कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पालिका अध्यक्ष शपथ लिएदेखि ओछ्यानमै

शाहीमान राई

(इनर्वा, धनुषा) — २०७४ असोज २ गते स्थानीय तह निर्वाचनको मत परिणाम आउँदा औधी खुसी थिए उनी । अत्यधिक बहुमतले विजयी भएका थिए । तर उनी अहिले चाहेर पनि आफ्नो जिम्मेवारीमा खटिन पाएका छैनन् । शपथ लिएदेखि नै ओछ्यान परेझैं भएका छन्, जिल्लाको सुदूरपूर्व जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष ६९ वर्षीय अब्दुल वारिक शेख ।

पालिका अध्यक्ष शपथ लिएदेखि ओछ्यानमै

चिकित्सकले उनलाई पूर्णत: आराम गर्न सुझाएका छन् । जितपछि उनी थुप्रै कार्यक्रममा सहभागी भए । कार्यक्रममा बोल्दाबोल्दै उनलाई श्वासप्रश्वासको समस्या देखियो । घाँटीमा ‘टनसिल’ जस्तो लक्षण देखेएपछि भारतको दरभङ्गास्थित एउटा निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराए । त्यहाँबाट काठमाडौंको एक निजी अस्पताल पुग्दा चिकित्सकले फोक्सोमा क्यान्सरको लक्षण देखाए । त्यसपछि उपचारका लागि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी अस्पताल भर्ना भए । जिल्लाको विकट गाउँलाई विकासको नमुना बनाउने उनको सपना तत्काललाई धर्मरायो ।


साबिकका खजुरीचन्हा, प्रखेमहुवा, पतनुका, बल्हाकठाल, बल्हागोठ र इनर्वा गाविसलाई मिलाएर यो गाउँपालिका बनाइएको हो । ‘गाउँपालिका क्षेत्रमा नमुना विकास गर्ने चाहना थियो तर प्रतिकूल स्वास्थ्यको कारण मेरो सपना अधुरो रह्यो,’ अध्यक्ष शेखले कान्तिपुरसित भने, ‘म ओछ्यानमा भए पनि जनताको काम रोकिएको छैन । तर कर्मचारी संयन्त्रले सकारात्मक भूमिका निर्बाह नगरिदिँदा कतिपय अवस्थामा बचनमा चुक्नुपरेकोमा दु:ख लागेको छ ।’ सोमबार अपराह्न सदरमुकाम जनकपुरधामदेखि करिब ४५ किलोमिटर पूर्व जनकनन्दिनी–२ बल्हागोस्थित आफ्नै आँगनमा खाटमा पल्टिरहेका थिए उनी ।


शेखले उपाध्यक्ष भारती कार्कीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइसकेका छन् । कर्मचारीले जनतासित सहजीकरण र समन्वय गर्न सके सेवाग्राहीलाई प्रभावकारी सेवा दिन सकिने उनी बताउँछन् । ‘कतिपय अवस्थामा कर्मचारी टेर्दैनन्, जनताका निम्ति हुने कामलाई पनि यो मिलेन, त्यो मिलेन भन्दै दु:ख दिने गरेकोमा आफैलाई दु:ख लागेको छ,’ शेखले दुखेसो पोखे, ‘विकास–निर्माणमा सरकारको कानुन पनि बाधक रहेको महसुस गरेको छु, जे गर्न खोज्यो कर्मचारीहरू कानुनले दिँदैन भन्छन् ।’


भारतीय सीमावर्ती क्षेत्र दशगजामा बसोबास गर्ने दलित मुसहर समुदायको जीवनस्तर सुधार गर्नुपर्ने दायित्व बिर्सिनसकेपनि ठोस कार्यक्रम ल्याउन नसकिएकोमा उनले असन्तुष्टि व्यक्त गरे । गाउँपालिकाको वस्तुगत विवरण पार्श्वचित्र, आवधिक योजना तथा विकास निर्माण गुरुयोजना तयारीमा समेत चुकेको जानकारी दिँदै शेखले गाउँपालिकामा शिक्षा, स्वास्थ्य र रोजगारी अभाव मुख्य समस्या रहेको बताए ।


अढाई वर्षदेखि स्वास्थ्योपचार र ‘बेडरेस्ट’ मा रहेका शेख चिनीरोगी थिए । त्यसैले गुलियो खान छाडेका थिए । नेपाली कांग्रेसबाट अध्यक्ष चुनिएका उनी ३६ वर्षदेखि उक्त पार्टीमा छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका उनले उपचारमा कोही–कतैबाट आर्थिक सहायता पाएका छैनन् । सत्ताधारी नेताहरूले उपचारका निम्ति करोडौ रुपैंयाँ खर्चिए पनि आफूले प्रदेश सरकार र आफ्नै गाउँ कार्यपालिकाबाट समेत सहयोग नपाएको उनको गुनासो छ । विपक्षी दलका वडाध्यक्षले समेत उपचारका लागि रकम विनियोजन गर्न आवाज उठाए पनि केही व्यक्तिबाट सहमति नजुटेको शेखले बताए । ‘मलाई कसरी कसरी रोग लाग्यो आफै भन्न सक्दिन,’ उनले भने, ‘चिनीरोगी थिएँ, एक्कासि घाँटीमा खाँसी लागेजस्तो भो, स्वास्थ्य परीक्षण गराउदा डाक्टरले क्यान्सरको लक्षण बताए ।’


रोग थाहा पाएपछि चिकित्सकको सल्लाह बमोजिम राजीवगान्धी अस्पतालमा ५ महिना किमो गराए । रेडिएसनलगायत उपचारका लागि बंगला भाडामा लिँदा १९ लाखभन्दा बढी खर्च भएको सुनाए । उनलाई चिकित्सकले नबोल्न सल्लाह दिएका छन् । ५ महिनादेखि घरमै आराम गरिरहेका उनका ५ छोरा ५ छोरी, नातिनातिनीसहित २२ जनाको परिवार छ ।


प्रकाशित : पुस २०, २०७६ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?