कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिर्सियामा लक्ष्यभन्दा कम राजस्व

कान्तिपुर संवाददाता

(पर्सा) — पर्साको सिर्सिया सुक्खा बन्दरगाह भन्सारले माघमा ३ अर्ब ८ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको हो । यो महिनामा कार्यालयले ३ अर्ब १२ करोड ३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । 

सिर्सियामा लक्ष्यभन्दा कम राजस्व

कार्यालयका सूचना अधिकृत जगदीश पूर्वेका अनुसार चालु आवको माघसम्ममा २४ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य थियो । सो अवधिमा २२ अर्ब ४८ करोड २४ लाख रुपैयाँ संकलन भएको छ । केही महिनायता फलामको आयात घट्दो क्रममा रहेको तथा चिनी र इनर्जी ड्रिंकको आयात बन्द भएकाले पनि यस वर्ष राजस्व असुली प्रभावित भएको हो ।


‘यो भन्सारमा राजस्वको प्रमुख स्रोत फलाम हो, तर यसको आयात पनि क्रमशः घट्दो क्रममा छ,’ पूर्वेले भने, ‘चिनीको आयातमा सरकारले परिमाणात्मक बन्देज लगाएदेखि आयात ठप्प छ, इनर्जी ड्रिंकको आयात पनि ठप्प छ ।’ चालु आवमा केही वस्तुको आयात घटे पनि गत आवभन्दा चालु आवको माघ मसान्तसम्ममा यो नाकाबाट आयात २१ प्रतिशतले बढेको उनले बताए । फागुनमा भन्सारले ३ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको पूर्वेले बताए । लक्ष्य ठूलो नभए पनि राजस्वमा योगदान गर्ने मुख्य वस्तुहरूको आयात घटेकाले प्रभाव पार्ने उनको भनाइ छ । चालु आवको अधिकांश महिनामा कार्यालयलाई लक्ष्य भेट्टाउन समस्या हुँदै आएको छ ।


डेढ दशकदेखि सञ्चालित मुलुककै पहिलो सुक्खा बन्दरगाह सिर्सिया भारतको रेल सञ्जालसँग जोडिएको छ । तेस्रो मुलुकसँग आयात निर्यात व्यापारमा सहयोगी साबित हुँदै आएको यो बन्दरगाहमा भारतको कोलकाता, हल्दिया तथा विशाखापटनम बन्दरगाह हुँदै तेस्रो मुलुकबाट आयातित मालवस्तु रेलमा ढुवानी गरी ल्याइन्छ । फलाम, अन्न, मदिरा, गेडागुडी, रासायनिक मल आदि वस्तु आयात गर्दा रेलबाट सुरक्षित र लागत पनि कम पर्ने भएकाले आयातकर्ताले पछिल्लो केही वर्षयता सुक्खा बन्दरगाह नाका आयात निर्यातका लागि रुचाउँदै गएका छन् ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?