कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कीर्तिमानी एथलेटी चन्द्रकला लामगादेमाथि कुटपिट

पर्वत पाेर्तेल

काँकडभिट्टा — एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि झापामा कुटपिट भएको छ । उनी आठाैं राष्ट्रिय खेलकुद प्रतियोगिताकी दुई स्वर्ण पदकधारी हुन् ।

कीर्तिमानी एथलेटी चन्द्रकला लामगादेमाथि कुटपिट

मेचीनगर–१३ चारआलीका दुर्गाबहादुर श्रेष्ठ र उनकी पत्नी विष्णु श्रेष्ठले लामगादेलाई जातीय गालीगलौज गर्दै सोमबार राति निर्घात कुटपिट गरेका हुन् । श्रेष्ठ पूर्व सेना हुन् । कुटपिटका कारण घाइते लामगादेको बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । उनको सात महिनाको गर्भसमेत थियो । लामगादेका श्रीमान सुमन खाती पनि घाइते छन् ।

कोरोना संक्रमणका कारण गर्भवती उनलाई प्रहरी मुख्यालयले इलाका प्रहरी कार्यालय धुलाबारीमा हाजिर गर्ने सर्तमा काज बिदामा राखेको थियो ।

पूर्व सेना श्रेष्ठ र उनकी पत्नीले सोमबार राति करिब ८ बजे स्थानीय राजन दर्जीमाथि कुटपिट गरेका थिए । उनी भाग्दै घर आएपछि लामगादे र उनका पतिले छुट्याउने प्रयास गरेका थिए । तर, उल्टै उनीहरुमाथि नै श्रेष्ठ दम्पतीले आक्रमण गरेका थिए । चन्द्रकलाका श्रीमान सुमनले भने, ‘राजन दाईलाई जातीय गालीगलौजसहित कुटपिट भएर हामीसँग गुहार माग्न आउनु भएको थियो । सोही क्रममा हामीलाई समेत कुटियो ।’ उनले श्रेष्ठ दम्पतीले जातीय गालीगलौज गर्दै अन्धाधुन्ध कुटपिट गरेको जनाए ।

तीन महिनाअघि जिल्ला बाहिरबाट निमा शेर्पा नामका व्यक्ति आएका थिए । उनलाई स्थानीय सरकारले क्वारेन्टाइनमा राख्न खोजी गरिरहेको थियो । सोही क्रममा एक दिन श्रेष्ठकै घरमा रहेको होटलमा निमा र राजन खाजा खाइरहेको अवस्थामा स्थानीयले फेला पारेर निमासँगै राजनलाई पनि क्वारेन्टाइनमा लगेर राखियो ।

१४ दिन क्वारेन्टाइनमा बसेर पीसीआर समेत नेगेटिभ आएर घर फर्किएका राजनलाई श्रेष्ठले जातीय शब्द प्रयोग गरेर सधैं दुर्व्यवहार गर्दै आएको मेचीनगरकी कार्यपालिका सदस्य निर्मला परियारले बताइन् । उनका अनुसार श्रेष्ठले सधैं ‘कोरोना लागेको दमै मेरो घर छेउछाउ देखा नपर’ भन्दै दुर्व्यवहार गर्दै आएका थिए । भनिन्, ‘सोमबार रातिचैं राजनलाई कुटपिट नै गरेछन् । उनी गुहार माग्दै घरमा लुक्ने क्रममा चन्द्रकला र उनका पति समेत कुटिए । उनीहरुलाई समेत जातीय गालीगलौज गरिएछ ।’

श्रेष्ठ पत्नीले चन्द्रकलालाई पेटमा धक्का पुग्ने गरी कुटपिट गरेकी थिइन् । चन्द्रकलाका पतिलाई श्रेष्ठले सेनाले प्रयोग गर्ने पेटी प्रहार गर्दा पिठ्युमा निलडाम छ । घाइते चन्द्रकलालाई तत्काल नजिकैको मनकामना अस्पताल लगिएको थियो । तर, अस्पतालले राति नै बी एण्ड सी रिफर गरेको थियो ।

यसैबीच जातीय विभेदसहित कुटपिट गरेको भन्दै चन्द्रकलाका श्रीमान सुमनले श्रेष्ठ दम्पतीविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जोहरी दिएका छन् । कार्यालयका प्रहरी निरीक्षक कैलाश चौधरीले जातीय दुर्व्यवहारसहित कुटपिट गर्नेलाई कानुन अनुसार कारबाहीका लागि प्रक्रियाअघि बढाइएको जनाए ।

प्रकाशित : भाद्र ९, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?