६ परिवारलाई टेन्ट वितरण

सिरहा — जिल्ला प्रशासन कार्यालयले सिरहा नगरपालिका–६ बसबिट्टास्थित सुकुम्बासी दलित बस्तीका ६ परिवारलाई टेन्ट उपलब्ध गराएको छ । नगरपालिकाले सडक निर्माणको क्रममा डोजर लगाएर थातथलो भत्काइदिएपछि उनीहरू पालमुनि बस्दै आएका थिए ।

गृह मन्त्रालयले टेन्ट पठाइदिएपछि तत्काल अस्थायी बसोबासका लागि पीडित परिवारलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार नगरपालिकाबाट बसोबास लागि जग्गा खोजी भइरहेको छ । जग्गा व्यवस्थापन हुनासाथ सुरक्षित आवास बनाएर सारिने उनले बताए ।


मन्दिरको जग्गा अतिक्रमण गरी बसेको भन्दै उनीहरूको बस्ती हटाइएको हो । जिल्ला अदालत सिरहाले २०७३ कात्तिक २४ मा घरटहरा खाली गर्न र २०७५ जेठ २१ मा घरटहरा हटाउन फैसला गरेको थियो । सिरहा नगरपालिका–१ का दामोदर प्रधानांगले आफ्नो बाजे लालबहादुरले मन्दिरलाई दिएको जग्गा अतिक्रमण गरी घर बनाएको भन्दै अदालतमा मुद्दा दर्ता गराएका थिए । अतिक्रमित जग्गा खाली गर्न पटकपटक सूचना दिए पनि अटेर गरेपछि अदालतको फैसला अनुसार घर भत्काएको जग्गाधनी दामोदर प्रधानांगको भनाइ छ । उनका अनुसार सय वर्ष पहिला नै राधाकृष्ण मन्दिरको नाममा निजी गुठी बनाएर कित्ता नम्बर २६८ देखि २७२ सम्म करिब चार बिघा जग्गा राखेका थिए । तीमध्ये एक कठ्ठा जग्गा अतिक्रमण गरी घर बनाएर बसेको र पटकपटक जग्गा खाली गर्न भने पनि अटेर गरेपछि आफू अदालत पुगेको जग्गाधनीको भनाइ छ ।


गत पुस ५ गते शनिबार रामजी महरा, रामवृक्ष, रिझो, फूल्चो, समतौलिया र नीलम महराको घर हटाइएको हो । डोजर लगाएर घर उजाडिएपछि महरा परिवारले जिल्ला प्रशासन, नगरपालिका र संघसंस्थाले उपलब्ध गराएको त्रिपाल टाँगेर नजिकैको आँप बगैंचामा आश्रय लिँदै आएका छन् । नगरपालिकाले प्रतिपरिवार एक थान त्रिपाल, एकथान म्याट, तीन वटा कम्बल, ५० केजी चामल, डेढ किलो दाल लगायत सामग्री दिएको थियो । घर भत्काउन समय दिन माग गरे जमिन्दारले नमानेको र प्रहरीको सहयोगमा जबर्जस्ती डोजर लगाएर घर भत्काइदिएको पीडितको गुनासो छ । चिसोको कारण बसाइँ कष्टपूर्ण भएको उनीहरूले बताएका छन् ।


प्रकाशित : पुस २६, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?