कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जमा टिकाउनै मुस्किल

शंकर आचार्य

पर्सा — तेस्रो मुलुकका पर्यटक यसै कम आउँछन् । आए पनि सोझै पोखरा र काठमाडौंतिर लाग्छन् ।
भ्रमण वर्षको पहिलो दिन वीरगन्जस्थित नेपाल–भारत प्रवेशद्वारमा तेस्रो मुलुकका पर्यटकलाई स्वागत गर्न टोली फूलमाला लिएर दिनभर बस्यो ।

टोलीमा भिजिट नेपाल पर्यटन प्रवर्द्धन जिल्ला समन्वय समितिका पदाधिकारीदेखि थुप्रै सरोकारवाला थिए । तर पर्यटक नआएपछि निराश भएर फर्किए । राति करिब ११ बजे भारतको बोधगयाबाट नेपाल–भारत मैत्री बसमा एक चिनियाँसहित तेस्रो मुलुकका चार पर्यटक भित्रिए । यहाँस्थित अध्यागमन कार्यालयमा उनीहरूको अध्यागमन प्रक्रिया गर्नेबाहेक केही गतिविधि हुन सकेन । कार्यालयका सूचना अधिकृत ध्रुव अधिकारी रात परेकाले हतारमा स्वागत गर्न नपाइएको बताउँछन् । ‘दिनभरि तेस्रो मुलुकका पर्यटकै आएनन्,’ उनले भने, ‘राति आएकालाई कुनै औपचारिकतामा बाँध्न समयले भ्याइएन ।’


मुलुकभरि भ्रमण वर्ष मनाइरहँदा मुख्य स्थलनाका वीरगन्जमा कुनै रौनक छैन । पर्यटनसम्बन्धी कुनै गतिविधि भइरहेको छैन । वीरगन्ज तथा आसपास पर्यटकीय गन्तव्य छैनन् । पर्यटकको बसाइ लम्ब्याउने कुनै कार्यक्रमसमेत नभएकाले यहाँ पर्यटक आगमन घट्दो रहेको अध्यागमन कार्यालयकै तथ्यांकले देखाउँछ । सन् २०१८ मा यो नाका हुँदै तेस्रो मुलुकका २ हजार ६ सय ९४ पर्यटक आउजाउ गरेका थिए । १ हजार ३ सय ३२ जना भारत हुँदै नेपाल प्रवेश गरेका थिए भने १ हजार ३ सय ६२ जना भारततिर लागेका थिए । सन् २०१९ मा यो संख्या झनै घटेको छ ।

कार्यालयका अनुसार उक्त वर्ष तेस्रो मुलुकका २ हजार ३ सय २६ पर्यटक आउजाउ गरेकामा १ हजार १ सय ९२ भारत हुँदै नेपाल आएका थिए । १ हजार १ सय ३४ जना भारत प्रवेश गरेका थिए । यो नाकाबाट आवागमन गर्ने पर्यटक ८३ देशका थिए । सबैभन्दा बढी अमेरिका, फ्रान्स, जर्मनी, रुस, भियतनाम, चीन, जापान, बेलायत, स्पेन, हंगेरी, नेदरल्यान्ड, क्यानाडा, इटाली, थाइल्यान्ड, युक्रेन, कोरिया, पोल्यान्ड, अस्ट्रेलिया, ब्राजिल, मंगोलिया, ताइवान, स्विट्जरल्यान्ड, अस्ट्रियालगायत देशका थिए । सीमावर्ती सहर रक्सौलबाट भारतका अधिकांश महानगर तथा ठूला सहरसम्म सोझो रेलसेवा भए पनि यो नाकामा पर्यटकको आवागमन अत्यन्त कम देखिएको हो । नाका अव्यवस्थित र फोहोर हुँदा पर्यटकमाझ मुलुकको नराम्रो छवि र सन्देश जाने गरेको छ । अव्यवस्थित, फोहोर,

दुर्गन्ध र कोलाहलयुक्त भएकाले यो नाका पर्यटकमैत्री छैन ।


जनवरी १ देखि शनिबारसम्म यो नाका हुँदै तेस्रो मुलुकका ७१ पर्यटक भित्रिएको अध्यागमनको तथ्यांक छ । जाम, धुलोधुवाँ र अव्यवस्थाकै कारण प्राय पर्यटक दोहोर्‍याएर यो नाका प्रयोग गर्न चाहँदैनन् । यहाँबाट भित्रिने पर्यटक वीरगन्जमा एक रात पनि बिताउँदैनन् । उनीहरूको ध्यान सौराहा, काठमाडौं, पोखराजस्ता सहरतिरै हुन्छ । वीरगन्ज र आसपास क्षेत्रमा पर्सा निकुञ्ज, गढीमाई मन्दिर, सिम्रौनगढ, घडिअर्वा पोखरी भए पनि तिनको प्रचारप्रसार छैन । यो नाकाबाट भित्रने पर्यटक धेरैजसो भारतको प्रसिद्ध बौद्ध धार्मिक स्थल बोधगयाबाट आएका हुन्छन् । बाँकी भारतबाट भिसा अवधि कटाउन एक दिनका लागि नेपाल प्रवेश गरेर राजधानीस्थित भारतीय दूतावासमा भिसा लिन जानेहरू हुन्छन् ।

प्रकाशित : पुस २८, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?