२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

सोलुका ८ वटै पालिकाले ल्याए बजेट

सोलुदुधकुण्डको बजेट ६८ करोड 
भानुभक्त निरौला

काठमाडौँ — एक नगरपालिकासहित ८ वटा स्थानीय तह रहेको सोलुखुम्बुमा सबै स्थानीय तहले वार्षिक नीति कार्यक्रम तथा बजेट पेस गरेका छन् । एकमात्र नगरपालिका सोलुदुधकुण्डले ६८ करोड ७१ लाख ३ हजार ५ सय बराबरको बजेट नगरसभामा पेस गरेको छ ।

सोलुका ८ वटै पालिकाले ल्याए बजेट

नगरपालिकाका उपमेयर गान्धीमाया तामाङले १२ औं नगरसभामा संघीय सरकारबाट ६० करोड ५३ लाख १६ हजार, प्रदेश सरकारबाट ३ करोड ९२ लाख, ८२ हजार, आन्तरिक स्रोतबाट ३ करोड ४ लाख ७५ हजार ५ सय आम्दानी हुने अनुमानसहितको बजेट पेस गरिन् ।

त्यसअघि मेयर नाम्गेल जाङ्बु शेर्पाले सल्लेरीस्थित रहेको बसपार्कलाई व्यवस्थापन गर्ने कार्य सम्पन्न गरिने, सल्लेरी क्षेत्रमा हुने बढ्दो सवारी चापलाई मध्यनजर गरी वैकल्पिक र सहायक सडक मार्गको निर्माण गरिने, सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला निकायसँग समन्वय गरीने लगायतका कार्यक्रम समेटेर नीति तथा कार्यक्रम पेस गरेका थिए ।

जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाले पनि आज गाउँसभामा कार्यक्रम र बजेट पेस गरेको छ । गाउँसभामा ५३ करोड ९३ लाख ४९ हजार ४ सय ७३ रुपैयाँको बजेट पेस गरिएको अध्यक्ष असिम राईले बताए । आव २०८०/०८१ मा आयतर्फ संघीय सरकार समानीकरण अनुदान १२ करोड २५ लाख, ससर्त अनुदान २६ करोड ३० लाख, राजस्व बाँडफाँड ८ करोड ३८ लाख ६९ हजार ७ सय, समपुरक अनुदान १ करोड ३० लाख र विशेष अनुदान १ करोड २५ लाख हुने अनुमान गरिएको छ । उक्त पालिकाले कृषकहरुको उत्पादनलाई समर्थन मूल्य तोकी भएका उत्पादन पालिका आफैले खरिद गर्ने कार्यक्रम घोषणा गरेको छ । कृषि, शिक्षा र पूर्वाधार विकासलाई जोड दिएर नीति तथा कार्यक्रम पेश गरिएको छ ।

जिल्लाको नेचासल्यान गाउँपालिकाले शनिबार नै गाउँसभामा नीति कार्यक्रम तथा बजेट पेस गरेको छ । पालिका उपाध्यक्ष बिना राईले विद्यालय गाभ्ने, बालिका बचत कार्यक्रम संचालन गर्नेदेखि प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्नेसम्मका कार्यक्रम राखेर नीति कार्यक्रम पेस गरेकी हुन् । नेचासल्यानले आगामी आवका लागि ४६ करोड, ६७ लाख, ७१ हजार बराबरको बजेट पेस गरेको पालिका अध्यक्ष धनजन राईले जानकारी दिए ।

यस्तै महाकुलुङ गाउँपालिका, माप्यदुधकोशी गाउँपालिका, लिखुपिके गाउँपालिका, सोताङ र खुम्बु पासाङल्हमु गाउँपालिकामा पनि नीति कार्यक्रम र बजेट पेस भएका छन् । आज बजेट पेस भएका कतिपय पालिकाले भोलि नै पास गर्ने तयारी गरेका छन् भने केहीले असार मसान्तसम्म बजेट पारित गर्ने योजना बनाएका छन् ।

प्रकाशित : असार १०, २०८० १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?