कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरो पीडितलाई उद्धार, राहत र क्षतिपूर्ति दिन प्रदेश सांसदको माग

देवनारायण साह

मोरङ — प्रदेश १ प्रदेशसभा सांसदहरुले बाढी, पहिरो र डुबान पीडितलाई उद्धार, राहत तथा क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । प्रदेशसभाको आइतबारको बैठकमा बोल्दै सांसदहरुले चुरे दोहन र जथाभावी खोला उत्खनन गरेकै कारण जोखिम बढेको भन्दै उनीहरूले खोला उत्खनन् रोक्न माग गरे ।

बाढीपहिरो पीडितलाई उद्धार, राहत र क्षतिपूर्ति दिन प्रदेश सांसदको माग

उनीहरुले मोरङका पहाडी क्षेत्रका सडक, धनकुटा, पाँचथरलगायत जिल्लामा निर्माणाधीन सडकहरु समयमै नसकिँदा अहिले पहिरोमा परिणत भएको बताएका थिए ।

सत्तारुढ दल नेकपा प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले पहाडी जिल्लाहरुमा निर्माणाधीन सडक योजनाहरु समयमा सम्पन्न नहुँदा पहिरोमा परिणत भएको गुनासो पोखे । ‘ठेक्केदारहरुलाई समयमै सडक निर्माणको योजना सम्पन्न गराउने व्यवस्था गरेर पहिरोबाट प्रदेशवासीलाई जागाउनु आवश्यक छ,’ उनले भने, ‘तराईका जिल्लाहरुमा बाढी, पहिरो र डुबानबाट जोगाउन तटबन्ध निर्माणमा सरकारको ध्यान केन्द्रित हुनु आवश्यक छ ।’

प्रमुख प्रतिपक्षी कांग्रेसका सचेतक सूयर्माराज राईले तस्करहरुले खोला नदीमा जवाभावी ढुंगा, गिट्टी, बालुवा उत्खनन र चुरे दोहनले पहिरो जाने र बाढीले कटान र डुबान बढ्दै गएको बताए । उनले खोला नदीको जथाभावी उत्खनन रोक्न सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा बाढी पहिरोले सर्वसाधारणको ज्यान जानेक्रम सुरु भइसक्दासम्म पनि प्रदेश सरकारको पूर्वतयारी नदेखिएको आरोप लगाए । ‘बाढी, पहिरो जस्ता बिपदका बेला उद्धार, राहत र क्षतिपूर्तिका लागि पूर्वतयारी गर्न हालसम्म प्रदेश सरकारले विपद व्यवस्थापन समितिको बैठकसम्म बस्न नसकेकोबाट कस्तो तयारी रहेको देखिन्छ ।’ उनले तत्काल राहत, उद्धार र पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था गर्न माग गरे ।

प्रदेशसभामा विशेष समय लिएर सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले केही दिनदेखिको वर्षाका कारण पुगेको क्षतिको विवरण प्रस्तुत गर्दै उद्धार, राहतका लागि १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेको जानकारी गराए । ‘बाढी पहिरोले पीडित प्रदेशवासीको उद्धार र राहतमा सरकार चुक्दैन,’ उनले भने, ‘ गाउँ टोलमा बाढी पस्न नदिन र खोला नदीको तटबन्ध सुरक्षाका लागि भौतिक पूर्वाधार विकास मनत्रालयलाई तार, जाली र बोरा तयारी अबस्थामा राख्न र आवश्यक स्थानमा तत्काल पुर्‍याउन निर्देशन दिइएको छ ।’

संखुवासभाका पहिरो पीडितलाई राहत सामग्री पुर्‍याउने प्रदेश सरकारले सम्पूर्ण तयारी गरिसकेको प्रदेशसभालाई उनले जानकारी गराए ।

प्रकाशित : असार २८, २०७७ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?