बालविवाह रोक्न धर्मगुरु एकै ठाउँ

उनीहरुले आफ्ना धर्मशास्त्रले बालविवाहको वकालत नगरेको दाबी गर्दै उमेर नपुगी हुने जुनसुकै विवाह रोक्ने प्रतिबद्धता जनाए
शंकर आचार्य

(पर्सा) — विभिन्न धर्मगुरुले बालविवाह नगराउने सामूहिक प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारीअन्तर्गत मंगलबार वीरगन्जमा आयोजना गरेको बालविवाह न्यूनीकरण तथा रोकथामसम्बन्धी अन्तरक्रियामा हिन्दू, इसलाम, शिख र इसाई धर्मगुरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

ZenTravel

हिन्दू धर्मगुरु पुरुषोत्तम दुबेले सनातन धर्मका ग्रन्थले जुन मुलुकमा बसिन्छ त्यहीँको कानुन पालना गर्नुपर्छ भन्ने सन्देश दिएकाले आफूहरूले नेपालको कानुनले तोकेअनुसार २० वर्ष उमेरमुनिका केटाकेटीको विवाह नगराउने बताए । ‘बालविवाह गर्दा र गराउँदा आर्थिक, मानसिक, सामाजिक, शारीरिक समस्यासमेत हुने रहेछ,’ उनले भने, ‘त्यस कारण भविष्यमा पुरोहितको काम गर्दा वरवधूको उमेरको अवश्य पनि ख्याल राख्नेछौं ।’

Meroghar


मुस्लिम मौलाना जहिर अन्सारीले बुबाले छोरीलाई दिने सबैभन्दा उत्तम उपहार नै शिक्षा भएकाले उच्चशिक्षा नलिएसम्म विवाह गरिदिनु अन्याय भएको बताए । इस्लामले पनि कतै बाल विवाहको समर्थन र वकालत नगरेको उनको भनाइ छ । अर्का मौलाना अली असगर मदनीले मुस्लिम सरियत (धर्म) ले पनि बालिग भएपछि मात्र विवाह गर्नुपर्ने उल्लेख गरेको बताए । मदर्सा अर्गनाइजेसनका जिल्ला अध्यक्ष इमाम हुसेनले मुस्लिम समुदायमा बालविवाह रोक्न साप्ताहिक धार्मिक प्रार्थना (जुम्मा) मा विशेष सम्बोधन गर्ने बताए ।

इन्जिनियर सौकत अलीले कतिपय बालविवाह रोक्न प्रहरीबाटै असयोग भएको गुनासो गरे । अर्का इन्जिनियर नुरुल होदा आलमले मुस्लिम समुदायमा जनचेतना वृद्धिसँगै बालविवाहविरुद्ध प्रवचनको पनि आवश्यकतामा जोड दिए । क्रिस्चियन समाज प्रदेश नम्बर २ का अध्यक्ष डा. पिटर कमलेश्वरले बालविवाह रोक्न सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक प्रभाव पनि आवश्यक रहेको बताए । शिक्षासँगै चेतनाको स्तर बढ्दै गएपछि बालविवाह कम हुने उनको भनाइ थियो । आफ्नै विवाह १९ र बहिनीको विवाह १५ वर्षमा भएको सम्झँदै उनले अहिले शिक्षाकै कारण मान्यता परिवर्तन हुँदै गएको बताए ।

क्रिस्चियन समाजका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले बाइबलमा जहाँ बसिन्छ त्यहीँको कानुन पालना गर्नुपर्ने उल्लेख रहेकाले बालविवाह हुन नदिन आफू प्रतिबद्ध रहेको बताए । शिख समुदायका धर्मगुरु अमरजित सिंहले आफ्नो समुदायमा बालविवाह नभए पनि हुन सक्ने सम्भावनालाई स्विकार्दै धार्मिक प्रवचनमा यसविरुद्ध चर्चा गर्ने प्रतिबद्धता जनाए । प्रदेश २ मदर्सा बोर्डका अध्यक्ष शशिकपुर मियाले ३ महिनाअघि मुस्लिम समुदायमा भएको एउटा बालविवाह रोकेको प्रसंग निकाल्दै यससम्बन्धी कार्यक्रम गाउँमा पनि केन्द्रित गर्न सुझाए ।

इन्सेकका जिल्ला प्रतिनिधि केसी लामिछानेले मानवअधिकारका दृष्टिले पनि बालविवाह अनुचित रहेको बताए । कसैले अज्ञानवश बालविवाह गरे/गराएको भनी उम्किन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

डिएसपी गौतम थापाले जिल्ला प्रहरी कार्यालयमा यस वर्ष बालविवाहसम्बन्धी २ र बालविवाह उद्योगसम्बन्धी २ वटा मुद्दा दर्ता भएको बताए । त्यसै गरी दाइजोसम्बन्धी ३ र जबरजस्ती करणीसम्बन्धि २१ मुद्दा दर्ता भएको उनले जानकारी दिए । थापाका अनुसार यी मुद्दा धेरैजसो बालबालिका र बालविवाहसँग जोडिएका छन् । बालविवाहमा कसुर हेरी ५० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैदको व्यवस्था रहेको उनले बताए ।

दोहोर्‍याएर यो अपराधमा संलग्न हुनेलाई २५ प्रतिशत सजाय थप हुने प्रावधान रहेको पनि उनले जानकारी दिए । प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बालविवाह गर्ने/गराउने दुबैलाई कारबाही हुने बताए । ‘बाल विवाहले शारीरिक, आर्थिक, सामाजिक र मानसिक सबै खाले समस्यासमेत निम्त्याउँछ,’ उनले भने, ‘समाजमा फरक–फरक प्रथा र रीति रिवाज रहे पनि कसैले कानुन मिचेर आफूखुसी गर्न पाउँदैन ।’

प्रकाशित : माघ १, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्

तराईमा भिजिट मधेस अभियान

लक्ष्मी साह

(बारा) — सरकारले नेपाल भ्रमण वर्ष–२०२० मनाइरहँदा तराईका २२ वटै जिल्लामा ‘भिजिट मधेस’ अभियान सुरु भएको छ । ‘भिजिट मधेस’ नामक गैरसरकारी संस्थाले अभियान थालेको हो ।

तराईको पर्यार्वरण, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक स्थलको भ्रमणबिना नेपाल भ्रमण वर्ष सफल नहुने भन्दै विभिन्न स्थानीय तह र प्रदेश २ सरकारको पर्यटन मन्त्रालयमार्फत ‘भिजिट मधेस’ अभियान थालिएको भिजिट मधेसका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले बताए ।

‘तराई–मधेसका जिल्लामा थुप्रै पर्यटकीय स्थल भए पनि संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेको छैन, त्यसैले हामी छुट्टै अभियान थालेका छौं,’ उनले भने, ‘मेचीदेखि महाकालीसम्म पर्ने तराईको भूभागमा पर्यटनको प्रचुर सम्भावना छ ।’ अभियानमा प्रदेश २ का पर्यटन राज्यमन्त्री सुरेश मण्डल सक्रिय छन् । पर्साको वीरगन्जबाट सुरु गरिएको अभियान बारा–रौतहट हुँदै मंगलबार सर्लाही पुगेको छ ।

सरोकारवालालाई भेला पारेर तराई–मधेसका पर्यटकीय स्थलको वृत्तचित्र पनि देखाइँदै छ । ‘तराईलाई चिनाउन अभियानले काम गरिरहेको छ, ‘भिजिट’ नेपाललाई ‘भिजिट मधेस’ अभियानले सहयोग गरिहेको छ,’ भ्रमणवर्ष २०२० प्रदेश समन्वय समिति, प्रदेश २ सचिवालय सदस्य मोहन शर्माले भने, ‘यसलाई नकारात्मक मान्नु हुँदैन ।’ प्रदेश सरकार आर्थिक अभावले थलिएकाले सरकारी कार्ययोजनाअनुसार सरकारी भ्रमण वर्ष प्रभावित भइरहेको
उनले बताए ।

‘बजेट समस्याले पर्यटन क्षेत्रको ‘ब्रान्डिङ’, ‘मार्केटिङ’ र ‘कल्चर टुरिजम’ को काम प्रभावहीन बनेको छ,’ उनले भने, ‘प्रदेश सरकारमा आर्थिक अभाव भएकाले २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा नहुने छाँट देखिएको छ ।’ केन्द्र सरकारले काठमाडौंमा जहाजबाट आउनेलाई मात्र पर्यटक मानिरहेको उनको आरोप छ ।

‘गढीमाई मेला र जनकपुरमा लाखौं आए पनि तिनलाई सरकारले पर्यटक मानेको छैन,’ उनले भने, ‘तराईमा जल, जंगल, धार्मिक र ऐतिहासिक महत्त्वका थुप्रै पर्यटकीय स्थल छन् ।’ भिजिट मधेस २०२० कार्यक्रमलाई गत शुक्रबार सम्बोधन गर्दै प्रदेश २ का पर्यटन राज्यमन्त्री मण्डलले तराई–मधेसमा पर्यटनको ठूलो सम्भावना रहेको बताए । नेपालमा सबभन्दा धेरै पर्यटक भित्र्याउने गढीमाई मन्दिर रहे पनि संघीय सरकारको बेवास्ताका कारण यो मेलालाई विश्वसम्पदामा राख्न नसक्नु दु:खद भएको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास बताउँछन् ।

प्रकाशित : माघ १, २०७६ ०९:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×