२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

विद्यार्थीलाई खाजा, अभिभावकलाई रिचार्ज

आनन्द गौतम

ताप्लेजुङ — शैक्षिक सत्र सुरु भएलगत्तै रानी आधारभुत विद्यालयका शिक्षक हरेक विद्यार्थीका घरमा पुगे । उनीहरुले विद्यार्थीलाई विद्यालय पठाउँदाका समस्याका विषयमा अभिभावकसँग चासो राखे ।

विद्यार्थीलाई खाजा, अभिभावकलाई रिचार्ज

५० रुपैयाँको रिचार्जकार्ड अभिभावकलाई छोडिदिए, र त्यसवापत् आफ्नो नानी विद्यालय आउन नसक्ने भए कारणसहित बताउनु पर्ने, होमवर्क गरे/नगरेको जानकारी दिनुपर्ने र अन्य केही समस्या भए जानकारी गराउनु पर्ने प्रस्ताव गरे । कक्षागत सहितका सबै शिक्षकको मोबाइल नम्बर घरमा छोडिदिए ।

नियमित विद्यालय नआउने विद्यार्थीलाई शुल्क लगाउने, विद्यार्थी कमजोर भए शुल्क लिएर ट्युसन पढाउन प्रस्ताव गर्ने विद्यालयको संख्या प्रशस्तै छ । तर फक्ताङलुङ गाउँपालिका-४ इखावुमा रहेको यो विद्यालयले भने शैक्षिक सुधारका लागि विद्यार्थीलाई खाजा र अतिरिक्त क्रियाकलाप, अभिभावकलाई रिचार्ज कार्ड उपलब्ध गराएर गाउँका बालबालिकालाई पढाइमा प्रोत्साहन गरिरहेको छ ।

प्रधानाध्यापक प्रेम प्रसाद खतिवडाले अभिभावकलाई विद्यालयप्रतिको आकर्षण बढाउन र बालबच्चाको हेरचाहमा ध्यान पुर्‍याउन रिचार्ज कार्ड बाँडेको बताउँछन् । ‘हामीले रिचार्ज बाँडेपछि पहिलो फोन खानी गाउँबाट राधिका लिम्वूले गर्नुभयो,’ खतिवडाले थपे, ‘उनको छोरीले होमवर्क गर्न सकिनछन्, अनि उनकै अगाडिबाट छोरीले होमवर्क गर्न सकिनन्, बुझिनन् अरे आज फेरि सिकाइदिनु है सर भनिन् ।’

स्कुल पुगेकी राधिकाकी छोरीले पनि होमवर्क नगरेरै जाँदा समेत हौसला पाइन् । आमाले फोन गरिदिएर आएकी ती बालिकालाई हौसला बढाउन र अरुलाई पनि प्रेरित गर्न लाइनमा अगाडि ल्याएर प्रोत्साहन गरिएको प्रधानाध्यापक खतिवडाले बताए । ‘स्यावास अबदेखि पढाएको नबुझे यसैगरी आमाबुवालाई भन्नु है !,' भन्दै प्रधानाध्यापक खतिवडाले सबै बालबालिकाले समेत सिक्ने गरी सुझाए ।

त्यसयता शिक्षकलाई अभिभावकका फोन आउन थालेका छन् । 'अहिले नानीसँग कापी छैन भन्नेदेखि होमवर्क र बिरामी भएका कुरासम्म अभिभावकले फोन गरेर थाहा दिनुहुन्छ,' खतिवडाले भने, 'एकपटक ५० रुपैयाँ रिचार्ज उपलब्ध गराएका छौँ । तर त्यो पैसा सकिएपछि फेरि पनि रिचार्ज दिन्छौँ ।'

विद्यालयको यस्तो व्यवहारले अभिभावकहरु आफ्ना नानीहरुलाई विद्यालय पठाउन सजगमात्रै भएका छैनन्, विद्यार्थीहरु स्कुल आउने दर समेत बढेको छ । सरकारले ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजाको ब्यवस्था गरेको छ । तर आफूहरुले भने तीन वर्षयता ८ सम्मकै विद्यार्थीलाई खाजा खुवाइरहेको प्रधानाध्यापक खतिवडाले बताए । 'गाउँका विद्यार्थी बिहान हिडेर आउनु पर्छ र बेलुकापनि हिडेर जानुपर्छ भोकाउँछन्,' उनले भने, 'दिउँसो, चिउरा, थुक्पा, आलु जस्ता खाजाहरु खुवाउने गरेका छौँ ।'

खाजा खानका लागि हरेक कक्षामा बटुका, गिलास, चम्ची लगायत सामानहरु पनि राखिएका छन् । दिउँसो १ बजेको घण्टी बजेपछि विद्यार्थीहरु भाँडा बोकेर क्याण्टिन आउँछन् । कार्यालय सहयोगी र शिक्षकहरुले खाजा बनाएर खुवाउने गरेका छन् ।

यो विद्यालय विगत पाँच वर्षदेखि निरन्तर उत्कृष्ट विद्यालयकोरुपमा पुरस्कृत हुँदै आएको छ । हाल विद्यालयमा १ सय १८ जना विद्यार्थी रहेका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०८१ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x