कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माघे संक्रान्तिको कोसेली तरुल

सर्लाही — माघे संक्रान्ति नजिकिएसँगै जिल्लाको पश्चिमी भेगका किसानलाई तरुल खन्ने चटारो छ । दुई सातायता तरुलको माग बढेको छ । व्यापारी खेतमै पुगेर खरिद गर्न थालेका छन् । यसले पनि किसानको व्यस्तता बढेको हो ।

जिल्लाका शंकरपुर, राजघाट, हजरिया, कर्मैया, बरहथवालगायत स्थानमा तरुलको व्यावसायिक खेती हुँदै आएको छ । यहाँको तरुल काठमाडौं, पोखरा, वीरगन्ज, इटहरीलगायत प्रमुख बजारसम्म पुग्छ । यसपालि माग बढेसँगै झन्डै दोब्बर मूल्य पाएपछि किसान दंग छन् । गत वर्ष किलोको ३७ रुपैयाँमा बेचेको तरुल यस वर्ष ८० रुपैयाँसम्म पाएको सोल्टीका किसान यमबहादुर खड्काले बताए । ‘तरुलको बजार माग बढेपछि यस वर्ष धेरै व्यापारी किसानको खेतमा पुगिरहेका छन्,’ उनले भने, ‘यस वर्ष किसानलाई तरुल खेतीबाट राम्रो आम्दानी भइरहेको छ ।’ कतिपय स्थानमा व्यापारीले नै मजदुर लगाएर तरुल खन्न थालेका छन् । यसरी खन्न लगाएको तरुल प्रतिकट्ठा २७ हजार रुपैयाँमा बिक्री गरेको स्थानीय सुरेन्द्र महतोले बताए ।


व्यापारीले नै खनेर लैजाँदा किसानको ज्याला पनि बचिरहेको उनले सुनाए । ‘यस वर्ष व्यापारी खेतमै पुगेर तरुल खरिद गरिरहेका छन्, कतिपय किसानको तरुल व्यापारीले नै आफ्नै लगानीमा खन्न लगाएका छन्,’ उनले भने ।


व्यापारीहरूले प्रतिकट्ठा १० हजारदेखि ३० हजार रुपैयाँसम्ममा तरुल खरिद गरिरहेको किसानको भनाइ छ । तरुलको फल र जात हेरेर व्यापारीले मूल्य तोक्ने गरेको उनीहरूले जानकारी दिए । जमिनमुनि फल्ने तरुलले बढी मूल्य र बाहिर फल्नेले कम मूल्य पाउने गरेको महतोले बताए ।


प्रकाशित : पुस २९, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?