कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरी छल्न राति नै सीमा कटाइन्छ

ओमप्रकाश ठाकुर

(सर्लाही) — प्रशासनको उपस्थिति कमजोर रहेको जिल्लाको उत्तरी चुरे क्षेत्रमा गाँजाखेती फस्टाउँदै गएको छ । गाँजा पाक्ने बेला प्रहरीले फाँड्ने प्रयास गरे पनि प्रभावकारी देखिएको छैन । थोरै संख्यामा रहेका प्रहरी एकातिर गाँजा फाँड्दै गर्दा अर्कातिर स्थानीयले घरमा भित्र्याइसकेका हुन्छन् ।

प्रहरी छल्न राति नै सीमा कटाइन्छ

मकवानपुरमा भइरहेको गाँजा खेती सिन्धुली हुँदै सर्लाहीसम्म फैलिएको हो । चुरे आसपासको जमिन स्थानीयलाई गाँजा रोप्न सहज बनेको छ । खुला सीमाका कारण भारत लैजान सजिलो हुने भएकाले कतिपयले भारतीयकै लगानीमा खेती गरेका छन् । गाँजा स्याहार्न भारतीय व्यापारीले प्राविधिक टोली नै खटाउने गरेको स्थानीयले बताए । लालबन्दी नगरपालिका–१४, नारायणखोलामा गाँजा फँडानी गर्न तीन दिनदेखि सशस्त्र प्रहरीको विशेष टोली नै खटिएका छन् । प्रहरी नायब उपरीक्षकको कमान्डमा ३० जनाको टोलीले नारायणखोलास्थित मोटर दोभानआसपास क्षेत्रमा ५ बिघाभन्दा बढी गाँजा फँडानी गरिसकेको जनाइएको छ । सानो टोलीलाई सबै गाँजा फँडानी गर्न मुस्किल परिरहँदा नेपाल प्रहरीको पत्थरकोट चौकीका प्रहरी भने मूकदर्शक बनेका देखिन्छन् ।


प्रहरी खटिएपछि स्थानीयले पाकेका गाँजा रातिराति घर भित्र्याउन थालेका छन् । कतिपयले जंगल तथा झाडीमा लुकाएर राखेका छन् । मंगलबार प्रहरीले झाडीमा ठूलो परिमाणमा गाँजा फेला पारेको थियो । कसैले गाँजाका बोट राति नै काटेर सीमा कटाउने गरेका छन् ।


सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले कम जनशक्ति भए पनि गाँजा खेती निर्मूल पार्न हरसम्भव प्रयास गरिरहेको जानकारी दिए । मोटरदोभान आसपास लगाइएको गाँजा नष्ट गरेर मात्रै टोली फर्किने उनले बताए । ‘कम जनशक्तिका कारण चुरेमा जताततै लगाइएको गाँजा नियन्त्रण गर्न चुनौती छ, त्यही भएर प्रहरी नायब उपरीक्षकको कमान्डमा ३० जनाको टोली खटाएको छु,’ उनले भने, ‘यस क्षेत्रको गाँजा नियन्त्रणका लागि अभियान नै चाल्न जरुरी छ ।’


केही दिनअघि प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीसमेत गाँजा फँडानीका लागि नारायणखोला पुगेका थिए । त्यस क्षेत्रमा पाखो बारीमा गोडमेल गरी व्यापारिक प्रयोजनले गाँजा खेती गरिएको पाइएको थियो । त्यसयता नेपाल प्रहरीको सक्रियता केही कम देखिए पनि सशस्त्रले एक्लै प्रयास गरिरहेको छ । प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले अन्य ठाउँको सूचना संकलन गर्ने र गाँजा रहे/नरहेको भन्नेबारे यकिन विवरण संकलनमा जोड दिइएको बताए ।


सम्पूर्ण विवरण आएपछि एकैचोटि सम्पूर्ण जनशक्ति लगाएर गाँजा फँडानी अभियान चलाउने उनले सुनाए । सर्लाहीको चुरेक्षेत्र गाँजाको ‘हब’ बन्दै गएको स्थानीय एक राजनीतिक अगुवाले बताए । पाखो बारीमा अन्य बालीभन्दा गाँजा खेतीले राम्रो आम्दानी हुन थालेपछि स्थानीय आकर्षित भएको उनको भनाइ छ । उनले गाँजा खेतीविरुद्ध सशक्त अभियान नचलाएसम्म नियन्त्रण हुन नसक्ने जिकिर गरे । ‘गाँजाको ब्याड बनाउने बेलामै नियन्त्रण गर्नुपर्छ, त्यस बेला सुरक्षा निकायले मतलब गर्दैन,’ उनले भने, ‘पाक्न थालेको गाँजा फँडानी गर्नुको कुनै अर्थ छैन ।’ यस क्षेत्रमा अहिलेसम्म झन्डै दस बिघाभन्दा बढीमा लगाइएको गाँजा नष्ट गरिसकिएको छ ।

प्रकाशित : माघ ९, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?