कर्मचारी नियुक्तिमा प्रधानाध्यापकको मनोमानी, परीक्षा मर्यादित नभएको गुनासो

एलिसा श्रेष्ठ

भोजपुर — प्रधानाध्यापकले मनोमानी ढंगबाट अमर्यादित परीक्षा गराएर कर्मचारी नियुक्ति गरेको खुलेको छ । रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङस्थित स्थानीय बेहेरेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेश्वर पौडलले लेखापाल दरबन्दीको कर्मचारी नियुक्तिमा मनोमानी गरेको खुलेको हो ।

गत भदौ १३ गते लिइएको परीक्षामा प्रधानाध्यापक पौडेलले आफू निकट परीक्षार्थीलाई व्यक्तिगत ढंगबाट लेखापालमा नियुक्ति गरेको भन्दै परीक्षार्थी र सरोकारवालाबाट चर्को असन्तुष्टि भएको हो । पुरानै पाठ्यक्रम अनुरुप नै परीक्षाको तयारी गरेपनि प्रधानाध्यापक पौडेलले आफू अनुकुल एनआईसी एसिया बैंक बैकुण्ठे शाखाका कर्मचारीलाई रोस्टर राखेर पाठ्यक्रम बाहिरको प्रश्नावली बनाएको एक परीक्षार्थी स्मृति कार्कीले गुनासो गरिन् । छोटो समयमा नयाँ पाठ्यक्रम समेटिएको उक्त परीक्षामा प्रधानाध्यापकले नियुक्त गरेको रोस्टरले प्रश्नपत्रको ३४ प्रतिशत प्रश्न पाठ्यक्रमबाहिरबाट समेटेर बनाएको उनले गुनासो पोखिन् । उक्त प्रश्नापत्र पनि अंग्रेजी माध्यमबाट बनाइएको परीक्षार्थीको गुनासो छ ।

परीक्षा सञ्चालन गराउन प्रधानाध्यापक पौडेलले रोस्टरमा विद्यालयकै शिक्षक टंकप्रसाद घिमिरेलाई प्रस्ताव गरेका थिए । तर परीक्षाको मिति नजिकिने बेला प्रधानाध्यापक पौडेलले आफू निकट रविना बस्नेतलाई कर्मचारी नियुक्ति गराउन आग्रह गरे । घिमिरेले परीक्षा प्रणाली मर्यादित गर्नुपर्छ भनेपछि प्रधानाध्यापक पौडेलले आफू अनुकुल बैंकका कर्मचारीलाई तत्काल रोस्टर बनाएका थिए । ६ जना सहभागी परीक्षालाई वैधानिकता र मर्यादित बनाउने किसिमको परीक्षा प्रणाली नभएको उनले बताए । घिमिरेका अनुसार निकट रहेका व्यक्तिलाई नै नियुक्ति गर्ने टुंगो नभएपछि एउटै विद्यालयको शिक्षकलाई रोस्टर राख्दा विवाद हुन्छ भनी भन्न लगाइ घिमिरेको ठाउँमा बैंकका कर्मचारीलाई रोस्टर बनाइएको थियो ।

यता प्रधानाध्यापक पौडेलले कर्मचारी नियुक्तिको सबै परीक्षा प्रणाली पारदर्शी भएको बताएका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रीप्रसाद ढकाल, शिक्षा समन्वय इकाइ भोजपुरका प्रतिनिधि, गाउँपालिकाका कर्मचारीको प्रत्यक्ष निरीक्षणमा परीक्षा सञ्चालन गरिएको उनले बताए । प्रधानाध्यापक पौडेलका अनुसार रोस्टरमा नियुक्ति गरिएका ती बैंकका कर्मचारीलाई कोडिङ गरेरै परीक्षा गराउन पठाएको बताए ।

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नै गत २०७६ पुस १८ गते पाठ्यक्रमसहित कर्मचारी नियुक्तिको विज्ञापन खुलाइएको थियो । परीक्षाबाट उतीर्ण गराइएका बस्नेतलाई प्रधानाध्यापक पौडेलले विद्यालय व्यवस्थापन समितिको बैठक नै नबसी नियुक्ति दिएको पनि खुल्न आएको छ ।

प्रकाशित : भाद्र १६, २०७७ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?