कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडाध्यक्षलाई महँगा मोटरसाइकल

लक्ष्मी साह

(बारा) — स्थानीय तहका जनप्रतिनिधिले मासिक तलब लिन नमिल्ने संवैधानिक व्यवस्था भए पनि कलैया उपमहानगरपालिकाका जनप्रतिनिधिले सवारी साधनलगायत शीर्षकमा मनपरी सुविधा लिँदै आएका छन् । गत साता मात्र उपमहानगरले वडाध्यक्षका लागि ४७ लाख ५५ हजार रुपैयाँमा २१ वटा अपाची बाइक खरिद गरेको छ । प्रत्येक मोटरसाइकलको मूल्य २ लाख २६ हजार रुपैयाँ परेको छ । 

वडाध्यक्षलाई महँगा मोटरसाइकल

बाइक खरिदको नागरिकस्तरबाट विरोध भइरहेको छ । यसअघि पनि वडाध्यक्षका लागि ८ वटा बाइक किनिएको थियो । २९ वटा वडा रहेको यस पालिकामा अपुग बाइक अहिले खरिद गरिएको हो । मेयर राजेश रायले ७६ लाख रुपैयाँ पर्ने स्ट्रोम गाडी चढ्दै आएका छन् । उनले गाडी खरिद गर्दा उपमेयर रहिमा खातुन रिक्सामा घर आउजाउ गर्थिन् । खातुनले विरोध गरेपछि उनका लागि पनि ६० लाख पर्ने स्कोर्पियो खरिद गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्बासे भने नगरपालिका नजिकै सरकारी आवास लिएर बसेका छन् । उनी कहिले मेयर त कहिले उपमेयरको गाडी चढ्छन् । ‘वडाध्यक्षहरूको दबाब थेग्न नसकेर अहिले बाँकी २१ जनाको लागि बाइक किनेका हौं,’ बेल्बासेले भने, ‘नगरमा हंगामा भएपछि बाध्य भएर किन्यौं ।’ गत वर्षमै विनियोजित गरिएको बजेटबाट किनिएको उनले बताए ।


‘जनप्रतिनिधिहरूलाई सेवा सुविधामा कमी छैन,’ कलैया उपमहानगर प्रमुख राजेशले भने, ‘असुविधालाई सुविधा बनाउन गाडी खरिद गरिएको छ ।’ जनप्रतिनिधिमा सेवा सुविधाप्रतिको मोह नघटेको कलैया नगरका मेयर प्रत्यासी मुकेश साहले बताए । ‘सेवासुविधा दिएर एकअर्कालाई खुसी पार्दैमा उनीहरूको दिनचर्या बितेको छ,’ साहले भने, ‘प्रदेशले कानुन बनाउन नसकेको र सर्वोच्चले रोक लगाएको कतै हेक्का छैन ।’


सेवासुविधा लिने/दिनेमा जनप्रतिनिधि र कर्मचारीले एकअर्कालाई सहयोग गर्दै आएको उनले आरोप लगाए । बिदाको दिन सरकार गाडीको दुरुपयोग गर्ने प्रवृत्ति बढेपछि स्थानीय प्रशासनले तीन महिनाअघि कडाइ गरेको थियो । त्यसयता सरकारी सवारी दुरुपयोगमा भने केही कमी आएको छ ।


प्रकाशित : फाल्गुन ७, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?