कोरोना निको भएर विराटनगरकी ९० वर्षीया घर फर्किन्
मोरङ — कोरोना संक्रमित विराटनगर-६ की ९० वर्षीया वृद्धा ११ दिनमै निको भएर बुधबार घर फर्केकी छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनी साउन १० गते कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।
कोसी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले उच्च रक्तचाप, मधुमेह, नसा र पिसाबसम्बन्धी दीर्घ रोगी ९० वर्षीया वृद्धा ११ दिनमै निको भएर घर फर्किएको बताए ।
बुधबार ९० वर्षीया वृद्धासहित बुधबार उपचार केन्द्रबाट २१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मोरङका ११, इलामका ६, झाप, तेह्रथुम, सुनसरी र उदयपुरको १/१ जना डिस्चार्ज भएको दासले बताए ।
यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित आइसोलेसन अस्पतालबाट बुधबार ३६ जना डिस्चार्ज भएका छन् । मोरङका १५, झापाका १५, सुनसरीका ५ र धनकुटाको १ जना संक्रमण निको भएपछि डिस्चार्ज भएको उक्त अस्पतालका फोकल पसर्न नविन भट्टराईले बताए ।
प्रकाशित : श्रावण २१, २०७७ २०:५२