कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थीको शंकास्पद मृत्यु

ओमप्रकाश ठाकुर

(सर्लाही) — सर्लाहीको नवलपुरस्थित लर्ड ब्राइट विज्डम इङ्लिस स्कुलका एक विद्यार्थीले आत्महत्या गरेका छन् । कक्षा ८ मा अध्ययनरत १५ वर्षीय अमन चौधरी सोमबार निर्माणाधीन होस्टल भवनमा तन्नाको पासो लगाएर झुण्डिएको फेला परेका हुन् । 

परिवारले शिक्षकको यातना खेप्न नसकेर छोराले आत्महत्या गरेको आरोप लगाएका छन् । विद्यालयले भने अभिभावकको गल्ती देखाएको छ । महोत्तरी जिल्ला गौशाला घर भएका पिता अस्मिन कुमारले अमनलाई अनुशासनको नाममा केही समयअघि सम्पूर्ण कपडा खोली सबै विद्यार्थीको अगाडि नांगो पारेर शिककले शारीरिक यातना दिएको दाबी गरे ।


‘अनुशासनको नाममा पटक–पटक मेरो छोरालाई मरणासन्न हुनेगरी यातना दिइँदै आएको थियो,’ उनले भने, ‘शिक्षकले कुट्दा शरीरभरि नै निलडाम हुने गरेको थियो ।’ झण्डै एक हजार पाँच सय विद्यार्थी रहेको सो विद्यालयमा चार सय विद्यार्थी होस्टलमा बस्दै आएका छन् । यति धेरै विद्यार्थी, शिक्षक, आन्तरिक सुरक्षाकर्मी लगायत कर्मचारी रहने विद्यालयभित्र कसरी विद्यार्थीले आत्महत्या गर्न सक्छ भन्दै परिवारजनले प्रश्न गरेका छन् ।


भाइसँगै होस्टलमा बसेका अमनले सोमबार आमाबुबासँग भेटेका थिए । त्यसपछि खाजा खाएर खेल्न गएका अमन एकाएक हराएका थिए । पछि उनी आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । छोरालाई भेटी घर फर्केको केही समयमै आमाबुबालाई घटनाबारे विद्यालय प्रशासनले जानकारी गराएको थियो । परिवारले घटनाको छानबिन र दोषीउपर कारबाहीको माग गरेका छन् । विद्यालयका प्रिन्सिपल सुदीप कार्कीले परिवारजनले लगाएको आरोप निराधार रहेको दाबी गरे । अमनलाई झुण्डिएकै अवस्थामा उद्धार गरिएको र उपचारका लागि नमूना अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको विद्यालयको दाबी छ ।


सोमबार अमनलाई भेट्न आएका बुबाआमाले विद्यालय परिसरमै उनलाई कुटेको कार्कीको भनाइ छ । विद्यार्थी अगाडि आमाबाट कुटिएपछि अमन तनावमा रहेको कार्कीले बताए । विद्यालयको नियम कानुनमा बस्न नखोज्दा अभिभावकलाई बोलाएर फिर्ता लिन आग्रह गर्दा लैजान नमानेको कार्कीको भनाइ छ । प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । ‘पोष्टमार्टम रिपोर्ट आएपछि वास्तविक कुरा थाहा हुन्छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?