कमल गाउँपालिकाले बनायो अस्थायी कोभिड अस्पताल - प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमल गाउँपालिकाले बनायो अस्थायी कोभिड अस्पताल 

पर्वत पाेर्तेल

काँकडभिट्टा — कोरोना संक्रमित स्थानीयको उपचारका लागि झापाको कमल गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

कमल गाउँपालिका–३, पाडाजुंगीस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्र नजिकै करिब २२ लाखको लागतमा ५ बेडको अस्थायी कोभिड अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् ।

स्थानीय संक्रमितहरुलाई उपचारका लागि बाहिर लैजानु नपरोस् भनेर अस्थायी रुपमा अस्पताल खडा गरिएको अध्यक्ष काफ्लेले जनाइन् । उनका अनुसार अस्पताल सञ्चालनका लागि एक एमबीबीएस डाक्टर र दुई जना स्टाफ नर्स पालिकाले नियुक्ति गरेको छ ।

स्थानीय धर्मभक्त माविको क्वारेन्टाइनमा रहेकाहरुलाई सोमबारदेखि अस्पताल परिसरकै क्वारेन्टाइनमा राखिने छ ।

कमल गाउँपालिकामा ४८ जनालाई कोरोना संक्रमण भएको छ । जसमा एक वृद्धको मृत्यु समेत भएको छ । गाउँपालिका अध्यक्ष काफ्लेले गाउँपालिका अब कोरोनामुक्त भइसकेको जनाइन् । उनका अनुसार क्वारेन्टाइनमा रहेका १९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि आइतबार घर पठाइएको छ । बाँकी १५ जना क्वारेन्टाइनमा छन् । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : आश्विन १२, २०७७ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

टिकटकमाथि प्रतिबन्धले लगाउने ट्रम्पको आदेशमाथि अदालतले लगायो रोक

एजेन्सी

वासिङ्टन — अमेरिकाको एउटा अदालतले चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमाथि रोक लगाएको छ । वासिङ्टनस्थित डिस्ट्रिक्ट कोर्टका न्यायाधीशकार्ल निकोल्सले टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशको कार्यान्वयनमाथि तत्कालका लागि रोक लगाएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार स्थानीय समयअनुसारआइतबार राति ११ बजेर ५९ मिनेटदेखि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्दै थियो । न्यायाधीश निकोल्सले टिकटकको सञ्‍चालक कम्पनी बाइटाडान्सको अनुरोधमा तत्कालका लागि प्रतिबन्ध नलगाउन फैसला सुनाएका हुन् ।

आइतबार मुद्दाको सुनुवाइका क्रममा बाइटडान्सका वकिलले प्रतिबन्धको औचित्य नभएको बताएका थिए । टिकटकको अपनत्वका विषयमा कुराकानी चलिरहेकाले आइतबार रातिदेखि प्रतिबन्ध लगाउने निर्णयको औचित्य नभएको दलिल उनले पेस गरेका थिए । अब अदालतको अर्को आदेश नआउँदासम्मका लागि अमेरिकामा टिकटक प्रयोग गर्न पाइने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै त्यसमाथि प्रतिबन्ध लगाउन कार्यकारी आदेश जारी गरेका थिए । अमेरिकी अधिकारीहरुले बाइटडान्सले टिकटकमार्फत अमेरिकी नागरिकका सूचना चिनियाँ सरकारसम्म पुग्न सक्ने आशंका व्यक्त गरेका थिए । तर कम्पनीले भने एपका कारण कुनै पनि सुरक्षा खतरा नहुने भन्दै ट्रम्पको भनाईको खण्डन गरेको थियो ।

विश्वभर टिकटकका प्रयोगकर्ता करिब ५० करोड छन् भने अमेरिकामा मात्रै करिब ८ करोड प्रयोगकर्ता रहेका छन् । टिकटक युवा पुस्तामाझ निकै लोकप्रिय एप हो । २० वर्ष वा त्योभन्दा कम उमेरका युवा पुस्तामाझ टिकटक निकै लोकप्रिय रहेको बताइन्छ ।

प्रकाशित : आश्विन १२, २०७७ १०:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×