कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिब्बतद्वारा प्रदेश १ लाई ७ करोड ७३ लाखको स्वास्थ्य सामग्री सहयोग

देवनारायण साह

मोरङ — कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश १ लाई सोमबार चीनको तिब्बत सरकारले ७ करोड ७३ लाख ६७ हजार मूल्य बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल–चाइना कार्यकारी परिषद प्रदेश १ को समन्वयमा तिब्बत सरकारले ती सामग्री उपलब्ध गराएको हो ।

तिब्बतद्वारा प्रदेश १ लाई ७ करोड ७३ लाखको स्वास्थ्य सामग्री सहयोग

सहयोग सामग्रीमा पीसीआर परीक्षण मेसिन २ थान, आरडीटी किट १० हजार, स्वाब स्टिक २० हजार, भीटीएम १० हजार, भेन्टिलेटर ३ थान, पीपीई ५ हजार, एन नाइन्टी फाइब मास्क ५ हजार, सर्जिकल मास्क २० हजार थान छन् । त्यस्तै सर्जिकल ग्लोभ्स १० हजार, सर्जिकल फेस सिल्ड २ हजार ५ सय, ह्यान्ड सेनिटाइजर ५ सय एमएलको १ हजार बोतल, आईआर थर्मोमिटर २ सय, यूएसजी पोर्टेबल मेसिन र एक्स–रे १/१ थान उपलब्ध गराइएको छ ।

उक्त सामग्री परिषद्को प्रदेश १ का संयोजक मुकेश उपाध्यायले मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरे । तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री सही तरिकाले उपयोग गरेको तथ्यांक उपलब्ध गराएपछि पुनः सहयोग गर्ने प्रतिबद्धता जनाएको उपाध्यायले बताए ।

यसै बीच आइपास नेपालले पनि १ लाख ९१ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?