कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुत्केरीको मृत्यु : काउन्सिलले अनुसन्धान गर्दै

भूषण यादव

(वीरगन्ज) — एकैदिन शल्यक्रिया गरिएका दुई सुत्केरीको मृत्युसम्बन्धी घटनामा अनुसन्धान सुरु भएको छ । वीरगन्जको प्रभु अस्पताल तथा रिसर्च सेन्टरमा पुस ८ मा कलैया उपमहानगर–४ की अमृता श्रेष्ठ र पचरौता नगर–१ पिपरपातीकी सुनीतादेवी ठाकुरको शल्यक्रिया गरी बच्चा निकालिएपछि मृत्यु भएको थियो । पीडित पक्षले चिकित्सकको लापरबाहीले घटना भएको आरोप लगाएको थियो । अस्पताल व्यवस्थापनले पुस १० मा नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरी छानबिन गरिदिन माग गरेको थियो । 

अस्पतालका अध्यक्ष डा. मनोज गुप्ताले गत शुक्रबार काउन्सिलबाट आएको दुई सदस्यीय टोली जाँचबुझ गरेर फर्किएको बताए । ‘सबै रिपोर्ट लिएर गएका छन्,’ उनले भने, ‘अप्रेसन थिएटर अवलोकन र अप्रेसनमा सहभागी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसँग पनि टोलीले जाँचबुझ गरेको थियो ।’ अस्पतालको आन्तरिक अनुसन्धानमा शल्यक्रियाकै कारण सुत्केरीको मृत्यु भएको नदेखिएको उनले बताए ।


मृतकका परिवारले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा समेत जाहेरी दिएका छन् । उक्त जाहेरी स्वास्थ्य मन्त्रालय पठाइएको प्रहरी प्रवक्ता वीरेन्द्र शाहीले बताए । महान्यायाधिवक्ता कार्यालय, उपभोक्ता मञ्च, प्रहरी, नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय सम्मिलित टोलीले अध्ययन गरेपछि मुद्दा सरकारी वकिल कार्यालयमा जाने उनको भनाइ छ ।


कानुनी उपचारको माग

अमृताको पुस ८ गते राति २ बजेर एक मिनेटमा शल्यक्रिया गरिएको थियो । उनले साढे ३ किलो तौलको छोरा जन्माएकी थिइन् । भोलिपल्ट बिहान ११ बजेसम्म उनको स्वास्थ्य ठीक भए पनि पेट पोल्न थालेपछि भेन्टिलेटरमा राखिएको परिवारको भनाइ छ । साँझ उनको मृत्यु भयो । सुनीतादेवीको पनि शल्यक्रिया गरी राति करिब साढे ९ बजे बच्चा निकालिएको थियो । भोलिपल्ट सिकिस्त भएपछि उनीलाई चितवनको पुरानो मेडिकल कलेज रिफर गरियो । १० गते उनले ज्यान गुमाइन् ।


पुस १५ मा परिवारले आयोजना गरेको पत्रकार सम्मेलनमा अमृताका श्रीमान् मनमोहन साहले गर्भवती भएको सुरुआती चरणदेखि नै डा. लक्ष्मी थापा गुप्तासँग जाँच गराउँदै आएको बताएका थिए । ‘चिकित्सकले बच्चाको टाउको माथि रहेको बताएका थिए,’ साहले भने, ‘उनीहरूले शल्यक्रिया गर्नुपर्ने सुझाएका थिए ।’ ९ गते बिहानै छोरा जन्मेपछि पनि आमाछोराको स्वास्थ्य सामान्य रहेको मनमोहनले बताए । दिउँसो अमृताको पिसाब रोकिएको चिकित्सकले जनाए पनि वार्डमा लैजाने बेला उनलाई भेन्टिलेटरमा राखिएको थियो । अस्पतालले साँझ ७ बजेर १३ मिनेटमा मृत घोषणा गर्‍यो । त्यस्तै सुनीतादेवीका जेठाजु साहेब ठाकुरले अस्पतालले रिफर गर्दा ‘डिस्चार्ज समरी’ नदिएको बताए । ‘चितवन पुग्दा त्यहाँका चिकित्सकलाई उपचार गर्नै गाह्रो परेको थियो,’ उनले भने, ‘सामान्य गेटपासको भरमा प्रभु अस्पतालले डिस्चार्ज गरिदिएको थियो ।’


डेलिभरी समयको एक महिनाअघि नै बच्चाको स्वास्थ्य जोखिममा रहेको भन्दै प्रभुका चिकित्सकले शल्यक्रिया गरेको उनी बताउँछन् । ‘लापरबाही गर्ने चिकित्सकको लाइसेन्स खारेज हुनुपर्छ,’ उनले भने, ‘क्षतिपूर्तिभन्दा पनि हामी कानुनी उपचार खोजिरहेका छौं ।’


प्रकाशित : पुस २३, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?