कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाडोमा सकस : पालिका चुपचाप, जिल्ला सक्रिय 

लक्ष्मी साह

(बारा) — आपद्विपद्मा राहत सहयोगका लागि जिल्लामा दुईखाले विवद् व्यवस्थापन समिति हुन्छन् । एउटा जिल्ला समिति र अर्को स्थानीय समिति । जिल्लाको संयोजक प्रमुख जिल्ला अधिकारी हुन्छन् भने स्थानीय तहमा सम्बन्धित पालिकाप्रमुख हुन्छन् । 

जिल्लाको समितिमा ३ लाखभन्दा बढी बजेट हुँदैन । त्यसैबाट वर्षभरि जिल्लाका दैवी प्रकोपपीडितलाई सहयोग गर्नुपर्छ । स्थानीय तहमा भने पुग्ने बजेट छ ।


अग्नि, बाढी, जाडो, गर्मी वा अरू कुनै दैवी प्रकोपबाट पीडित भएकालाई समितिले उद्धार गरी राहत दिनुपर्ने हुन्छ । अहिले तराईमधेसका अधिकांश दलित बस्तीका बासिन्दा (मुसहर, दुसाद, डोम, धाङ) जाडोले पिरोलिएका छन् । शीतलहर, कुहिरो, हुस्सुसँगै अत्यधिक चिसो छ । उनीहरूसित ओढ्ने सिरक अभाव छ । जिउमा जाकेट देखिँदैन । तन्ना, धोती, साडी बेरेर जाडो काटिरहेका छन् ।


ज्यालामजदुरीले ज्यान पाल्ने उनीहरू फुसको झोपडीमा कोचिएर बस्छन् । आइतबार राति पचरौता नगरपालिका–१, हरपुर गाउँको मुसहर बस्ती पुग्दा यस्तै भोगाइ देखियो । बस्तीकी महेश्वरी माझीको जाडोकै कारण मृत्यु भएको स्थानीयले बताए । जितपुरसिमरा उपमहानगरपालिका २३ मस्जिद टोलका ५५ बर्षीय स्माइल मेहा मन्सुरीले ज्यान गुमाएका छन् ।


दलित समुदाय भुइँमा पराल ओछ्याई सुकुल ओढेर सुतिरहेका देखिन्छन् । हरपुरका मुसहर समुदायका बासिन्दा जाडोले कठ्यांग्रिएको सूचना पाएर जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य प्रहरी उपरीक्षक विकास खनाल वीरगन्जको कपडा बैंकबाट नि:शुल्क सहयोग पाएको कम्बल, टोपी, स्विटर, मोजालगायत लिएर राति उनीहरूको बस्तीमै पुगे ।


यसअघि जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल चारै सुरक्षा निकायका प्रमुखसहित महागढीमाई नगरपालिकाको वडा नम्बर ६ र ७ का १ सय १० मुसहर परिवारका लागि राति नै न्यानो कपडा बोकेर पुगेका थिए । यहाँ पनि स्थानीय बासिन्दा जाडोले पीडित थिए । जिल्ला तहबाट यति काम भइरहे पनि स्थानीय सरकार प्रमुख वा वडाअध्यक्ष राहत लिएर बस्ती पुगेको कतै देखिँदैन ।


स्थानीय तहअन्तर्गतका विपद् व्यवस्थापन समितिबाट केही राहत नपाएको पीडितहरू दुखेसो पोख्छन् । महागढीमाई नगरपालिका–६ का मुसहर बस्तीका अगुवा लोरिक माझीले भने, ‘जनप्रतिनिधि भोट माग्न आउँछन्, आपदविपद्मा राहत दिँदैनन् ।’


जिल्लाका दलित अगुवा राजनारायण रामले जनप्रतिनिधिले चुनाव जित्न त्यही समुदायको भोट तान्न अनेक कसरत गर्ने तर जितेपछि फर्केरै नजाने गरेको बताउँछन् । ‘उनीहरूमा परिवर्तन ल्याउने कुनै योजनै बनाउँदैनन् । जाडोको कहर मेट्न दलित समुदायलाई न बस्न घर छ, न अरू कुनै भर छ,’ उनले भने ।


जिल्लाजिल्लामा चिसोले मृत्यु हुने क्रम बढिरहँदा प्रदेश वा स्थानीय सरकारले राहतमा चासो नदिएको नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए । अहिलेसम्म प्रदेश २ का आठ जिल्लामा कम्तीमा ८ जनाको मृत्यु भइसकेको छ । ‘संघीय, प्रदेश र स्थानीय सरकारबीच तालमेल नमिल्दा जाडो पीडितले राहत पाउन सकेका छैनन्,’ दासले भने, ‘जिल्ला विपद् व्यवस्थापन सक्रिय छ, तर स्थानीय सरकारको आँखा पुगेको छैन ।’


प्रकाशित : पुस १७, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?