कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्करीमा संलग्‍न भएको आरोपमा ११ प्रहरी अनुसन्धानको दायरामा

देवनारायण साह

मोरङ — लकडाउनको समयमा सीमा क्षेत्रमा भइरहेको चोरी तस्करीमा संलग्न रहेको आरोपमा मोरङमा कार्यरत ११ जना प्रहरीलाई अनुसन्धानको दायरामा ल्याइएको छ । प्रदेश १ प्रहरी कार्यालयले ४ र जिल्ला प्रहरी मोरङले ७ जनालाई तस्करीमा संलग्न रहेको आरोपमा अनुसन्धान सुरु गरेको हो । 

‘लकडाउनका कारण सीमा क्षेत्रमा मानिसलाई समेत आवतजावत नियन्त्रण गरिएको बेलामा तस्करी भएर मालसामान आए गएको र केही मानिसहरुको समेत आवतजावत भइरहेको सूचना प्राप्त भयो,’ उनले भने, ‘यतिबेला सीमा क्षेत्रमा २४ सौं घण्टा प्रहरी खटिएको अवस्थामा कसरी चोरी तस्करी र मानिसको आवतजावत हुनसक्छ भन्ने प्रश्न उठिसकेपछि अनुसन्धान प्रक्रिया अगाडि बढाएका हौं ।’

४ जनालाई प्रदेश १ प्रहरी कार्यालय र ७ जनालाई जिल्ला प्रहरीमा तानेर अनुसन्धान प्रक्रिया अघि बढाइएको खडकाले बताए ।

अन्तरदेशीय सीमा तस्करीमा संलग्नता रहेको आशंकामा इलाका प्रहरी कार्यालय रानीमा कार्यरत ६ जना र प्रहरी चौकी डोरिया र बुधनगरमा कार्यरत ५ जना गरी ११ जनालाई अनुसन्धानका लागि तानिएको छ । जसमा जुनियर प्रहरी अधिकृतदेखि प्रहरी जवानसम्म रहेको प्रहरी उपरीक्षक खडकाले बताए । अनुसन्धानका क्रममा चोरी तस्करीमा उनीहरुको संलग्नता प्रमाणित भए निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउने प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीको निर्देशन रहेकोले त्यहीअनुसारको प्रक्रिया अघि बढाइएको उनले बताए ।

जहदा गाउँपालिका–५ लक्ष्मिनियाँमा भारतबाट अवैध रुपमा युरिया मल ल्याइरहेको धनपालथान ३ का ३३ वर्षीय चालक सुरेन्द्रकुमार सिंहलाई को२त ५८७५ नम्बरको ट्याक्टरसहित प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । यस्तै, भारतबाट अवैध रुपमा ल्याएको ५ लाख ३० हजार मूल्य बराबरको कपडासहित प्रदेश १ प्रहरीले ६ जनालाई बिहीबार विराटनगर १२ बखरीबाट पक्राउ गरेको थियो । विराटनगर–१५ का राजा पासमान, विशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अविनाश चौधरीलाई पक्राउ गरेको हो । उनीहरुले को१ह ८४५१ नम्बरको टेम्पो र को१३प ४२४७ नम्बरको मोटरसाइकलमा कपडा लिएर भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा प्रदेश १ प्रहरीका टोलीले नियन्त्रणमा लिएको थियो ।

यसका साथै विराटनगरबाट केराउ, मटर, मरिचलगायतका सामग्री भारततर्फ तस्करी भएर गएको सूचना प्राप्त भएपछि ड्युटीमा खटिने प्रहरीलाई अनुसन्धानको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खडकाले बताए ।

प्रकाशित : असार २४, २०७७ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?