बन्दना झाँगड : भूमिगत राजनीतिदेखि राज्मन्त्रीसम्म

अल्पसंख्यक झाँगड समुदायबाट पहिलो मन्त्री

विराटनगर — अघिल्लो साता कोशीमा मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्दा बन्दना झाँगड पनि राज्यमन्त्री बनिन् । उनले अल्पसंख्यक झाँगड समुदायबाट पहिलोपटक मन्त्रीको रुपमा इतिहास रचेकी छन् ।

बन्दना झाँगड : भूमिगत राजनीतिदेखि राज्मन्त्रीसम्म

दश सदस्यीय मन्त्रीमण्डलमा माओवादी केन्द्रकी सांसद बन्दनाले पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाइन् । शुक्रवार बिहानसम्म उनी मन्त्री हुनेबारे बेखवर थिइन् । तर, दिउँसो अचानक पार्टीका जिम्मेवार नेताबाट ‘शपथ खान तयार हुनु’ भनेपछि उनी छक्क परेकी थिइन् । ‘एक दिन त मन्त्री पक्कै भइएला भन्ने थियो’, उनले खुसी साटिन्,‘तर, यति चाँडै भइएला भन्ने सोचेकै थिएन ।’

पार्टीले विश्वास गरेर जिम्मेवारी दिएका कारण त्यसलाई इमान्दारिकताका साथ बहन गर्ने बताइन् । ‘चुनौतीहरु पनि धेरै छन् । त्यसलाई चिरेर अघि बढ्ने प्रयत्न गर्नेछु’, झाँगडले बताइन् ।

खासगरी आफ्नो समुदायको रितिरिवाज र रहनसहनको संरक्षणमा विशेष काम गर्ने योजना उनीसँग छ । संगै प्रदेशका अन्य समुदायको कला, संस्कृतिको विकास र प्रवर्द्धनमा आफू लागि पर्ने बताइन् ।

१२ वर्षे सशस्त्र जनयुद्धको उत्तरार्द्धतिर अर्थात् २०६० ताका माओवादीसँग आवद्ध भएकी उनले करिव तीन वर्ष पूर्णकालीन कार्यकर्ताको रुपमा भूमिगत जीवन बिताइन् । हतियार बोकेरै युद्धको मोर्चामा नगएपनि उनी पार्टीको सांगठनिक जिम्मेवारीमा प्रतिवद्ध भएर लागेकी थिइन् ।

२०७० सालमा प्रतिनिधि सभा र २०७४ मा प्रदेश सभामा बन्दसुचीमा नाम परे पनि सांसद बन्न नपाएकी उनी तेश्रो पटकमा भने प्रदेश सांसद बनिन् ।


२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछि उनलाई माओवादी केन्द्रले अल्पसंख्यक समुदायको प्रतिनिधिको रुपमा समानुपातिक सांसद बनाएको हो ।

३७ वर्षीया झाँगडले कोशी प्रदेश सभाकी कान्छी सांसदको रुपमा पनि इतिहास बनाएकी छन् । २०४३ साल असार १५ का दिन झापाको तत्कालिन तोपगाछी–१ (हाल कमल गाउँपालिका १) मा जन्मिएकी बन्दनाको प्रारम्भिक शिक्षा स्थानीय नगेन्द्र माध्यमिक विद्यालयमा भयो ।

बाल्यकाल अभावै अभावमा बितेको थियो । विपन्न आदिवासी समुदायकी उनले सानैमा आमा गुमाइन् । तर, श्रमिक बाबु कुल्वा झाँगडले उनलाई आमाको अभाव हुन दिएनन् । बनीवुतो गरेर पनि छोरीलाई ९ कक्षासम्म पढाउँदै थिए, उनी अचानक माओवादीतिर प्रवेश गरिन् । अनेरास्ववियु (क्रान्तिकारी)को इकाई कमिटीमा आबद्ध उनी १७ वर्षमा पढाई छाडेर भूमिगत भएकी थिइन् ।

झाँगड समुदाय पूर्वको झापा, मोरङ र सुनसरी जिल्लामा बस्छ । अध्येता सुनिल उलकका अनुसार धाँगर पनि भनिने झाँगड समुदायको जनसंख्या पछिल्लो समय घट्दो छ ।

वि.सं. २०५८ को जनगणना अनुसार ३७ हजार ४ सय २४ थियो । अहिले करिव ७ हजार हाराहारी छ । विभिन्न कारणले उनीहरु नेपालवाटै पलायन भएको पाइएको छ ।

प्रकाशित : जेष्ठ ५, २०८१ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x