राजमार्ग आसपासका घरटहरा हटाइँदै

सिरहा — जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय तहको समन्वयमा राजमार्ग अतिक्रमण गरी बनाएका घरटहरा हटाउन सुरु गरेको छ । प्रशासनले पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको बन्दीपुरदेखि लहान नगरक्षेत्रसम्म ४२ किलोमिटर दूरीमा अतिक्रमण गरी बनाएका घरटहरा मंगलबारदेखि हटाउन सुरु गरेको हो ।

राजमार्ग आसपासका घरटहरा हटाइँदै

जिप्रकाले लहान, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकासँग समन्वय गरेको छ । ती स्थानीय तहले यसअघि राजमार्गको दुवैतर्फ ८२ फिटभित्र बनाइएका घरटहरा, व्यापारिक भवन र अन्य वस्तुहरू भए हटाउन १५ दिनको सूचना जारी गरेको थियो । घरटहरा नहटाएपछि प्रशासनले डोजर लगाएर हटाउन सुरु गरेको हो । राजमार्ग छेउमै बजार लाग्ने गरेको, अतिक्रमण गरी ठेला पसल, फलफूल पसल सञ्चालन हुने गरेको र सडकमै सवारी पार्किङ गर्न थालेपछि सवारी दुर्घटना समेत बढ्न थालेको प्रशासनको भनाइ छ । दुर्घटना न्यूनीकरण गर्न यो अभियान थालिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।


सडकमै सवारी पार्किङ गर्नेलाई समेत कारबाहीको दायरामा ल्याइने उनले जानकारी दिए । पालिकाहरूले राजमार्ग क्षेत्रमा छाडिएका छाडा चौपाया नियन्त्रणमा लिन सुरु गरेका छन् ।


हाटबजारलाई समेत व्यवस्थित गरिएको छ । नगरपालिकाले नगर क्षेत्रभित्र जथाभावी थुपारिएका गिट्टीबालुवा लगायत निर्माण सामग्री समेत हटाउन थालिएको छ । अतिक्रमित घरटहरा हटाउन सात दिन लाग्ने स्थानीय तहले जानकारी दिएका छन् ।


प्रकाशित : पुस २५, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?