वीरगन्जमा जापानी अनुदानको चामल- प्रदेश २ - कान्तिपुर समाचार

वीरगन्जमा जापानी अनुदानको चामल

कान्तिपुर संवाददाता

(पर्सा) — जापान सरकारले अनुदानमा पठाएको चामल वीरगन्ज आइपुगेको छ । यसै साता चामल आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाका प्रमुख नरनाथ अधिकारीले बताए । ‘वीरगन्ज शाखालाई ५३ हजार १ सय १४ बोरामा १५ हजार ९ सय ३४ क्विन्टल चामल आउनुपर्ने हो,’ उनले भने, ‘कोलकाता बन्दरगाहबाट रेलमा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आएको चामल हाम्रो गोदाममा ल्याइसकेका छौं ।’ अधिकारीका अनुसार चामललाई च्यातिएका बोराबाट भिकेर नयाँमा प्याकिङसँगै तौल गर्ने काम भइरहेको छ ।

कम्पनी केन्द्रीय कार्यालय र जापानी दूतावासबीच गत वर्ष भएको सम्झौताअनुसार चामल आए पनि कहाँ र कहिले परिचालन गर्ने भन्ने निर्देशन नरहेको बताए । तर ताप्लेजुङबाट केन्द्रमा माग गइसकेकाले उतै जाने सम्भावना छ । अघिल्ला वर्ष नेपालगन्ज, काठमाडौं, गोरखालगायत जिल्लामा गएकाले त्यसको पनि सम्भावना रहेको उनले बताए । जापानले अघिल्ला दुई आवमा ५०/५० हजार क्विन्टल चामल पठाएको छ । अघिल्लो आवमा ५ हजार १ सय ७९ दशमलव ८० क्विन्टल चामल संस्थान वीरगन्ज शाखाको जिम्मामा थियो । बाँकी चामल संस्थानका सुर्खेत र काठमाडौंस्थित कार्यालयमा भण्डारण गरिएको थियो ।


जापानी चामल सिर्सिया सुक्खा बन्दरगाहमा आउने गरेको छ । रेलबाट ढुवानी गरेर ल्याउन सहज हुने भएकाले वीरगन्ज आउने गरेको हो । जापानले पठाएको चामल ताइचिन हो । पहाडी जिल्लामा चाडपर्वमा सेलरोटी तथा खिर पकाउन यो चामल बढी प्रयोग हुन्छ । ताइचिनको च्युरा पनि नेपालमा निक्कै रुचाइन्छ । दैवी प्रकोप प्रभावित क्षेत्रमा वितरण गर्ने उद्देश्यले जापानले चामल अनुदान दिँदै आएको छ ।


प्रकाशित : माघ ३, २०७६ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्

दुहुना गाई–भैंसी तस्करी

कान्तिपुर संवाददाता

(पर्सा) — सशस्त्र प्रहरीको १४ नम्बर गुल्मले मंगलबार साँझ वीरगन्ज बसपार्क क्षेत्रमा बा१७च १९ नम्बरको बोलेरो जिपबाट दुइटा दुहुनो भैंसी र पाडी नियन्त्रणमा लियो । ती चौपाया भारतको रक्सौलबाट भन्सार छलेर ल्याइएका हुन् । प्रहरी देखेपछि चौपाया धनी र चालक जिप छाडेर भागेका थिए । 

प्रहरीले चौपाया र गाडीसमेतको मूल्य ७ लाख ८० हजार कायम गरी थप कारबाहीका लागि वीरगन्ज भन्सारमा बुझाएको छ ।

सशस्त्र प्रहरी राजस्व भन्सार गस्ती वीरगन्जका प्रमुख डिएसपी अमरबहादुर खत्री साउनयता दुहुना गाईभैंसीको तस्करी बढेको बताउँछन् । उनका अनुसार यो अवधिमा विभिन्न नाकाबाट बरामद गरिएका ५ गाई, २९ भैंसी तथा पाडापाडी र ६ वटा खसी लिलामी गरिएका छन् ।

पशु क्वारेन्टाइन कार्यालय वीरगन्जका प्रमुख डा. हरेराम यादव नाकाबाट कुनै पनि पशुपन्छी आयातमा भारतीय क्वारेन्टाइनको सिफारिस अनिवार्य गरिएको बताउँछन् । महाशाखाले पशु स्वास्थ्य सेवा ऐन २०५५ र नियमावली २०५६ अनुसार चौपाया तथा माछा आयात गर्ने मुलुकका क्वारेन्टाइनबाट तिनको स्वास्थ्य तथा उत्पत्तिको सिफारिस अनिवार्य गरेको हो ।

भारतका कोलकाता, दिल्ली, मुम्बई, चेन्नई, हैदराबाद र बेंग्लोर गरी आधा दर्जन स्थानमा यस्ता क्वारेन्टाइन कार्यालय छन् । यी कार्यालय टाढा भएकाले कारोबारीले सिफारिस ल्याउन अटेरी गर्ने गरेका छन् । कतिपय कारोबारीले पशु क्वारेन्टाइन महाशाखाको सूचना अवज्ञा गरी जबर्जस्ती यस्ता चौपाया भित्र्याउन खोज्छन् । कतिले नाकासँग सम्बन्धित वडाका जनप्रतिनिधिको सिफारिस देखाउँछन् ।

विगतमा भारतबाट राँगा, भैंसी, खसी, बाख्रा, माछा आदि आयात गर्दा यस्तो सिफारिस अनिवार्य थिएन । यसले गर्दा स्वदेशी माछा र मासु व्यवसायीले भारतीयसँग कडा प्रतिस्पर्धा गर्नुपरेको थियो । भारतीय माछा तथा चौपाया अस्वस्थकर भएको गुनासोपछि महाशाखाले सिफारिस अनिवार्य गरेको डा. यादव बताउँछन् । यो नियम आउनुअघि पर्सा, बारा र रौतहटका विभिन्न नाका हुँदै मासिक ३ हजारसम्म चौपाया भित्रिन्थे ।

भन्सार छलीको सामान बरामद
सर्लाही– प्रहरीले नेपाल–भारत सीमाबाट भन्सार छलेर ल्याइँदै गरेको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ । मलंगवा नगरपालिका–६, भाँडसर नाकाबाट भित्र्याइँदै गरेको उक्त सामान १ लाख ४३ हजार रुपैयाँबराबरको रहेको प्रहरीले जनायो ।

भारतका सोनवर्षाबाट मोटरसाइकलमा आएका तस्कर प्रहरीको गस्ती टोली देख्नासाथ सामान छाडेर भागेका थिए । प्रहरीले मोटरसाइकल, विभिन्न कपडा र झोला बरामद गरेको छ । खुला सीमा–नाकाका कारण तस्करहरूले लुकाई–छिपाई भारतबाट अवैध रूपमा सामान भित्र्याउने गरेका छन् । जिल्लाका केही नाकाबाट प्रहरीकै मिलेमतोमा सामान भित्रिने गरेको आरोप छ ।

प्रकाशित : माघ ३, २०७६ १२:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×