कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रैथाने कुखुरा–परेवा व्यवसायमा युवा

सिरहा — सिरहा–२२ हकपाराका रामदत ठाकुर रैथाने प्रजातिका कुखुरा र परेवा पाल्छन् । यसबाट राम्रो आम्दानी पनि गरिरहेका छन् ।

खाडी मुलुक कतारमा १७ वर्ष बिताएका उनले त्यहाँ रहदा स्थानीय प्रजातिकै पक्षी फर्ममा काम गरेका थिए । त्यसैमा रस बसेकाले स्वदेश फर्केपछि वर्षदिनअघि मनीष पोल्ट्री फर्म खोलेका हुन् । विदेशमा आर्जन गरेको पैसा फर्ममा खर्चेका छन् । भाडामा जग्गा लिएका छन् । ५ लाख रुपैयाँ लगानी रहेको फर्ममा अहिले ४ सयभन्दा बढी कुखुरा छन् । रैथाने सेतो, कालो, रातो, फुस्रोलगायत कुखुराले उनको फर्म रंगीचंगी बनेको छ । फर्मभरि परेवा पनि छन् । परेवालाई छानामा टिनका बाकस बनाएर राखेका छन् । दिनभर कुखुरा र परेवाकै हेरचाहमा सक्रिय उनी भन्छन्, ‘फरक यत्ति हो, उता कतारी प्रजातिका कुखुरा स्याहार्थें, यता स्वदेशी ।’


जताततै ब्रोइलर कुखुराको पालनले रैथाने जात पाउन गाह्रो भएपछि संरक्षण र व्यवसायमा नयाँपन दिन पनि यो व्यवसाय थालेको उनी बताउँछन् । गाउँघरबाट लोप हुन लागेको रैथाने कुखुराको चल्ला नपाएपछि सुरुमा काठमाडौंबाट ल्याए । अहिले आफ्नै फर्ममा चल्लासमेत उत्पादन गर्छन । ‘दुईपटकसम्म बाहिरबाटै चल्ला ल्याएँ,’ ठाकुरले भने, ‘अहिले फर्मबाटै उत्पादन गर्छु ।’ उनले चल्ला उत्पादन गर्न घरेलु प्रविधिबाटै ‘इन्कुभेटर’ मेसिन बनाएका छन् । त्यसमा सय थान अण्डा राख्छन् । तीन हप्तापछि चल्ला उत्पादन हुन्छ । ‘अण्डामा कुखुरा बस्दा कसरी चल्ला बन्छ भनेर खोजबिन गरें,’ उनले भने, ‘काठको बाकसमा तापक्रम मिलाएर अण्डा राखी चल्ला उत्पादन गर्छु ।’


घरेलु प्रविधिबाट उत्पादित चल्ला बजारबाट मगाएको भन्दा सस्तो पर्ने उनी सुनाउँछन् । उत्पादित चल्ला स्थानीय बजारमा बिक्री गर्छन् । भन्छन्, ‘माग धान्न सकेको छुइनँ ।’ कुखुरा र परेवा फार्मलाई अझै ठूलो बनाउने योजनामा छन् उनी । घरका सबै सदस्यले फर्ममै रोजगारी पाएका छन् । स्थानीय जातका परेवा, कुखुरा र अण्डा उनी गाउँघरका हाटबजारमा बिक्री गर्छन् । पारखीहरू उनको फर्ममै पनि पुग्छन् । विदेशमा गएर पसिना बगाउनु साटो गाउँमै रोजगारी गर्नु राम्रो रहेको उनी बताउँछन् । ‘विदेशमा कडा परिश्रम गर्नुपर्छ, मजदुरीमा काम गर्नेको त्यति बचत पनि हुँदैन,’ उनले भने, ‘आफ्नै गाउँघरमा कृषि व्यवसाय थाले त्यति कमाइ गर्न सकिन्छ ।’ स्वदेशमै रोजगारी गर्नेलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।


यो एक वर्षमा कुखुरा र परेवा नै उनका साथी बनेका छन् । तिनको आवाजमा अनगिन्ती विविधता अनुभूति गर्छन् ठाकुर । भन्छन्, ‘आवाजको बाहिरी दुनियाँसँग बेखबर भइसकें, भाले बासेको र परेवाको मायालु कुहुरमुहुर आवाज जीवनको अभिन्न ध्वनि बनेको छ ।’


प्रकाशित : पुस २९, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?