कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

पाँच महिना टिकेन पुल

धनुषा–महोत्तरी जोड्‌ने पुल भत्किएको सात महिना भइसक्यो, नयाा बन्ने सुरसार अझै छैन
सुनिता बराल

महोत्तरी — धनुषा र महोत्तरी जिल्ला जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको ५ महिना नपुग्दै भत्किएपछि स्थानीयबासीलाई आउजाउमा समस्या भएको छ । ०७५ चैतबाट सञ्चालनमा आएको पुल ०७६ को साउनमा खोलामा आएको बाढीले भत्काएको थियो । 

पाँच महिना टिकेन पुल

धनुषा र महोत्तरी जोड्ने उक्त पुल बनेपछि दुई जिल्लाका खेती गर्ने किसान बढी खुसी भएका थिए । महोत्तरीको बर्दिवास १ र ३ मा बसोवास गर्ने धेरैजसो स्थानीयवासीको खेती धनुषाको तुलसीमा छ । धनुषाको मिथिला नगरपालिका–११ मा बसोवास गर्ने स्थानीयबासीको मुख्य बजार बर्दिवास हो । दैनिक ५०० जना आउजाउ पुल भत्किएपछि बर्षाको समय खेती लाउन नपाउने भन्दै स्थानीयहरू चिन्तित बनेका छन् ।


रातुखोलामा पुल नहुँदा २ जिल्लाका स्थानीयले वर्षौंदेखि समस्या झेल्दै आएका छन् । ‘वर्षाको समय खोला बढेपछि पुल नहुँदा भोकभोकै खेतमै बास बस्नुपर्छ,’ बर्दिवास ३ की पार्वती गौतमले भनिन्, ‘खोलाकै कारण ३ दिनसम्म घर फर्कन नसक्ने हामी किसानलाई पुल बनेपछि निकै सजिलो भयो भन्ठानेका थियौं ।’


धनुषाको जङ्गलबाट दाउरा खोजेर बर्दिवासमा ल्याएर बिक्री गरी आफ्नो गुजारा टार्ने मिथिला नगरपालिका १ का बाबुराम मोक्तानलाई पुल भत्किएपछि पेट पाल्ने चिन्ता बढेको छ । ‘पुल बनेपछि बाटै छोटो भएको जस्तो लागेको थियो,’ उनले भने, ‘दाउरा बेचेर खाने मान्छेलाई पुल नहुँदा खोला बढेपछि मुखमा माड लाउन पनि मुस्किल हुन्छ ।’ समयमै फेरि पुल बनाउन पहल गरिदिन उनले सम्बन्धित पक्षलाई आग्रहसमेत गरे । स्थानीयले पुल बनाउने कम्पनीकै लापरबाहीले पुल भत्किएको आरोप लगाएका छन् । पुल बलियो गरी नबनाएको र तटबन्ध लगाएर पुलको सुरक्षा नगरेकाले पुल भत्किएको बर्दिवास ३ का जगनाथ अधिकारीले बताए । ४० वर्षदेखि धनुषाको तुलसीमा खेती गर्दै आएका उनले वर्षाको समयमा सधैँ खोलाको पिरले जग्गा राख्नु कि बेच्नु दोधार हुने गरेको बताए । वर्षामा खोलाले बाटो छेकेपछि खेतमै बिजोग गरेर बस्नुपर्ने बाध्यता हुनेगरेकाले पुल बनेपछि हजारौ मानिसलाई सेवा पुगेको भए पनि पुल बनाउनेले कमजोरी गरिदिएकाले पुल बगाएको उनी बताउँछन् । ‘खेती नगरौं, पेसा अरू छैन,’ उनले भने, ‘खेती गर्न खोलाले दिँदैन ।’ पुल कमसल बनाएर बजेट पचाउनेतर्फ लागेकाले बनेको पुल पनि प्रयोग गर्न नपाएको अधिकारीले बताए ।


तुलसीमा कृषि पेसा गरिरहेका कृषकहरूले बर्दिवासमा ल्याएर कृषिबाट उत्पादित खाद्यान्न बिक्रीवितरण गर्ने गरेका छन् । दुई जिल्लालाई जोड्ने पुल भत्किएपछि खेतीपातीको सिजन आएसँगै किसान आउने वर्षाको चिन्ता लिन थालेका छन् । उक्त पुल भत्किएमा एक वर्षसम्म मर्मतसम्हार गर्ने जिम्मा रहेको निर्माण कम्पनीले पुल बनाउने बाचा गरेको भए पनि पुल भत्किएको ७ महिना वितिसक्दा समेत पुल पुनः निर्माणको काम सुरु भएको छैन । पूर्वाधार विकास कार्यालय जनकपुरले टेन्डर आह्वान गरी २०७४ वैशाखमा थानी कन्स्ट्रक्सनलाई ठेक्का लगाएको उक्त पुल १ करोड ४७ लाखको लागतमा निर्माण भएको थियो ।


पुल त्यही मापदण्डमा निर्माण गर्ने कि नयाँ प्रविधि प्रयोग गर्ने भन्ने विषयमा छलफल जारी रहेकाले पुल निर्माण अघि बढ्न ढिला भएको पुल निर्माण कम्पनी हेल्बेटासका टिबिएसयु कार्यक्रमका इन्जिनियर लाल झाले बताए । नयाँ प्रविधि अपनाएर पुल निर्माण अघि बढाउँदा नयाँ बजेट थप्नुपर्ने भएकाले के कसरी पुल बनाउने छलफल सकेपछि चाँडै पुल निर्माण अघि बढाउने र आउने वर्षासम्म पुल बनिसक्ने झाले बताए । पुल खोलाले बगाएपछि धेरै सामानमा समेत क्षति भएको निर्माण कम्पनीले जनाएको छ । सो पुल संचालनमा आएपछि महोत्तरी र धनुषा जिल्लाका करीब ५ हजारले प्रत्यक्ष सेवा लिएका थिए ।


फेरि आउने वर्षा अघिनै पुल बनाईदिन स्थानीयको माग छ । पुलले आफ्नो वडावासीलाई निकै सुविधा पुगेको भए पनि एक सालको वर्षा समेत नटिक्ने पुल बनेको भन्दै अब बन्ने पुल मजबुत र गुणस्तर बन्नुपर्ने धनुषा मिथिला नगरपालिका ११ का वडाध्यक्ष वेदबहादुर कार्किले बताए । पुल तुरुन्तै बन्छ भनिए पनि ढिलासुस्ती भइरहेकाले चाँडो पुल बनाउन आफूले पहल गरिरहेको कार्किले बताए । पुलको दायाँ बायाँ तटबन्ध नगरिएकाले पुल बाढीले बगाएको उनले बताए । खोलामा ५०० मिटर तटबन्धका लागि समिति बनिसकेकाले अब बन्ने पुल संरक्षण गर्ने गरी समितिले पनि काम गर्ने उनले बताए ।

प्रकाशित : फाल्गुन १०, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?