कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोलुङ हाइड्रो : चौपाया बेचेर लगानी गरेकाहरू अन्योलमा

कुम्भराज राई

ओखलढुंगा — मोलुङ गाउँपालिका–७ मा सञ्चालित मोलुङ हाइड्रोले करिब दुई हजार स्थानीयबाट संस्थापक सेयरका रूपमा रकम संकलन गरे पनि उनीहरूलाई अझै प्रमाणपत्र दिएको छैन । चौपाया र गहना बेचेर रकम लगानी गरेकाहरू कम्पनीले थप सम्पर्क नगर्दा अन्योलमा छन् ।

मोलुङ हाइड्रो : चौपाया बेचेर लगानी गरेकाहरू अन्योलमा

७ मेगावाट क्षमताको आयोजनाका लागि कम्पनीले गाउँपालिकाका ८ वटा वडाका १ हजार ८ सय ७५ उपभोक्ताबाट २ करोड ५५ लाख २६ हजार रकम संकलन गरेको थियो । यसका लागि वडा कार्यालयलाई परिचालन गरिएको थियो । २०७४ सालदेखि रकम संकलन गरिए पनि अधिकांशलाई रसिद दुई वर्षपछि २०७६ सालमा दिइएको थियो ।

सेयर खरिद गर्ने अधिकांश सर्वसाधारण त्यसबारे थाहै नपाएकाहरू छन् । कतिपयले सेयर हालेबापत फाइदा हुन्छ भन्दै चौपाया र गहना बेचेर लगानी गरेको स्थानीयको भनाइ छ । ‘आफ्नो गच्छेअनुसार लगानी गरेको रकम कम्पनीले के गर्दै छ ? त्यसबापत हामीले कहिलेदेखि के पाउँछौं भनेर जान्न पाउने त अधिकार हो नि,’ सन्तोष दाहालले भने, ‘कतै सोधखोज गर्दा कसैले केही भन्दैन । कम्पनीले आएर जानकारी दिँदैन । यसमा पक्कै बदनियत भएको हाम्रो अनुमान छ ।’

कम्पनीले त्यस भेगमा सञ्चालित दुईवटा माइक्रोहाइड्रो आफूमातहत लिएर उपभोक्ताको लगानी संस्थापक सेयरमा परिणत गर्ने भनी जिम्मा लिएको थियो । रामपुरस्थित सय किलोवाटको माइक्रोहाइड्रोका ६ सय ५० हाराहारी उपभोक्ता छन् । प्रतिउपभोक्ता १४ हजार रकम संस्थापक सेयरमा लगाइदिने भनिए पनि त्यसबापतको प्रमाण नदिइएको स्थानीयको गुनासो छ ।

हर्कपुरस्थित ४० वाट क्षमताको माइक्रोहाइड्रोका उपभोक्ताबाट पनि कम्पनीले सेयरमा परिणत गरिदिने भन्दै १८ हजारका दरले रकम उठाएको थियो । तत्कालीन माइक्रोहाइड्र्रोमा सरकारी अनुदान दुई करोडभन्दा बढी थियो । उक्त सरकारी रकमको लगानी कम्पनीले कसरी बेहोर्ने भन्ने थाहा नभएको स्थानीयले बताए ।

मोलुङ हाइड्रोपावर कम्पनीका सञ्चालकमध्येका नवीन महर्जनले संस्थापक सेयरबापतको रकम सबै कम्पनीमै लगानी रहेको बताए । उक्त रकमको सबै हिसाबकिताब साधारणसभामार्फत लगानीकर्तालाई जानकारी दिने उनको भनाइ छ । ‘हामीले वैशाखमै साधारणसभाको मिति टुंगो गरेका थियौँ,’ महर्जनले भने, ‘लकडाउनका कारण त्यो सम्भव भएन । लकडाउन खुल्यो भने एक महिनाभित्र साधारणसभा गरेर सबै जानकारी गराउछौँ ।’ विद्युत् उत्पादन थालेको डेढ वर्ष मात्र भएकाले अहिले मुनाफामा जान नसकेको उनको भनाइ छ ।

धितोपत्र बोर्डका सहप्रवक्ता रूपेश केसीले संस्थापक सेयरको विषय बोर्डसँग नजोडिने भएकाले सेयर सदस्य र कम्पनीबीचबाटै टुंगो लाग्नुपर्ने बताए । साधारण सेयरका लागि मात्र कम्पनीले बोर्डबाट अनुमति लिनुपर्ने भएकाले त्यसअघिका विषय आफ्नो कार्यालयमातहत नरहने उनले जानकारी दिए । केसीका अनुसार हालसम्म मोलुङ हाइड्रोले साधारण सेयरका लागि निवेदन दिइसकेको छैन ।

सञ्चालक महर्जनले मुनाफामा जान थालेपछि मात्र साधारण सेयर आह्वान गर्न पाइने भएकाले बोर्डमा अनुमतिका लागि नगएको बताए । कम्पनीले विद्युत उत्पादनबापत गाउँपालिकालाई बुझाउनुपर्ने राजस्व तीन आर्थिक वर्षदेखि बुझाएको छैन । मोलुङ गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालका अनुसार कम्पनीबाट असुल्नुपर्ने रकम ७ लाख पुगिसकेको छ ।

कम्पनीले जलविद्युत् आयोजनाले गर्नुपर्ने कतिपय सामाजिक कामसमेत नगरेको स्थानीयको गुनासो छ । जनप्रतिनिधि र स्थानीय अगुवालाई डोजर चलाउन दिएर कम्पनीले प्रभाव पार्ने गरेको उनीहरू बताउँछन् ।

मोलुङ हाइड्रोपावर आयोजना निर्माणका लागि एनएमबी बैंकलगायतको १ सय ४० करोड रुपैयाँ लगानी देखाइएको छ । आयोजनाबाट बर्खामा ७ र हिउँदमा ४ मेगावाट उत्पादन हुने भनिए पनि हिउँदका बेला २ देखि ३ मेगावाट मात्रै हुँदै आएको छ ।

प्रकाशित : असार ७, २०७७ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?