ताप्लेजुङको ओलाङचुङगोलामा बिओपी- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्लेजुङको ओलाङचुङगोलामा बिओपी

आनन्द गौतम

ताप्लेजुङ — चीनसँगको सिमावर्ती क्षेत्र फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार बिओपी उद्घाटन गरेका हुन् ।

नेपाल चीनको सिमाना टिप्तालाभञ्ज्याङ नजिकै मौवाटारमा राख्ने बिओपी संरचना निर्माण नभएसम्मका लागि ओलाङ्चुङगोलामा राखिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले बताए । भवनसहित संरचना बनेपछि गोलाबाट स्थानान्तरण हुने छ । ओलाङचुङगोलाबाट टिप्तालाभञ्ज्याङ २१ किलोमिटर दुरीमा छ भने मौवाटार १३ किलोमिटर । शेर्पा समुदायको चौरी चरनको क्षेत्रको रुपमा रहेको मौवाटारमा अहिले सामान्य गोठबाहेक कुनै पनि संरचना छैन ।

बिओपी स्थापनाले सीमा सुरक्षा, शान्ति सुरक्षा र अवाञ्चित गतिविधि नियन्त्रणमा टेवा पुग्ने मन्त्री भट्टराईले बताएका छन् । गोलामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) नेतृत्वमा २१ जना प्रहरीको टोली बस्ने भएको छ । ३५ जनाको दरबन्दी भए पनि तत्कालका लागि २१ जनामात्रै रहने सशस्त्र प्रहरी श्रोतले बताएको छ ।

उद्घाटन कार्यक्रममा गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी महानिरीक्षक लगायतका टोली हेलिकप्टरवाट गएको थियो । यसअघि भातरसँगको सिमावर्ती पाँचथरको चिवाभञ्ज्याङ लगायतका स्थानमा बिओपी स्थापना भएको थियो ।


प्रकाशित : आश्विन २१, २०७७ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्

डा. केसीको पक्षमा बीपी प्रतिष्ठानका चिकित्सकहरु सडकमा

प्रदीप मेन्याङ्बो

सुनसरी — अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले बुधबार प्रदर्शन गरेका छन् । 

१९ औं अनशनको २४ दिन बितिसक्दा पनि सरकारले बेवास्ता गर्दा डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भन्दै उनीहरुले जीवन रक्षाका लागि सरकारलाई दबाब दिन सडकमा उत्रनु परेको बताएका छन् । प्रदर्शनमा सहभागी एक चिकित्सकले भने, ‘त्रिवि शिक्षण अस्पतालको शय्‍यामा अनशनरत डा केसीको जीवन रक्षाको माग गर्दै हामी चिकित्सकहरु सडकमा उत्रिएका हौं ।’

प्रतिष्ठानबाट निस्केको व्यानर, प्लेकार्डसहितको र्‍याली भानुचोक हुँदै नगरपरिक्रमा गरेको थियो । चिकित्सकहरुले ‘डा.केसीको अनशन मेडिकल माफियालाई टेन्सन’, ‘डा. केसीको जीवन रक्षा गर’ लगायत नारा लगाएका थिए ।

प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको आव्हानमा उत्रिएका उनीहरुले डा.केसीको माग तत्काल सम्बोधन गर्न माग गरे । चिकित्सा क्षेत्रमा भएको बेथिति हटाउन माग गर्दै डा. केसीले पटक-पटक अनशन बसेपछि सरकारले विगतमा लिखित सम्झौता गरेको थियो । तर ती सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी १९ औं पटकको अनशनमा छन् । जुम्लाबाट अनशन सुरु गरेका डा. केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छन् ।


प्रकाशित : आश्विन २१, २०७७ १५:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×