कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत् नै नजोडी २ लाख महसुल !

धनुषा — नेपाल विद्युत् प्राधिकरण यदुकाहा शाखाले जडान नै नभएको विद्युत् मिटरको महसुल बुझाउन ग्राहकलाई पत्र पठाएको छ । कार्यालयले विदेह नगरपालिका–२ का नरेश पण्डितले सञ्चालन गरेको मा दुर्गा सःमिलको नाममा रहेको ०००१४४६८ नम्बर विद्युत् मिटरको शुल्क बुझाउन ताकेता गरेको हो ।

विद्युत् नै नजोडी २ लाख महसुल !

उक्त नम्बरको विद्युत् मिटर प्राधिकरणको शाखा कार्यालयमै भेटिएको छ । कार्यालयको रेकर्डअनुसार २०७० मंसिरमा विद्युत् मिटर जडान गरिएको थियो । तर, प्रयोगमा नआए पनि महिनाको न्यूनतम २१ रुपैयाँ विद्युत् महसुल सहितको पत्र बुझाउन ताकेता गरिएको छ ।


पण्डितले मिटर जडानका लागि कार्यालयमा आवेदन दिए पनि नजोडेको बताए । शुल्क नबुझाउँदा उनको घरमा प्रयोग हुने विद्युत् लाइन काटिएको छ । विद्युत् मिटर जडान भएको ६ वर्षसम्मको १ लाख ९० हजार महसुल नबुझाएको भन्दै लाइन काटेको उनले बताए ।


उनका अनुसार फर्निचर उद्योगमा विद्युत् कार्यालयका कर्मचारी शम्भु मिश्रले मिटर जडान गर्न आउँदा ५ हजार रुपैयाँ मागेका थिए । अतिरिक्त रकम नदिँदा पण्डितको नाममा दर्ता भएको मिटर फर्निचर उद्योगमा नलगाई विद्युत्का कर्मचारी फर्केका थिए । तर, त्यो

विद्युत् मिटर मिश्रले महिनौंसम्म ससुरालीमा लुकाएका थिए । पछि विद्युत्कै कर्मचारीको सहयोगमा पण्डितले विद्युत् मिटर फर्निचरमा जडान नभएको भन्दै फिर्ता गराएका थिए । त्यसको करिब ५ वर्षपछि महसुल तिर्न कार्यालयले पत्र पठाएको हो । पण्डितले कार्यालयमा उजुरी गरेका छन् ।


सेवाग्राहीको उद्योगमा मिटर जडान नभएको तर कार्यालयमा लगत खारेज नहुँदा न्यूनतम महसुल उठेको कार्यालयका प्रमुख सुनिल महतोले बताए ।


जनकपुर कार्यालयबाट जडान भएको मिटरको लगत खारेज गरी अनुसन्धान भइरहेको उनको भनाइ छ । प्रयोगमा नरहेको विद्युत् मिटर जनकपुर कार्यालयबाट बरामद भएको हो ।

प्रकाशित : माघ ६, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?