कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय गाडीलाई समयसीमा नतोक्न माग

श्यामसुन्दर शशि

जनकपुर — भ्रमण वर्ष २०२० सुरु भएसँगै जनकपुरधाम आउने भारतीय पर्यटकको संख्या बढेको छ । आन्तरिक पर्यटकको चाप पनि उत्तिकै छ । तर भारतीय सवारीसाधनलाई तोकिएको समयसीमाले सास्ती भोग्नुपरिरहेको भारतीय पर्यटकको गुनासो छ ।

सरकारले जिल्लास्थित भन्सार कार्यालयमार्फत वर्षमा अधिकतम ३० दिन मात्र भारतीय सवारीसाधन यहाँ राख्न पाइने प्रावधान ल्याएको छ । नेपालमा राखेबापत प्रतिसवारीसाधन दैनिक ५ सय रुपियाँ राजस्व तिर्नुपर्छ ।


त्यो प्रावधानका कारण नेपालमा वैवाहिक सम्बन्ध भएका तथा भारतमा व्यावसायिक रूपले यातायात कम्पनी चलाइरहेकालाई मर्का परेको स्थानीय व्यवसायीको आरोप छ । भ्रमण वर्षलाई लक्ष्यित गरी एक वर्षका लागि भारतीय सवारीसाधनको समयसीमा र दैनिक शुल्क हटाउनुपर्ने उनीहरूको माग छ ।


‘जनकपुर आउने धेरै भारतीय पर्यटक नै हुन्छन् । पर्यटन वर्षलाई दृष्टिगत गरी एक वर्षका लागि भारतीय सवारीसाधनको समयसीमा तथा दस्तुर दुबै माफ गर्दा राम्रो हुन्थ्यो,’ जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीले भने ।


सीमावर्ती क्षेत्रमा दुई देशबीच रोटीबेटीको सम्बन्ध छ । पर्व, वैवाहिक तथा अन्य सामाजिक संस्कारमा आउजाउ गर्ने क्रम वर्षभरि नै चल्छ । जानकी मन्दिरमा पूजा अर्चना गर्न साता वा महिनैपिच्छे आउने भारतीय पनि छन् । ३० दिने समयसीमाका कारण यस्ता गतिविधि प्रभावित हुने चौधरीको भनाइ छ । नयाँ वर्ष २०२० कै क्रममा बुधबार जनकपुर आएका विहार, मधुवनीका रामावतार महासेठले ३० दिने प्रावधानका कारण आफूजस्ता हजारौंलाई मर्का परेको बताए । ‘नेपालमा मेरो ससुराली छ । बारम्बार आउजाउ गर्नुपर्छ तर वर्षमा ३० दिन मात्र भारतीय नम्बरको गाडी राख्न सक्ने प्रावधानले कठिनाइ हुन्छ,’ उनले भने ।


जनकपुर भन्सार कार्यालयका प्रमुख रामेश्वर मिश्र भने ३० दिने समयसीमाका कारण पर्यटकलाई कुनै कठिनाइ नहुने दाबी गर्छन् । भारतीय नम्बरको गाडी नेपालमै राखेर निजी तथा व्यावसायिक प्रयोग गर्दै आएकालाई मात्र यसले असर पर्ने उनको भनाइ छ । ‘कुन पर्यटक एक वर्षमा ३० दिनभन्दा अधिक नेपालमा बस्छन् ? फेरि एक दिनका लागि जनकपुरसम्म आउनेहरूका हकमा छुट पुर्जी नै दिने चलन छ । निजी वा व्यावसायिक प्रयोजनका लागी भारतीय नम्बरका गाडी राख्नेहरूलाई भने कठिनाइ हुन्छ,’ उनले भने ।


जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले भारतीय गाडी नेपालमा राख्न निर्धारण गरिएको समयसीमामा विचार गर्नुपर्ने माग गरेका छन् । यस विषयमा प्रमुख जिल्ला अधिकारी तथा भन्सार प्रमुखलाई लिखित ध्यानाकर्षण गराइएको उनले बताए ।

प्रकाशित : पुस २१, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?