प्रदेश १ का ३०४ संक्रमितमध्ये १५५ जना निको भए
विराटनगर — विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तीन जिल्लाका ८ जना थपिएसँगै प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ ।
पछिल्लो पटक बिहीबार झापाका ३, सुनसरीका ३ र उदयपुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।प्रदेश १ मा सबैभन्दा बढी संक्रमित झापामा पुष्टि भएका छन् । झापाको कचनाकवलका मात्रै संक्रमितको संख्या १ सय १५ छ । अरु १२ स्थानीय तहमा समेत गरी झापामा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश राजधानी विराटनगरसहित मोरङमा संक्रमितको संख्या ३९ पुगेको छ । यसैगरी, उदयपुरमा ३९, सुनसरीमा ४६, धनकुटामा ८, भोजपुरमा ६ र खोटाङमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
झापाको क्वारेन्टाइनमा बसिरहेका ताप्लेजुङका ४ जना, संखुवासभामा २, तेह्रथुममा २, सोलुखुम्बु र इलाममा १–१, जनामा पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयस्थित कोरोना सूचना केन्द्रले जनाएको छ ।
कुल संक्रमितमध्ये निको हुनेको संख्या १ सय ५५ छ । विभिन्न स्थानका आइसोलेसनमा राखिएका उनीहरुको पछिल्लो स्वाब नमुना परीक्षण गर्दा संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको छ ।
संक्रमितहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्र र गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रदेश सरकारका अनुसार बिहीबारसम्म १३ हजार ९ जनाको पीसीआर बिधिबाट स्वाब नमुना परीक्षण गरिएको छ । यसैगरी आरडीटी विधिले १४ हजार ६ सय ५४ जनाको परीक्षण गरिएको जनाइएको छ । प्रदेश १ मा पुष्टि भएका संक्रमितमध्ये अधिकांश भारतबाट फर्केकाहरु छन् ।
जोगबनीबाट १८४४ आए, २६९२ बाहिरिए
कोरोना संक्रमण फैलन नदिन जारी गरिएको लकडाउनका कारण रोकिएका २ हजार ६ सय ९२ जना भारतीय नागरिक जोगबनी नाका हुँदै भारततर्फ गएका छन् ।
दुई सातायता त्यति संख्यामा भारतीय नागरिक भारततर्फ गएको मोरङ प्रहरीले जनाएको छ । यसैगरी उक्त अवधिमा जोगबनी नाका भएर १ हजार ८ सय ४४ जना नेपाली प्रवेश गरेका छन् ।
दुवै देशका सुरक्षा निकायको समन्वयमा एकअर्का देशका नागरिकलाई पठाउने र भित्र्याउने गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रवेश गरेकाहरुलाई सुरुमा होलिङ सेन्टर अनि सम्बन्धित स्थानीय तहमा स्थापना गरिएको क्वारेन्टाइनमा पठाउने गरिएको छ ।
मोरङका विभिन्न स्थानीय तहमा गरी ७३ वटा क्वारेन्टाइन स्थापना गरिएका छन् । तिनमा बसिरहेकाहरुको संख्या बिहीबार साँझसम्म १ हजार २ सय १ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : जेष्ठ ३०, २०७७ ०८:२३