कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

टिपतालामा पहिलो पटक नेपाली गाडी

आनन्द गौतम

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका-५ तापेथोकबाट वडा नं. ७ ओलाङचुङगोलाको टिपताला भञ्ज्याङसम्म सडक पुर्‍याउने जिम्मा लिएको एसबीए एलाइट कम्पनीले निर्माण सुरु गरेको एक वर्षपछि सल्यान कपुरकोटका कुलबहादुर घर्तीलाई स्काइभेटर मेशिन चालकमा नियुक्त गर्‍यो ।

टिपतालामा पहिलो पटक नेपाली गाडी

कम्पनीको शर्त, नेपाल र चीनको सीमाना टिपताला भञ्ज्याङसम्म सडक पुर्‍याउनुपर्ने थियो । वडा नं. ६ लेलेपको उकालोमा मेसिनको गेयर लिभर समाएका घर्तीले सुकेपानी माथि मुगुवा छेउमा पुग्दा पहिरोको सामना गर्नुपर्‍यो । निर्माणकै क्रममा ओलाङचुङगोलातर्फ बढिरहँदा माथिबाट पहिरो खस्यो र आधा मेशिन पुर्‍यो । उनी भने बाॅच्न सफल भए ।

त्यो बेला उनले परिवार बालबच्चा पनि सम्झिए । कुन दिनमा यस्तो काम थालें भन्नेपनि लाग्यो । फेरि उनको हिम्मत आयो र सम्झिए ‘चीनको सीमानासम्म नेपाली मेसिन मैले पुर्‍याउनु छ त्यसैले बाँचे ।’ नभन्दै मेशिन जिम्मा लिएको पाँच वर्षमा नेपालको उत्तर तर्फको छिमेकी देश चीनसँगको सीमाना टिपताला भञ्ज्याङसम्म उनैले मेशिन पुर्‍याएका छन् ।

उनको साथमा अर्को मेसिन चलाएर पुगेका छन् पशुपति पोख्रेल । पूर्वको ताप्लेजुङ र पश्चिमको दार्चुला चीन र भारत दुवै देशसँग सीमाना जोडिएका जिल्ला हुन् । कोशी प्रदेशका ताप्लेजुङ, संखुवासभा र सोलुखुम्वु चीनसँग जोडिएका छन् । यीमध्ये ताप्लेजुङ र संखुवासभा सडकले जोडिने जिल्ला हुन् ।

तीमध्ये पनि ताप्लेजुङबाट चीनसॅगको सीमाना टिपताला भञ्ज्याङमा पहिलो पटक नेपाली गाडी पुगेका छन् । यो ५१ सय मिटर उचाइमा रहेको छ । दुई स्काइभेटर र एकजना ट्र्याक्टर चालकले शुक्रबार दिउँसो आफ्ना सवारी चलाएर द्विदेशीय सीमानाको छेवैमा ठड्याएका छन् । निर्माण कम्पनीका ठेकदार पेम्बा ठिले शेर्पा छ वर्षदेखिको मेहिनेत सफल भएकोमा गर्भ गर्छन् ।

यो कम्पनीले २०७४ फागुनदेखि काम थालेको थियो । ४४ करोडमा ठेक्का लिएको कम्पनीले ट्रयाक खोल्ने र मर्मत समेतगरी ५७ किलोमिटर सडक निर्माण गरेको छ । यही (फक्ताङलुङ गाउॅपालिका ६ लेलेप) घर भएका पेम्वाले आफ्नो जिल्लालाई चीनसॅग जोडेरै छोड्ने भन्दै निर्माणको जिम्मा लिएको बताए । अनेकौं बाधाका बीच उनले लगातार प्रयास जारी राखेका थिए ।

‘अरु ठेकदार भएको भए सायदै बीचैबाट भाग्थे,’ उनी भन्छन्, ‘अनुभवी चालक खोज्नेदेखि चुनौतीको सामना गर्न लगातार प्रयास गरें र सफल भयौं ।’ उत्तर-दक्षिण (मुलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाका प्रमुख सुदर्शन कार्की सीमानामा नेपाली गाडी पुगेपछि यो ठेक्का सम्पन्न भएको बताउँछन् ।

‘अब म अनुगमनका लागि सीमानासम्म जान्छु, त्यसपछि तमोर करिडोरको जस्तै दुई लेनको सडक बनाउनका लागि ठेक्का खुलाउँछौं,’ उनले थपे, ‘अबको चार/पाॅच वर्षमा सीमानासम्मकै दुई लेनको सडक फिलिलि हुन्छ ।’ ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिपताला भञ्ज्याङको दुरी ८५ किलोमिटर छ ।

आयोजनाका म्यानेजर राजीव लामिछानेका अनुसार ट्र्याक्टर सदरमुकाम फुङलिङबाट सीमानासम्मै पुग्छ । अन्य साना सवारी भने लेलेप र ओलाङचुङगोला जोड्ने सुकेपानीको तमोर नदीमा तार्न सकिदैन । चैत अन्तिमसाता सम्म अन्य गाडी पनि तरेका थिए, हामी गाडी चढेरै ओलाङचुङगोलाको बस्तीसम्म पुग्यौं, अरु मान्छेपनि पुगे,’ लामिछानेले भने, ‘त्यसपछि खोलामा पानी बढ्यो र गाडीचाँहि सकिएन ।’ सदरमुकामबाट ट्र्याक्टरमै तेल बोकेर बाटो खनेको उनले बताए । एक पटकमा २२/ २५ सय लिटर तेल लगेर सडक खनेको राजीव बताउॅछन् ।

सडक निर्माणमा द्विदेशीय सीमाना नजिकैको बस्ती ओलाङचुङगोलामा जन्मिएकाहरुको त्यतिकै योगदान छ । यहाँ जन्मेर देश विदेशमा रहेकाहरुले दुई करोडभन्दा बढी रकम संकलन गरेर सीमानादेखि बस्तीसम्मको २४ किलोमिटर सडक खनाएका थिए । चीनबाट मेशिन भाडामा ल्याएर खनेको सडकमा चीनबाट सवारी साधन पनि आए ।

तीनै चिनियाँ सवारीमा चढेर नेपालीहरु छिमेकी देशमा गए । चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि आवत जावत र सडक बन्द भयो । ‘पहिलो चरणमा छिमेकी देशबाट मेसिन र सवारी ल्याएर गाडी चड्ने रहर पुरा गर्‍यौँ,’ फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन शेर्पाले भने, ‘थालेको १० वर्षपछि आफ्नै देशबाट सवारी पुर्‍याएर सपना साकार बनायौं ।’

उत्तर-दक्षिण सडक योजनाका तत्कालिन आयोजना प्रमुख (सडक विभागका सहसचिव) कुवेर नेपाली तुलनात्मक रुपमा कम लागतमा निर्माण गरिएको सडक भएको बताउॅछन् । ‘यो सडक निर्माणमा चीनबाट पनि मेसिन ल्याएर खन्ने अभ्यास गरियो, नेपालका अन्य सडक यसरी खनिएको जस्तो मलाई लाग्दैन,’ उनले थपे ‘छोटो दुरीको पनि छ र अरु सडकको तुलनामा कम लागतको सडक पनि हो ।’

तमोर नदीको उद्धगम स्थल समेत रहेको टिपताला भञ्ज्याङदेखि तमोरको किनारै किनार धनकुटाको मुलघाट, भेडेटार हुॅदै बिराटनगरको रानी भन्सारसम्मको दुरी करिव तीन सय मिटर रहेको सडक कार्यालयले जनाएको छ । त्यसैले यो सडकलाई उत्तर तर्फको सबैभन्दा छोटो दुरीको सडक भएको सडक कार्यालयको दावी छ ।

प्रकाशित : जेष्ठ ४, २०८१ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×