कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालले उपचार गर्न नमानेपछि महिलाको मृत्यु

डिल्लीराम खतिवडा

उदयपुर — खाना खाने क्रममा भात सड्केर सिकिस्त भएकी एक महिलाको उपचार नपाएर मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–६ की ६५ वर्षीया डम्बरकुमारी बस्‍नेतको विराटनगरका अस्पतालले भर्ना लिन नमानेपछि आइतबार उपचार अभावमा मृत्यु भएको हो ।

शनिबार साँझ खाना खाने क्रममा भात सड्केपछि उनी बेहोस भएपछि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचारका लगिएको थियो । गम्भीर अवस्थामा रहेकी उनको प्रारम्भिक उपचार गरेर थप उपचारका लागि विराटनगर पठाइएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

विराटनगरका मोरङ सहकारी, म्याक्स, न्यूरो, ग्रिनक्रस,लाइफ र्गाड, विराट नर्सिङ्ग(विराटनगर हस्पिटल), विराट मेडिकल कलेज, र कोसी अस्पतालमा पुर्‍याइउपनि एम्बुलेन्सबाट नझारी अस्पतालको गेटबाट फर्काइदिएको एम्बुलेन्स चालक दिपक खत्रीले बताए । ‘बिरामीको अवस्था बुझ्दै नबुझी अस्पताहरुले गेट बाहिरबाटै फर्काइदिए,’ उनले भने, ‘अन्तिममा गोल्डेन अस्पतालले भर्ना त लियो ।’ बिरामीको अवस्थाा गम्भीर भएकाले आईसीयूमा राख्नु पर्ने र अस्पतालको आईसीयू खाली नभएको भन्दै अन्यत्र लैजान भन्दै बिरामीलाई निकालिदिएको उक्त अस्पतालले निकालिदिएको खत्रीले बताए ।

कोरोना संक्रमण भन्दै अस्पतालहरुले भर्ना लिन नमानेको पीडित परिवारले बताएको छ । कोरनो नभएर भात अड्किएर बेहोस भएको बताउँदा पनि अस्पतालहरुले भित्रै पस्न नदिएको मृतकका ज्वाई पशुपति भण्डारीले बताए । ‘ ८ वटा अस्पतालले गेट भित्रै पस्न दिएनन्,’ उनले भने ।

गोल्डेन अस्पतालले निकालिदिएपछि रातभरी विराटनगरका सबै अस्पताल चाहरेको भण्डारीले बताए । ‘सबै अस्पतालमा आग्रह गरियो,’ भण्डारीले भने, ‘तर कसैले पनि हाम्रो अनुरोध सुनेन् । आमा(सासूआमा)ले उपचार नपाएर बित्‍नुभयो ।’

अस्पतालहरुले भित्र पस्‍न त के गेट अगाडी ५ मिनेटपनि उभिन नदिएको एम्बुलेन्सका चालक खत्रीले वताए । ‘अस्पतालका सुरक्षाकर्मीले अस्पतालको गेटमा बिरामी लिएर गएका एम्बुलेन्सलाई भित्र होइन, गेटमा दुई मिनेट पनि उभिन दिँदैनन् ।’

कोरोना संक्रमण बढदै गएको भन्दै पहिले पीसीआर परीक्षणपछि नतिजा नेगेटिभ भएमात्रै बिरामी अस्पताल ल्याउनु भन्ने गरेको चालक खत्रीले सुनाए । सरकारी कोसी अस्पतालले पनि १५ दिन क्वारेन्टाइनमा बसेको प्रमाण भएमात्रै बिरामी भर्ना गरेर उपचार गर्ने भन्दै गेटबाट भित्र जान नपाएको पीडित भण्डारीले बताए ।

कोसी अस्पतालले भने शंकास्पद बिरामीका लागि छुट्टै आइसोलेसन वार्ड बनाएको अस्पतालका मेसु डा. चुमनलाल दासले बताए । ‘त्यस्ता बिरामीलाई छुटै राखेर त्यही उपचार हुन्छ,’ उनले भने ।

रातभरी ९ वटा अस्पताल चार्हादा पनि विराटनगरका अस्पतालहरुले उपचार गर्न नमानेपछि ती महिलालाई आइतबार बिहान ८ बजे घर ल्याइएको थियो । घर ल्याएको ३ घण्टापछि ती महिलाको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र १४, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?