कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट भित्रिने क्रम बढेसँगै क्‍वारेन्टाइन संख्या थपिँदै

विराटनगर — भारतका विभिन्‍न स्थानबाट सीमानजिक आएर बसिरहेका नेपालीलाई प्रवेश गराउन थालिएपछि क्‍वारेन्टाइन संख्या बढाइएको छ । कतिपय सीमावर्ती क्षेत्र आसपास ‘होल्डिङ सेन्टर’ बनाएर पनि राख्‍न थालिएको छ ।

भारतबाट भित्रिने क्रम बढेसँगै क्‍वारेन्टाइन संख्या थपिँदै

मोरङमा क्‍वारेन्टाइनको संख्या बढाइएको छ । विभिन्‍न स्थानीय तहमा गरी ४९ स्थानमा क्‍वारेन्टाइन छन् । तिनमा बस्‍नेको संख्या शनिबार ९ सय ६४ पुगेको मोरङ प्रहरीले जनाएको छ ।

दिनहुँजसो जोगबनी लगायत नाका हुँदै भारतबाट मानिसहरु भित्रिरहेका छन् । भारतबाट आउने क्रम शनिबार पनि जारी रह्यो । मोरङ प्रहरीका अनुसार शनिबार जोगबनी नाकाबाट १ सय ७८ जनालाई प्रवेश गराइएको छ । यसैगरी १ सय ८२ जना भारतीयलाई जोगबनी नाका हुँदै भारततिर पठाइएको छ ।

शुक्रबार २ सय २४ जना नेपाली जोगबनी नाकाबाट प्रवेश गरेका थिए । मोरङ प्रहरीका अनुसार शुक्रबार नेपालमा रहेका २ सय ७८ जनालाई उक्त नाका भएर भारततिर पठाइएको थियो ।

यसअघि बिहीबार भारतबाट ९५ जना नेपाली आएका थिए । यसैगरी नेपालमा रहेका २ सय ८ जनालाई उक्त नाका भएर भारततिर पठाइएको छ प्रहरीले जनाएको छ। बुधबार ३ सय ४ जनालाई प्रवेश गराइएको थियो ।

जोगबनी नाकाबाट भित्रिएकामा उत्तरपूर्वी ताप्लेजुङदेखि पश्चिमको गोर्खासम्मका व्यक्तिहरु छन् । नेपाल प्रवेश गराइएकाहरु कतिपयलाई सीमा नजिकका ‘होल्डिङ सेन्टर’मा राखिएको छ । अन्यलाई उनीहरुको ठेगाना रहेको जिल्ला र स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रदेश १ मा संक्रमितको संख्या १ सय ६० पुगेको छ । १४ जिल्लामध्ये ९ वटामा संक्रमण पुष्टि भएको छ । शनिबार संखुवासभाका दुईजनामा संक्रमण पुष्टि भएको हो । प्रदेशभरका विभिन्‍न स्थानीय तहमा रहेका क्‍वारेन्टाइनमा बस्नेको संख्या ३ हजार ६ सय ६१ पुगेको छ ।

प्रदेश १ मा संक्रमित भेटिएका जिल्लाहरुमा झापा, उदयपुर, धनकुटा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर, खोटाङ र सोलुखुम्बु हुन् । प्रदेश १ मा पुष्टि भएका संक्रमितमध्ये ३० जना उपचारपछि निको भएर डिस्चार्ज गरिएका छन् । आइसोलेसनमा बस्‍नेको संख्या १ सय ३० छ ।

प्रकाशित : जेष्ठ १७, २०७७ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?