कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदूषण र असन्तुलित खानाले बढ्दै मुटु रोग

सुनिता बराल

महोत्तरी — नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेपालमा बाथ र मुटु रोगबाट वर्षेनि एक हजारभन्दा बढी बालबालिका मर्ने गरेको तथ्य सार्वजनिक गरेको छ । प्रदूषित पर्यावरण र असन्तुलित खानाको असरले प्रत्येक वर्ष मुटुरोगीको संख्या बढ्दै गएको मुटुरोग विशेषज्ञ चिकित्सकहरूले बताएका हुन् ।

प्रदूषण र असन्तुलित खानाले बढ्दै मुटु रोग

महोत्तरीको बर्दिवासमा आयोजित प्रतिष्ठानको २८औं केन्द्रीय सम्मेलनमा सहभागी मुटुरोग विशेषज्ञहरूले मुटु बचाउन पर्यावरण बचाउनुपर्ने र खानामा ध्यान दिनुपर्ने बताए । बालबालिकाको टन्सिल बढ्दा र पाक्दा, घाँटी दुख्दा औषधिउपचार नगरे बाथ र मुटु रोग सुरु हुने गरेको मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले जानकारी दिए । उनले बालबालिकामा मुटुको समस्या बढी देखिएको बताए ।

मुटुरोगको कारण नेपालमा वर्षेनि एक हजार बालबालिकाको मुटुको भल्भ शल्यक्रिया गरेर फेर्नुपरेको रेग्मीले बताए । प्रतिष्ठानले ५ लाखभन्दा बढी बालबालिकाको मुटु परीक्षण गरिसकेको जनाएको छ । प्रतिष्ठानले १० हजार बाथ तथा मुटु रोगीलाई उपचार सहयोग र ५ सयभन्दा बढी बिरामीको शल्यचिकित्सा उपचार गरेको जनाएको छ । बाथ र मुटुरोगीको संख्या बढ्दै गएकाले सरकारले शल्यचिकित्सा उपचार सेवा निःशुल्क गरेको छ । सरकारले मुटुरोगीको उपचारका लागि वार्षिक ३० करोड रुपैयाँ लगानी गरे पनि नियन्त्रण र रोकथामको निम्ति रकम अभाव रहेको प्रतिष्ठानका अध्यक्ष दीपेन्द्रपुरुष ढकालले बताए । नागरिकको मुटु बचाउन प्रतिष्ठानले एक करोड रुपैंयाँको अक्षयकोष स्थापना गरी महाअभियान सञ्चालन गर्न लागेको उनले जानकारी दिए । अभियानबाट अबको १० वर्षमा बाथ र मुटु रोगलाई ५० प्रतिशतले न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।


कार्यक्रममा पूर्वराष्ट्रपति डा.रामवरण यादवले सरकारी निकाय चुरे दोहन र वनजंगल संरक्षणमा लागेकाले तराईमा वायु प्रदूषणको प्रभाव न्यूनीकरणमा टेवा पुग्ने बताए । उनले धनुषाको ढल्केवरमा दिलीप महतोको हत्या प्रकरणले ‘चुरे बचाउनुपर्छ’ भन्ने मान्छेको आवाज बन्द गर्न खोजिएको संकेत गरेको उनको भनाइ छ ।


प्रतिष्ठानले मानव मुटु बचाउन महत्वपूर्ण योगदान गरेबापत ३ जना विशेषज्ञ चिकित्सकलाई सम्मान गरेको छ । प्रतिष्ठानले मृगेन्द्र सम्झना चिकित्सा गुठी ओरेशन सम्मानद्वारा डा.प्रकाशराज रेग्मीलाई यस वर्षको ‘हट हिरो’ सम्मान प्रदान गरिएको छ । स्वर्गीय दामोदरराज शर्मा मुटुरोगी सेवा पुरस्कार प्राध्यापक डा. प्रचण्ड प्रधान, मृगेन्द्र सम्झना चिकित्सा गुठी युवा पुरस्कार डा. देवकुमार न्यौपाने र शाखा सुदृढीकरण अक्षयकोष पुरस्कार मकवानपुर जिल्लालाई प्रदान गरिएको प्रतिष्ठानको पुरस्कार छनोट समितिका सदस्य उत्तमलाल श्रेष्ठले बताए ।

प्रकाशित : माघ ६, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?