर नगरपालिकाको चुरे क्षेत्रमा पर्ने गुइडुङ, अड्डी, सानो फुलजोर, पिपल दमार बस्तीका स्थानीयले पनि कष्टपूर्ण जीवन बिताइरहेका छन् । बस्तीमा खानेपानी, सडक, शिक्षा, स्वास्थ्य र बिजुली पुगेको छैन । नगरपालिकाको सबैभन्दा विकट मानिने यी गाउँहरू विकासले पछि परेको छ । स्थानीयले नगरवासीको अनुभूति गर्न पाएका छैनन् । ‘नगरवासी हुँदा खुसी लागेको थियो । तर वृद्ध भत्ता लिन पनि एक दिन लाग्छ,’ गुइडुङका ७० वर्षीय मानसिंह थिङले भने, ‘स्थानीय सरकारले हाम्रो पीडा बुझिदेला भन्ने लागेको थियो, बुझेनन् ।’


चुरेका स्थानीयले शुद्ध खानेपानीसमेत पाएका छैनन् । उनीहरू स्थानीय खोला तथा कुवाको पानी खान्छन् । एउटै कुवाको पानी गाईबस्तु र जंगली जनावरले पनि खाने गरेको स्थानीय राम्रीमाया थिङले बताइन् । विकास निर्माणमा अघि देखिएका सर्लाहीका ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरे क्षेत्रका बासिन्दाले सडक, बिजुली बत्ती, खानेपानी लगायतको अभाव झेलिरहेका छन् । जनप्रतिनिधिले चासो नदिँदा यी बस्तीहरू विकासको प्राथमिकतामा पनि नपरेको स्थानीयको आरोप छ । नगरपालिकाहरूले भने चुरे क्षेत्रलाई प्राथमिकतामा राखेर विकासको काम गरिरहेको जनाएको छ ।


ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले हालै मात्र चुरे बस्तीमा प्राविधिकसहितको टोली पुगेर अध्ययन गरेका थिए । प्राविधिक टोलीले यी बस्तीहरूमा सडक पुर्‍याउन चुनौती रहेको औंल्याए । लिफ्ट प्रविधिमार्फत बस्तीमा खानेपानी पुर्‍याउन पहल भइरहेको मेयर देवकोटाले बताए । ‘स्थानीय सरकारको बजेटबाट हुने विकास निर्माणको काममा चुरेलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?