कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

संखुवासभा कारागार मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न आफन्तको माग

दीपेन्द्र शाक्य

संखुवासभा — जिल्ला कारागार संखुवासभामा २ जना कैदीको बुधबार बिहान मृत्यु भएपछि आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् । मृतकका आफन्तले कारागारभित्र भएको हत्याको घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाहीको माग राखेका हुन् । मृतकका आफन्तले कारागारभित्र भएको घटना शंकास्पद भएको दाबी गर्दै आएका छन् । उनीहरुले विभत्स रुपमा भएको हत्याका घटनामा प्रहरीको पनि मिलोमतो भएको आशंका व्यक्त गरेका छन् ।

संखुवासभा कारागार मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न आफन्तको माग

हत्यामा संलग्न कुनै हालतमा उम्किन नहुने आफन्तको भनाइ छ । मृतककी दिदी भीमा रम्तेलले सुरक्षा घेराभित्र रहेको व्यक्तिको कुटपिटबाट हत्या हुँदा प्रहरी प्रशासन मौन बसेको आरोप लगाए । उनले सत्यतथ्य बाहिर नआउन्जेल शव नउठाउने बताइन् । प्रहरीले सीसीटिभी क्यामेरा फुटेज अझै बाहिर नल्याएकोमा उनले शंका व्यक्त गरेकी छन् ।

जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा २ जनाको मृत्यु भएको प्रहरीले बताउँदै आएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले घटनाको सत्यतथ्य रुपमा छानबिन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 'सत्यतथ्य बाहिर आउँछ,' उनले भने, 'प्रहरी, कारागार प्रशासनका कर्मचारी संलग्न छन् भने अनुसन्धान गरेर कारबाही गर्छौं ।' छानबिन समितिले पनि १० दिनभित्र यर्थाथ बाहिर ल्याउने उनले बताए ।

हत्याको घटनापछि प्रहरीले ९ जना कैदीबन्दीलाई अनुसन्धान लागि नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन । यो कारागार २५ जना क्षमताको हो तर विभिन्न मुद्दाका १ सय ३६ जना कैदीकन्दी राखिएको छ ।

मृत्यु भएका आकाश वलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए । उनी नुवाकोट ककनी ७ का हुन् । अर्का मृतक विनोद तोलांगी जबर्जस्ती करणीमा मुद्दा खेपिरहेका थिए । उनी संखुवासभा मादी नगरपालिका–५ का हुन् । कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरुलाई प्रहरी र कारागार प्रशासनले बुधबार बिहान १ बजे नियन्त्रणमा लिएको बताएको छ । नियन्त्रण लगतै उनीहरुलाई कारागारमाभित्र राखिएको केहीबेरमा कुटपीटपछि मृत्यु भएको प्रहरीको दाबी छ ।

प्रकाशित : श्रावण २५, २०८० ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?