कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुकुम्बासी बस्तीमा पुगेन सुविधा

अझै पनि टुकी बाल्ने र खोलाको धमिलो पानी खाने लमाहा जंगलछेउका बासिन्दा भन्छन्– ‘अब कसैलाई समस्या सुनाउँदैनौं, यही जंगलमै बिलाउँछौं ।’
शिव पुरी

(रौतहट) — चन्द्रपुर–६ स्थित लमाह जंगलछेउ बस्दै आएका सुकुम्बासीले व्यवस्थित बास र सुविधा माग्दै पटकपटक जनप्रतिनिधि गुहारे । तर नगरपालिकाले नसुनेपछि उनीहरू आजित भएका छन् । 

सुकुम्बासी बस्तीमा पुगेन सुविधा

पूर्वपश्चिम राजमार्गको आडैमा १४ घरधुरी छन् । ३१ वर्ष पुरानो यो बस्तीमा विद्युत्, खानेपानी, विद्यालय कुनै सुविधा छैन । जंगलमै बसाइए पनि राज्यले स्थानान्तरण गर्न नसकेको बस्ती प्रत्येक चुनावमा आश्वासन बाँड्ने ठाउँ मात्र बन्दै आएको छ । राष्ट्रिय वनक्षेत्र भएकाले कुनै किसिमको सरकारी सुविधा नदिन डिभिजन वन कार्यालयले सम्बन्धित निकायलाई दबाब दिँदै आएको छ । बस्तीकी फूलमाया पहरी आफूहरूलाई सरकारले अन्यत्र बसाइदिए सहज हुने बताउँछिन् । ‘कैयौं चुनावमा हाम्रा समस्या राख्दै आएका छौं । सक्दैनन् भने किन आश्वासन दिनु ?,’ उनले भनिन्, ‘अब कहिले पनि दु:ख, पीडा र समस्याबारे भन्दैनौं । समस्याजति यही जंगलमै बिसाउँछौं ।’ स्थानीय लामो समयदेखि लमाहा खोलाको धमिलो पानी पिउन बाध्य छन् । खोलाको डिलमा कुवा खनेका थिए । त्यसलाई बर्खाको भेलले बगाइदियो ।


उनीहरू अझै टुकीकै भरमा छन् । विद्यालय नभएकाले डेढ दर्जन बालबालिका खेलेरै बिताउँछन् । विद्यालय र बजार भेट्न जंगल छिचोलेर ७ किमि पूर्व चन्द्रनिगाहपुर र १२ किमि पश्चिम निजगढ पुग्नुपर्छ । २०४४ सालमा मकवानपुरको डाङडुङे गाउँबाट बस्ती हटाइएपछि उनीहरू यहाँ आएका हुन् । हुनेखानेलाई सरकारले जमिन दिएर राखेको र पहुँच नभएकालाई पाखा लगाएको फूलमायाको गुनासो छ । पति दिलबहादुरको ६ वर्षअघि पत्थरीले मृत्यु भएपछि परिवारमा आर्थिक संकट चुलिएको छ । बस्तीका अधिकांशको अवस्था यस्तै दयनीय छ । पुरुषजति प्राय: बेरोजगार छन् । तत्कालीन वनमन्त्री हेमबहादुर मल्लको पालामा पहाडको बस्ती हटाएर कटानी गाउँमा विस्तार गरिएको थियो । त्यस बेला हुनेखानेले मात्र घरघडेरी पाएको उनीहरूको गुनासो छ ।


स्थानीयले चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी, संघीय सांसद र प्रदेश सांसदहरूलाई खानेपानी र विद्युत् जोडिदिन आग्रह गरेका छन् । तर कसैले सुनुवाइ गरेनन् । डिभिजन वनले राष्ट्रिय वनक्षेत्रमा विद्युत्, स्कुल र खानेपानीलगायत संरचना बनाउन नमिल्ने भनेपछि नगरपालिका पछि हटेको हो । उक्त बस्ती स्थानान्तरण नै गर्नुपर्ने वन अधिकृत विनोद सिंह बताउँछन् । ‘वनक्षेत्रमा कुनै पनि सरचना बनाउन पाइँदैन,’ उनले भने, ‘हामीले धेरैचोटि बस्ती हटाउन खोजेका हौं तर सामाजिक रूपमा समस्या पार्ने गरिएको छ ।’ जंगलछेउको बस्तीमा वन्यजन्तुको त्रास उत्तिकै छ । कहिले झुपडीमै बाघ र हात्ती आइपुग्छन् । सधैं त्रासमा जिउनुपरको अर्की स्थानीय धन मायाले सुनाइन् ।


जिल्लाकै भोलनटारमा राष्ट्रिय वन मासेर बसालिएको यस्तै बस्ती छ । त्यहाँ बिजुली पुर्‍याउन पोल गाडिसकिएको छ । राजनीतिक पहुँचका आधारमा स्थानीयले सुविधा पाउन लागेका हुन् । कसैलाई काखा, कसैलाई पाखा गर्न नहुने लमाहाका सुकमान वाइबाले बताए । ‘हामीलाई राष्ट्रिय वनमा बसेको भन्ने अनि भोलनटारमा चाहिँ विद्युत्को पोल गाड्ने । यो कस्तो नीति हो ?,’ उनले भने, ‘नगरपालिकाले यसरी सौताको व्यवहार गर्न पाइँदैन ।’


मेयर चौधरीले लमाहाको बस्तीमा सुविधा पुर्‍याउने वा स्थानान्तरण गर्ने कुनै योजना नरहेको बताए । ‘यस विषयमा स्थानीयसँग छलफल गर्नुपर्छ,’ उनले भने, ‘यतिकै भनेर हुँदैन ।’ सरकारले लागू गरेको शिक्षा, स्वास्थ्य र पोषण कार्यक्रम सुकुम्बासी बस्तीमा उपयोग हुन सकेको छैन । प्रदेश सांसद धनलाल ठोकर लमाहाजस्ता बस्ती व्यवस्थित गर्ने र स्थानीयको जीवनस्तर कसरी उकास्ने भन्नेबारे प्रदेश सरकारसित कुरा राख्ने बताउँछन् । ‘मैले चुनावको बेला मात्र गर्न सक्छु भनेको होइन,’ उनले भने, ‘समस्या धेरै छन् । चाहेर पनि पूरा गर्न सकिरहेको छैन । सिंगो सरकारले चासो देखाउनुपर्छ ।’

प्रकाशित : माघ ८, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?