धार्मिक तथा पर्यटकीय क्षेत्रको जग्गा फिर्ता नहुँदा रोकियो विकास- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धार्मिक तथा पर्यटकीय क्षेत्रको जग्गा फिर्ता नहुँदा रोकियो विकास

डम्बरसिं राई

खोटाङ — स्थानीयले कब्जा गरेका जिल्लाका विभिन्न गुठी तथा सरकारी जग्गा फिर्ता नहुँदा ती क्षेत्रमा बृहत्तर विकासका योजना अघि बढ्न सकेका छैनन् । हलेसी (हलेश्वर महादेव), बराहताल, बुद्धेश्वर महादेव, रुपाकोटलगायत क्षेत्रका जग्गा स्थानीयले कब्जा गरेका हुन् ।

हलेश्वर महादेव गुठीका नाममा रहेको हलेसी–तुवाचुङ नगरपालिकाका हलेसी, माल्कु, गैरीगुठ, डाडाँगुठलगायतका जग्गा कब्जा हुँदा काममा बाधा पुगेको नगरप्रमुख इवन राईले बताए । जिल्ला नापी कार्यालयका अनुसार स्थानीयले कब्जा गरेको ६७ रोपनी तीन आना तीन पैसा जग्गा गुठीको नाममा फिर्ता गरिएको छ । गुठी संस्थानका प्रशासक नारायण चौधरीले २०७५ चैत १५ गते गुठीकै नाममा कायम गरेका हुन् ।

जग्गा हडप्नेले काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको मुद्दा विचाराधीन रहँदा काम अघि बढाइन नसकेको राईले सुनाए । उनका अनुसार हलेसीको बृहत् गुरुयोजनामा हलेसी गुफाआसपासको दुई सय मिटर जग्गा आवश्यक पर्छ । उक्त जग्गा हलेसीकै भएको र अहिले अधिग्रहण गर्नुपर्दा आर्थिक भार पर्ने राईले सुनाए । यस क्षेत्रका १ सय ६९ घर–टहरा हटाउनुपर्ने अवस्था छ । ‘२०४४ सालमै हलेसीको गुरुयोजना बनाउन स्थानीयलाई मुआब्जा दिइएको भए पनि त्यसको लगत नष्ट गरिएकाले त्यो बेलाको रोग अहिलेसम्म कायम देखिन्छ,’ नगरप्रमुख राईले भने ।

उनका अनुसार हलेसी गुफाको मुखैमा भएको जग्गासमेत पुजारीले बिक्री गरेकाले त्यहाँ बनाइएको मारतिका छोलिङ गुम्बासमेत व्यवस्थापन गर्नुपर्ने अवस्था छ । गुफाको भारवहन क्षमतालगायत अन्य पक्ष विचार गरेर भूगर्भविद्को परामर्शको आधारमा व्यवस्थापन गरिने उनको भनाइ छ । ‘गुठीको नाममा गुफाआसपासको २६ रोपनी मात्र जग्गा देखिन्छ, त्यसले नपुग्ने भएकाले अन्य जग्गा लिनुपर्ने अवस्था छ,’ राईले भने ।

हलेसी विकास समितिका निर्देशक सम्बर भुजेलका अनुसार २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रको भ्रमणका बेला गुरुयोजना बनाएर निश्चित क्षेत्रभित्र भएका विभिन्न आठ घर–घडेरीलाई मुआब्जा दिइएको थियो । यद्यपि मुआब्जा लिएर पनि घरजग्गा खाली गरिएन । त्यतिखेरको गुरुयोजनाका बेला जग्गाहरू रोक्का गरिएको थियो । पछि हलेसीस्थित महेन्द्रोदय माविलाई जग्गा दिने बहानामा फुकुवा गरेर किनबेच सुरु भएको भुजेलको भनाइ छ । हलेसी विकास समितिका तत्कालीन अध्यक्ष नारायणसिंह राई, निर्देशक देवराज कार्कीलगायत पदाधिकारी रहेका बेला मालपोतबाट फुकुवा तथा लगतकट्टा नगरी त्यतिकै छाडिएकाले थप अतिक्रमण भएको हो ।

शंखेश्वरीमा उस्तै समस्या

बराहपोखरी गाउँपालिकाको बराहताल (शङ्खेश्वरी महादेवको नाममा भएको) जग्गा पनि स्थानीयले कब्जा गरेका छन् । बराहतालवरिपरि बनाइएका २४ घरटहरा हटाउन पटक–पटक अनुरोध गर्दा पनि अटेरी गरिएको गाउँपालिका उपाध्यक्ष गोमा मगरले सुनाइन् ।

स्थानीयले आफ्नो नाममा दर्ता गरेको करिब ५५ रोपनी जग्गा जिल्ला मालपोत कार्यालयले २०४७ सालमै अतिक्रमित भनी फिर्ता गर्नुपर्ने निर्णय गरेको थियो । गुठीको नामका बराहटार, चालिसे, सावाटारी, बाह्रमुरेलगायत स्थानका जग्गा स्थानीयले आफ्नो नाममा पास गरेका हुन् । मालपोत कार्यालयका अनुसार गुठीको जग्गा व्यक्तिले रजिस्ट्रेसन गराएपछि २०४३ सालमा मुद्दा परेको थियो ।

स्थानीयले कब्जा गरेको बराहातालआसपास शंखेश्वरी महादेवको जग्गा ।

स्थानीयले जग्गा कब्जा गरेपछि बृहत गुरुयोजनामा मन्दिर, विभिन्न जातजातिको संग्रहालय, बसपार्क, गेट, वृद्धाश्रम, कुटी, जाग्रामस्थल, मन्दिरलगायत संरचना निर्माणमा समस्या आएको गाउँपालिका उपाध्यक्ष मगरले बताइन् । बराहताल सरकारले तोकेका एक सय गन्तव्यमध्ये पर्छ । मगरका अनुसार संघीय सरकारले यस वर्ष ५० लाख बजेट दिएकाले तालवरिपरि पैदल मार्ग बनाउने, तालमा जमेको बालुवा निकाल्ने, विभिन्न मन्दिर बनाउने योजना बनाइएको छ ।

रुपाकोटमा दुई व्यक्तिले ओगटे ८० रोपनी

रुपाकोटलाई स्थानीय तहले पर्यापर्यटनको रुपमा विकास गर्ने योजना बनाए पनि कब्जा जग्गा फिर्ता नआउँदा काम अघि बढाउन मुस्किल परेको छ ।

दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ का लेखनाथ आचार्य र गोविन्दराज आचार्यका नाममा पानीको मुहानसहित झन्डै करिब ८० रोपनी जग्गा दर्ता गरिएको खुलेपछि अख्तियारमा उजुरीसमेत परेको छ । उनीहरूले कित्ता नं ४४९ मा २५ रोपनी ६ आना एक पैसा एक दाम, कित्ता नं ४५० मा २४ रोपनी पाँच आना दुई पैसा र कित्ता नं ४५१ मा २८ रोपनी १३ आना एक पैसा दुई दाम जग्गा दर्ता गरेको देखिन्छ । उक्त जग्गा २०६६ साउन २ गते व्यक्तिको नाममा आएको हो । यसबारे अख्तियारमा मुद्दा छानबिनको चरणमा रहेको नगरप्रमुख दीपनारायण रिजालले बताए ।

मझुवागढी क्षेत्रको जग्गा पनि अतिक्रमण

मझुवागढी क्षेत्रका बुद्धेश्वर गुफा, कालिका भगवतीआसपासका जग्गा पनि व्यक्तिका नाममा दर्ता भएपछि अख्तियारमा उजुरी परेको छ । बुद्धेश्वर महादेवका नाममा भएको जग्गा सशस्त्र प्रहरी बल हलेसी गुल्मका तत्कालीन डीएसपी (हाल एसएसपी) कालिदास धौवजी र वडा नं ५ का दिनेशकुमार घिमिरेको नाममा एक रोपनी नौ आना तीन पैसा एक दाम गएको देखिन्छ । उक्त जग्गा कित्ता नं ३०३ बाट कित्ता काट गरी ४३८ र ४३९ कायम गरिएको छ । यसमध्ये एसएसपी चौबजीको नाममा छ आना र दिनेशकुमार घिमिरेको नाममा एक रोपनी तीन आना तीन पैसा एक दाम छ । उक्त जग्गा २०६८ कात्तिक ८ गते पास गरिएको देखिन्छ । घिमिरेले उक्त जग्गा अर्कै व्यक्तिबाट लिएको बताएका छन् ।

मझुवागढी क्षेत्रकै बुद्धेश्वर महादेव गुठीको नाममा दस रोपनी चार आना तीन पैसा तीन दाम र देविस्थान सामुदायिक वनको नाममा २ सय ६९ रोपनी चार आना दुई दाम एक पैसा देखिन्छ । नगरपालिकाको प्राविधिक टोलीको प्रतिवेदनअनुसार सशस्त्र प्रहरी बल हलेसी गुल्मको नाममा पनि थुप्रै जग्गा देखिन्छ । उक्त जग्गा स्थानीयले उपलब्ध गराएका हुन् । यसमध्ये कसले कति जग्गा उपलब्ध गराएको र सरकारी स्वामित्वको जग्गा सशस्त्रले उपयोग गरेको छ या छैन भन्ने पनि अध्ययनको विषय बनेको नगरप्रमुख रिजालले सुनाए ।

प्रकाशित : आश्विन ८, २०७७ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्

मकवानपुरमा बिहीबार ५४ जना कोरोनामुक्त

सुवास विडारी

मकवानपुर — मकवानपुरमा बिहीबार ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमित भएर हेटौंडा–६, गौरीटारस्थित आइसोलेसनमा उपचाररत ५४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् ।

हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार हेटौंडा–१०स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

योसँगै मकवानपुरमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ सय ५० पुगेको छ । मकवानपुरमा हालसम्म १२ सय ८१ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । हाल गौरीटारस्थित आइसोलेसन वार्डमा ७० जना रहेका छन् भने बाँकी घरमै आइसोलेटेड भएर बसिरहेका छन् । कोरोना संक्रमणमुक्त हुने दर बढेसँगै हेटौंडा–४ स्थित कर्राको श्रमिक माविमा निर्माण गरिएको आइसोलेसन वार्ड खाली भएको छ । ‘अब उक्त विद्यालयको आइसोलेसन वार्ड बन्द गरिएको छ । गौरीटारमै दुईसय २० बेडको आइसोलेसन निर्माण भएको कारण विद्यालयको बन्द गरिएको हो ।’, चौलागाईंले भने ।

प्रकाशित : आश्विन ८, २०७७ १४:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×