संखुवासभाको सिसुवामा पहिरोले ८ घर बगायो- प्रदेश १ - कान्तिपुर समाचार

संखुवासभाको सिसुवामा पहिरोले ८ घर बगायो

११ जना सम्पर्कविहीन
कान्तिपुर संवाददाता

संखुवासभा — संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरो जाँदा ८ घर बगाएको छ भने ११ जना सम्पर्क बाहिर छन् । सम्पर्कविहीन भएका ११ जनालाई पहिरोले बगाएर बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ । 

अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । घटनास्थलमा सिसुवाबाट प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।

अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सदरमुकाम खाँदबारीमा सशस्त्र र नेपाली सेनाको टोली उद्धारका लागि तयारी अवस्थामा राखिएको छ । मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान तयारी अवश्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन टाढा पर्छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थल गइरहेका छन् ।

प्रकाशित : असार २८, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्

पश्चिम तराई पनि जलमग्न

बाढीको सधैं त्रास
त्रिवेणी ब्यारेजका १६ ढोका खोलिए
प्रदेश ब्युरो

बुटवल — लगातार तीन दिनदेखि परेको झरीले प्रदेश ५ का तराईका जिल्ला जलमग्न भएका छन् । पश्चिम नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया र दाङ यसबाट प्रभावित देखिएका हुन् । बाँकेको नरैनापुर गाउँपालिका–६ की सवारा धोवीको आँगनसम्मै पानी भरिएको छ । दुई दिनदेखि परेको वर्षाले राप्तीको बहाव बढ्दै गएपछि सिंगो गाउँ त्रासमा छ । ‘राप्ती नदीले बस्ती कटान गर्दै लगेको छ,’ उनले भनिन्, ‘यहाँका दुई सयभन्दा बढी घर बाढीको उच्च जोखिममा छन् ।’

बाँकेको नरैनापुर, डुडुवा र राप्तीसोनारी गाउँपालिका डुबानका प्रभावित क्षेत्र हुन् । डुडुवा गाउँपालिका–१ मा रहेका केही बस्ती उच्च जोखिममा छन् । वरिपरि राप्ती नदीले घेरिएको छ । बीचमा कृषि चौफेरी, पाझा र कुटवालगायत बस्ती छन् ।

वर्षौं पुरानो बस्तीलाई विपत् व्यवस्थापन समितिले पटक–पटक गृह मन्त्रालयमा बस्ती स्थानान्तरण गराउने निर्णय गरेर पठाएको थियो । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बजेट नहुँदा जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न नसकिएको बताए । समितिले यस वर्ष बाँकेमा बाढीबाट २५ हजार घरधुरीका १ लाख ५० हजार मानिस प्रभावित हुने आकलन गरेको छ ।

नरैनापुर–२ का मसुद हमद साहले भारतले सीमामा बाँधजस्तै पक्की सडक निर्माण गरेपछि डुबानमा पर्ने बस्ती बढ्दै गएको बताए । पानी निकास नहुँदा नरैनापुरका १ र २ को सीमा क्षेत्रमा रहेका बस्ती डुबानमा पर्न थालेका हुन् । बाहुपुर्वा, कोठिया, कोडीपुर्वा, गुरदौरिया, नसारा, खुलाहवालगायत गाउँ भारतले सडक बनाएपछि वर्षायाममा डुबानको समस्या बढेको वडाध्यक्ष साहले बताए । दशजगामा भारतले बनाएको बाँधजस्तो सडकले हिरमिनिया, जयसपुर, पिप्रहवा, भवानीयपुर, राधापुरलगायत गाउँसमेत डुबानमा पर्न थालेको स्थानीय बताउँछन् । राप्तीसोनारी गाउँपालिकाका फत्तेपुर, जंगपुर, लालपुर, पठरामपुर, धामपुर, ललही, गुन्डी, सिधनुवा, प्रिप्रहवालगायत दर्जनौं बस्ती बाढीको उच्च जोखिममा रहेको अध्यक्ष लहुराम थारूले बताए ।

विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर काम गरिरहेको संयोजक एवं प्रजिअ कुरुम्बाङले बताए । उद्धारका लागि १ सय १५ नेपाली सेना, १५ प्रहरी, ५० सशस्त्र प्रहरी र रेडक्रस सोसाइटीका २ सय ७३ जना गरी ४ सय ६३ जना तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । त्यस्तै, अन्य २ हजार ५ सय ५० जनालाई वैकल्पिक शक्तिका रूपमा परिचालन गरिने छ ।

नारायणी उत्कर्षमा

नारायणी नदी र पश्चिम नवलपरासीका खहरे खोलामा बाढी आएपछि यहाँ पानीको सतह एक्कासि बढेको छ । सरावल गाउँपालिका–५ र पाल्हीनन्दन गाउँपालिका–१, शंकरपुर जलमग्न भएका छन् । वर्षात्को पानीले निकास नपाउँदा गाउँ डुबानमा परेका हुन् । भेल पसेर धान बाली पुरिएको छ । घरभित्र पानी पस्दा अन्न र पशुचौपाया जोगाउन धौधौ परेको पाल्हीनन्दन–१ का सञ्जीव हरिजनले बताए । ‘तीन दिनदेखि परेको लगातारको पानीले बस्ती नै डुबानमा छ,’ उनले भने, ‘बाढी पसेको समयमा जनप्रतिनिधि हेर्न आउँछन् र सान्त्वना दिएर जान्छन् । दीर्घकालीन समाधानको उपाय नअपनाउँदा हामी सधैंभरि बाढीको त्रासमा बस्नुपरेको छ ।’

शुक्रबार त्रिवेणी ब्यारेजमा नारायणी नदीको सतह १०.४५ मिटर पुग्यो । यसको सतह ११ मिटरमा पुगेपछि खतराको संकेत मानिन्छ । जलमापन केन्द्रले दिउँसो १ बजे रातो बत्ती बालेपछि सुस्ता, प्रतापपुर र पक्लिहवाका बासिन्दा बाढी बस्तीमा पस्ने चिन्तामा थिए । तर, भारतीय पक्षले दिउँसो २ बजे त्रिवेणी ब्यारेजका १६ वटा ढोका खोलिदिएपछि यहाँ बाढीको संकट टरेको हो । ‘त्रिवेणी ब्यारेजमा ३६ वटा ढोका छन् । पानीको बहाव र प्रतिक्युसेक पानीको मात्रा हेरेर ब्यारेजको ढोका खोल्ने र बन्द गर्ने काम हुन्छ,’ गण्डक ब्यारेजका भूआर्जन अधिकृत तारा सिंहले भने, ‘नेपाल र भारत दुवैतर्फ क्षति नहुने गरेर ढोका खोल्ने र बन्द गर्ने काम हुन्छ । तर, यो काम सबै भारतीय पक्षले मात्र गर्न पाउँछन् ।’

पश्चिम नवलपरासीको प्रतापपुर, सरावल र सुस्ता गाउँपालिका सधैं बाढी र प्राकृतिक विपद्को जोखिममा छन् । नारायणी नदीको गण्डक क्षेत्रका सुस्ता, कुडिया, नर्सही, पक्लिहवा, भुजहवा, सोमनी, प्रतापपुरलगायत गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जिल्ला प्राकृतिक प्रकोप उद्धार समिति सम्भावित क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताए । ‘ब्यारेजको ढोका खोल्ने र बन्द गर्ने भारतीय पक्षले हो,’ उनले भने, ‘तर, हामीले अनुरोध गरेर समयमै ढोका खोल्न लगाएका छौं ।’

बहाव छेकिएपछि नियन्त्रणमा चुनौती

बर्दियामा कर्णाली नदीको कटानका कारण राजापुर नगरपालिकाका दुई दर्जन बढी गाउँ डुबानमा पर्दै आएका छन् । टुक्रे तटबन्धलाई पनि नदीले कटान गर्दै आएको छ । गेरुवा नदीका कारण गेरुवा गाउँपालिकाका गाउँहरू डुबान र कटानमा पर्दै आएका हुन् ।

बबई भादा नदीले गुलरिया नगरपालिकाको रत्नपुर, परसिया, बाँधुपुर, भादागाउँ, इन्द्रपुर, सुरजपुर, तुलसीपुर, जब्दी, भैसाही, मोहम्दपुरलगायत दर्जन बढी गाउँ डुबानमा पर्दै आएका छन् । बारबर्दिया पनि कटानमा पर्दै आएको छ । यहाँका आधा दर्जन बढी गाउँ कटानका कारण विस्थापित भइसकेका छन् ।

क्रेनको सहायताले उद्धार

दाङको पत्रे खोलामा अड्किएका तुलसीपुर–१८ का २१ वर्षीय अजय घर्तीलाई शुक्रबार राति डेढ घण्टापछि क्रेनको सहायताले उद्धार गरिएको छ । खोला पार गर्दै गर्दा ठूलो भेल आएपछि उनी खोलाको बीचमा रहेको निर्माणाधीन पुलको पिलरमा चढेर बचेका थिए । पछि प्रहरीले क्रेनको सहायताले उनको उद्धार गरेको थियो ।

घोराही–१०, खैरीमा हापुरखोलाको बाढी पस्दा ६ घरमा क्षति पुगेको छ । दिलबहादुर वलीको घरमा पानी पस्दा बाख्राको गोठ भत्केको र कुखुरा फर्ममा बाढी पसेको छ । यसैगरी हरिबहादुर बुढा, कमान डाँगी, तारा थापा, थमन गुरुङ र जयन्तराम सेजुवालको घरमा पनि बाढी पसेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी राजकुमार बैदवारले बताए ।

स्तम्भ डुब्यो

अविरल वर्षाका कारण कपिलवस्तु नगरपालिका–५, स्थित पुरातात्त्विक स्थल गोटिहवाको अशोक स्तम्भ डुबानमा परेको छ । लगातारको वर्षाले खाल्टोमा रहेको स्तम्भ डुबेको हो ।

महत्त्वपूर्ण ऐतिहासिक स्थल संरक्षण संरक्षणको जिम्मा पाएको लुम्बिनी विकास कोषले चासो लिएको छैन । पानी फालेर संरक्षण गर्न प्रयास नगरेर बेवास्ता गरेको स्थानीय बुद्धप्रकाश चौधरीले बताए ।

(बाँकेबाट मधु शाही, बर्दियाबाट ठाकुरसिंह थारू, कपिलवस्तुबाट मनोज पौडेल र नवलपरासी पश्चिमबाट नवीन पौडेल)

प्रकाशित : असार २८, २०७७ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×