कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

हात्तीको हुल पहाड चढ्दा स्थानीयमा त्रास

विनोद भण्डारी

विराटनगर — पूर्वी तराईका मोरङ, सुनसरी र झापाका फाँटमा दुई महिनादेखि बिज्याइँ गर्दै आएका दुई दर्जन बढी जंगली हात्ती चुरे पहाडतर्फ उक्लिन थालेका छन् ।

हात्तीको हुल पहाड चढ्दा स्थानीयमा त्रास

मोरङको मिक्लाजुङ–२ र इलामको सीमाक्षेत्र कुईनेटार चुरे पहाड हुँदै झण्डै एक दर्जन जंगली हात्तीको हुल शनिबार कुईनेटारदेखि नौ किलोमिटर माथि इलामको गौथली भीरको फेदीसम्म पुग्दा स्थानीय चकित र आतंकित बनेका थिए ।

‘पहाडमा हात्ती नै देखिँदैन थियो । लामा-लामा दाह्रा भएका नौ वटा हात्ती गाउँमा एकसाथ देखापरेपछि हाम्रो त सात्तो उड्यो,’ गौथली भीरचोकका केबी किरातीले भने, ‘पहाडको भीरमा हात्ती देख्दा हामीलाई त अचम्म लाग्यो ।’

अर्का स्थानीय राम दाहालका अनुसार हात्तीको हुल देख्दा केही स्थानीयको भागदौडसमेत चलेको थियो ।

तराईमा बक्राहा र पहाडमा नुनसरी खोला भनिने उक्त खोलाको बगरैबगर उकालो चढेर नौ वटा जंगली हात्तीको हुल शनिबार बिहान मोरङ र इलामको सीमाक्षेत्र पर्यटकीयस्थल कुईनेटार चुरे पहाड पुगेका थिए । स्थानीय किशोर निरौलाले हात्तीको समूह नौ किलोमिटर माथि मोरङ र इलामको सीमा क्षेत्र गौथली भीरमा पुगेर रोकिएका थिए । उनका अनुसार त्यसमाथिको उकालो चढ्न नसकेर हात्तीको बथान दिनभरी त्यही रोकिएको थियो ।

चुरेको फेद हात्तीको आउजाउ गर्ने ‘रुट’ हो । तर हात्तीले पहिलो पटक आफ्नो ‘रुट’ छाडेर पहाडतर्फ उक्लिएको पूर्वी तराईमा यो पहिलो घटना पाइएको डिभिजन वन कार्यालय मोरङका निमित्त प्रमुख राललखन ठाकुरले बताए । रुटमा समस्या देखेर वा आहाराको खोजीमा हात्तीको समूह पहाड उक्लिएको हुनसक्ने उनले बताए ।

‘विगतका वर्षमा चार/पाँच हात्ती आएर दुई/चार दिन बस्ने र फर्कने अनि फेरि आउने गर्थे । यसपाली दुई दर्जन भन्दा बढीको समूहमा आएर दुई महिनासम्म बसेर वितण्डा मच्चाउनु पनि नयाँ घटना हो,’ ठाकुरले भने, ‘सुन्दरहरैंचामा साताअघि सिकारीले एउटा हात्ती मारेपछि समूह फुटेर हिँडेको देखिन्छ । त्यसै मध्येका आठ/नौ हात्ती पूर्वलागेर पहाड चढेको पाइयो ।’ तर रुट बिर्सिदा पनि आठ/नौ किलोमिटर उकालो हिँड्नु हात्ती यो फरक व्यवहार देखिएको ठाकुरले बताए ।

पर्यटकीयस्थल कुईनेटारमा शनिबार उर्लाबारी, दकम र विराटनगरबाट पिकनिक खान पुगेका टोली जंगली हात्तीको हुल देख्दा केही चकित र केही आतंकित देखिन्थे । निरौलाले हात्तीको हुलका कारण पिकनिक खान पुगेकालाई इलाका प्रहरी कार्यालय मधुमल्लाले दिनभरी सुरक्षा दिनु परेको बताए ।

कुईनेटारदेखि झण्डै डेढघण्टा उकालो हिँडेर पुगिने इलामको गौथली भीरसम्म पुगेका हात्तीलाई राति एक बजेतिर लखेटेर झापातर्फ फर्काएको इलाका प्रहरी मधुमल्लाका इन्चार्ज रमेश कार्कीले बताए । ‘पहाड चढेका नौ वटा हात्ती पहाडी क्षेत्रमा क्षति नपुर्‍याउन भनेर भीरबाट नुनसरी खोला हुँदै झापातर्फ खेद्यौं,’ उनले भने ।

भारतबाट झापाको बाहुनडाँगी हुँदै पूर्वी तराई छिरेका दुई दर्जन बढी जंगली हात्तीको बथान बुधबारे, शान्तिनगर, हुम्सेदुम्से, मोरङको मिक्लाजुङ, लेटाङ, कानेपोखरी, बेलबारी, सुन्दरहरैंचा र सुनसरीको इटहरी र कोशीटप्पु आसपासको जंगलमा बसेर बिज्याइँ गर्दै आएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मंसिरयता जंगली हाक्तीको आत्रमणबाट झापामा तीन, मोरङ र सुनसरीमा एक/एक जनाको ज्यान गएको छ । साताअघि मोरङको सुन्दरहरैचा–१० जनजागरण सामुदायिक वनमा सिकारीले एक जंगली हात्तीलाई गोली हानेर मारेका थिए ।

गएको साउनयता जंगली हात्तीले मोरङमा १६, झापामा ५४ र सुनसरीमा ३ वटा घरमा क्षति पुर्‍याएर साँढे सात विघा खेतमा लगाएको बालीनाली नष्ट गरेको प्रदेश प्रहरीको तथ्यांक छ ।

प्रकाशित : पुस २२, २०८० २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?