कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभा सदस्य साँवा तीन महिनालाई पार्टीबाट निलम्बित

आनन्द गौतम

ताप्लेजुङ — नेकपा ताप्लेजुङकी सदस्य तथा एक नम्बर प्रदेशसभाकी सदस्य होमकुमारी साँवालाई पार्टीले तीन महिनाका लागि निलम्बन गरेको छ । सामाजिक सञ्जालमा एक युवतीलाई अपशब्द प्रयोग गरेकाले साँवालाई निलम्बन गरिएको पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भास्कर काफ्लेले जानकारी दिए ।

‘ती युवतीसँगको कुराकानीमा लेखिएका शब्द सार्वजनिक निकायमा बस्ने व्यक्तिबाट प्रयोग हुनेभन्दा अस्वाभाविक पाइएकाले कारबाही गरिएको हो,’ उनले भने । साँवा र युवतीबीचको कुराकानी सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो । उक्त कुराकानी ‘फेक आइडी’मार्फत बाहिरिएको र त्यो आइडी कसले बनाएको हो भनेर खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कसैको तस्बिर नराखी श्याम खत्रीका नाममा बनाइएको आइडीबाट जिल्लाका केही व्यक्तिलाई ट्यागसमेत गरिएको थियो । त्यसमा प्रदेश सांसद बलबहादुर साम्सोहाङको पनि तस्बिर छ ।

युवतीले सांसद साँवाले आफूलाई अपशब्द प्रयोग गरेको जानकारी पार्टी कार्यालय टिमका सदस्य सन्तोष खतिवडालाई गराएकी थिइन् । खतिवडाले पार्टीमा कुराकानी गर्ने भन्दै उक्त सामग्री आफूलाई दिन आग्रह गरेका थिए । खतिवडाले उक्त कुराकानीको स्क्रिन सट पार्टी केन्द्रीय सदस्यलगायत केही पदाधिकारीलाई देखाएको बताएका छन् । तर, यो विषयमा छलफल नहुँदै सामाजिक सञ्जालमार्फत बाहिरिएपछि विवाद बढेको थियो ।

पार्टीले छानबिनका लागि इन्चार्ज काफ्लेको संयोजकत्वमा प्रदेश सदस्यहरू मिङमाडन्डु शेर्पा र प्रदेश परिषद् सदस्य राम सुवेदी सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले साँवालाई निलम्बन, साम्सोहाङ र खतिवडालाई आत्मालोचना गराउन गरेको सिफारिसलाई जिल्ला कमिटीले अनुमोदन गरेको काफ्लेले जानकारी दिए ।

प्रकाशित : भाद्र २८, २०७७ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?