विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन : ‘रोगले होइन, भोकले मरिने भइयो’- प्रदेश १ - कान्तिपुर समाचार

विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन : ‘रोगले होइन, भोकले मरिने भइयो’

माधव घिमिरे

विराटनगर — सरकारको कामप्रति असन्तुष्टि जनाउँदै बिहीबार प्रदेश १ को राजधानी विराटनगरमा पनि प्रदर्शन गरिएको छ । युवाहरुले कोरोना भाइरस संक्रमणका नाममा खर्च भएको १० अर्बको हिसाब माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

संक्रमण रोकथाम, औषधि, उपकरण खरिदमा भएको खर्चको पारदर्शिता हुनुपर्ने प्रदर्शनकारीले माग गरेका थिए । उनीहरुले भरपर्दो नभएको भन्दै आरडीटी परीक्षण रोक्न समेत माग गरे । देवकोटा चोकबाट सुरु भएको र्‍यालीमा युवाहरु स्वःस्फूर्त सहभागी थिए । र्‍यालीका सहभागीले राष्ट्रिय गानको भाकामा सरकारलाई गरिएको व्यंग्यमिस्रित प्यारोडी गाएका थिए । प्रदर्शनकारीहरु नगरका विभिन्न चोक घुम्दै गर्दा सहभागी हुनेहरु थपिएका थिए ।

प्रदर्शनकारीले भौतिक दूरी कायम राखेर राजमार्ग र महानगरका विभिन्न स्थानमा सरकारका कामको विरोधमा लेखिएका नाराअंकित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

भाषण होइन सुशासन, रोगले भन्दा भोकले मरिने भइयो, सक्षम सरकारको लक्षण पारदर्शिता र दूरदर्शिता, प्रहरी हाम्रो मामा हो, भान्जा कुट्न पाइँदैन, सरकार कर केका लागि ? जस्ता नारा लेखिएका प्लेकार्डहरु प्रदर्शनकारी युवा युवतीले बोकेका थिए । अत्यधिक गर्मी भए पनि प्रदर्शनमा युवा युवतीको उल्लेख्य सहभागिता थियो । र्‍यालीले महानगरका मुख्य चोक र बजार क्षेत्र परिक्रममा गरेको थियो । त्यसपछि प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अघि पुगेको थियो ।

तस्बिर सौजन्य: प्रेम देवान

प्रकाशित : जेष्ठ २९, २०७७ २२:३६
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश १ का नयाँ ठाउँमा संक्रमित थपिँदै

माधव घिमिरे

विराटनगर — शंकास्पद संक्रमित व्यक्तिको स्वाब नमुना परीक्षण गर्दा प्रदेश १ का थप नयाँ स्थानमा संक्रमण पाइएको छ । पीसीआर परीक्षणका क्रममा सुनसरी सदरमुकाम इनरुवा, झापाको अर्जुनधारालगायत स्थानका व्यक्तिमा संक्रमण पाइएको हो ।

सुनसरीको इनरुवाका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिकामा एक जना महिला संक्रमित थपिएकी छन् । यसैगरी आइतबार पुष्टि भएकामा मोरङको रतुवामाईका दुई जना पुरुष छन् ।

यस्तै झापाको अर्जुनधाराका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । उदयपुरको बेलका नगरपालिकाका एक महिला र एक पुरुष, चौदण्डीगढी नगरपालिकाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

पछिल्लो पटक संक्रमण पुष्टि भएकामध्ये चार जनालाई विराटनगरस्थित कोभिड उपचार केन्द्रमा र ८ जनालाई मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरिएको जनाइएको छ ।

प्रदेश १ को झापामा सबैभन्दा बढी संक्रमित पुष्टि भएका छन् । कचनकवल, अर्जुनधारा, भद्रपुरलगायत स्थानका गरी १ सय ३८ जनामा संक्रमण देखिएको छ ।

उदयपुरमा हालसम्म ३६ जनामा संक्रमण पाइएको छ । यसैगरी सुनसरीका ४१ जनामा संक्रमण पुष्टि भएको छ भने मोरङका संक्रमितको संख्या १९ पुगेको छ ।

धनकुटाका ८, भोजपुरका ६, खोटाङका ४, खोलुखुम्बुका १, संखुवासभामा २, तेह्रथुमका २ जनामा संक्रमण पुष्टि भएको प्रदेश सरकारले जनाएको छ ।

संक्रमितमध्ये ९० जना उपचारपछि डिस्चार्ज गरिएका छन् । आइसोलेसनमा रहेकाको संख्या अब १ सय ५७ रहेको प्रदेश सरकारले जनाएको छ । संक्रमितहरुमा अधिकांश भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरु रहेको पाइएको छ ।

प्रदेश १ मा आइतबार साँझसम्म गरी ११ हजार २ सय ५४ जनाको स्वाब नमुना पीसीआर विधिबाट गरिएको छ । तीमध्ये २ सय ५७ जनामा कोरोना पोटिजिभ देखिएको प्रदेश सरकारले जनाएको छ । परीक्षण गरिएकामध्ये ९ हजार ५ सय ५५ जनामा संक्रमण नदेखिएको जनाइएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित कोसी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको छ । यसैगरी प्रदेशभर आरडीटी विधिबाट परीक्षण गरिएकाको संख्या १३ हजार ३ सय ३९ रहेको जनाइएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७७ १२:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×