शुक्रबार जोगबनी नाकाबाट २२४ आए, २७८ बाहिरिए

माधव घिमिरे

विराटनगर — भारतका विभिन्न स्थानबाट शुक्रबार थप २ सय २४ जना नेपाली जोबगनी नाकाबाट प्रवेश गराइएका छन् । मोरङ प्रहरीका अनुसार नेपालमा रहेका २ सय ७८ जनालाई उक्त नाका भएर भारततिर पठाइएको छ । बिहीबार भारतबाट ९५ जना नेपाली आएका थिए । बुधबार ३ सय ४ जनालाई प्रवेश गराइएको थियो । 

यसैगरी नेपालमा रहेका २ सय ८ जनालाई उक्त नाका भएर भारततिर पठाइएको छ प्रहरीले जनाएको छ । बुधबार ३ सय ४ जनालाई प्रवेश गराइएको थियो । जोगबनी नाकाबाट भित्रिएकामा उत्तरपूर्वी ताप्लेजुङदेखि पश्चिमको गोर्खासम्मका व्यक्तिहरु छन् ।

नेपाल प्रवेश गराइएकाहरु कतिपयलाई सीमानजिकका ‘होल्डिङ सेन्टर’मा राखिएको छ । अन्यलाई उनीहरुको ठेगाना रहेको जिल्ला र स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ । भारतबाट भित्रने क्रम बढेपछि मोरङमा क्वारेन्टाइन र ‘होल्डिङ सेन्टर’को संख्या पनि बढाइएको छ। विभिन्न स्थानीय तहका ४३ स्थानमा बनाइएका क्वारेन्टाइनमा बस्नेको संख्या पनि बढेको छ ।

भारतबाट आएकाहरु थपिएपछि क्वारेन्टाइनमा बस्नेको संख्या शुक्रबार बढेर ७ सय ८० पुगेको छ । यसअघिका समेत गरी १ हजार ४६ जना रहेकामा २ सय ६६ जनालाई उनीहरुको ठेगाना भएको स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रदेश १ का १४ मध्ये ८ जिल्लामा संक्रमित पुष्टि भएका छन् । सबैभन्दा बढी झापामा छन् । झापाको पनि केचनाकवलमा धेरै संक्रमित पुष्टि भएका छन् । संक्रमितहरु अधिकांश भारतबाट आएका व्यक्तिहरु हुन् । केही स्थानीयमा पनि संक्रमण देखिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्

सगरमाथामा पाइला नपरेको वर्ष

सन्दर्भ : १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस
सुरज कुँवर

काठमाडौँ — ६७ वर्षअघि आजकै दिन बिहानको ११ बजेर १५ मिनेट जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले पाइला टेकेका थिए । मानव जगतकै लागि उठेको त्यो पाइलाले सानो मुलुक नेपाललाई विश्वभर चिनायो ।

सन् १९५३ पछिका हरेक वर्ष बसन्तकालीन सिजनमा सगरमाथाको टुप्पो देख्‍न र छुने अभिलाषा बोकेर स्वदेशी विदेशीहरुको भीड आधार शविरमा लाग्‍न थाल्यो । ६६ वर्षदेखि चलेको त्यो क्रम यो वर्ष भने रोकियो ।

यस वर्ष आरोहण सिजनमा सगरमाथा आधार शिविरमा सन्‍नाटा छायो । कारण, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ । ‘चैतदेखि मध्य जेठसम्म दैनिक ३ हजार ३५ सय स्वदेशी विदेशी सगरमाथा आधार शिविरमा हुन्थे,’ ८ हजार अग्ला १४ वटा हिमाल पहिलोपटक आरोहण गर्ने नेपाली आरोही मिङमा शेर्पाले कान्तिपुरसँग भने ।

तर, यसपटक तिब्बततर्फको उत्तरी मोहोडाबाट चिनियाँ सरकारी टोलीको उचाई नाप्‍ने मिसनबाहेक अरु कुनै पनि टोली त्यता गएन । विदेशीहरुले सजिलो मान्‍ने नेपालतर्फको दक्षिणी मोहाडा भने यसपटक सुनसान नै भयो ।

‘सगरमाथामा यस्तो सुनसान यसअघि कहिल्यै भएको देखिएन, सुनिएन पनि,’ पर्वतारोहण व्यवसायी आङछिरिङ शेर्पाले कान्तिपुरसँग भने, ‘२०७१ मा १६ जना नेपाली शेर्पाहरुको ज्यान जाने गरी गएको हिमपहिरो र २०७२ मा आएको भूकम्पका कारण ती दुई वर्षको बसन्तकालीन आरोहण प्रभावित भएको थियो । तर, यस वर्षजस्तो सुनसान कहिल्यै भएको थिएन ।’

कोरोनाको महामारी नभइदिएको भए यस वर्ष हालसम्म २४ पटक सगरमाथा आरोहण गरेर विश्व र्कीतीमान कायम गरेका सोलुखुम्बुको थामेका ५० वर्षिय कामिरिता शेर्पा आफ्नै रेर्कड तोड्न सगरमाथा जाने तयारीमा थिए । तर, कोरानाको प्रभाव रोक्न उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरिय समितिले फागुन २९ गते ‘बसन्त ऋतुका लागि जारी गरिएका र जारी गरिने सगरमाथासहित सबै हिमालका अनुमतिलाई स्थगन’ गरेपछि उनीसहित सयौंले आफ्ना योजना रद्द गरे ।

उक्त निर्णयपछि हिमाल आरोहणका लागि नेपाली व्यवसायीसँग भएका बुकिङ पनि भटाभट रद्द हुन थाले । नेपाल आइसकेका विदेशी स्वदेश फर्के । आउने क्रममा रहेकाहरु कोही बीचबाटो बाटै फर्के भने आउनै लागेकाले उतैबाट टिकट रद्द गरे । यो निर्णयसँगै सरकारले हरेक सिजनमा सगरमाथासहित ५३ बढी हिमाल आरोहणबाट सलामी दस्तुरबाट संकलन गर्ने कम्तिमा ६८ करोड राजश्व मात्रै गुमाएन, यसै सिजनमा आधारित नेपालको पर्यटन बजारले अर्बौंको व्यापार पनि गुमायो ।

‘हिमाली क्षेत्रका मानिसहरुको ८० प्रतिशत जीविका पर्यटन नै हो,’ एसियन ट्रेकिङका सञ्चालक समेत रहेका शेर्पाले भने, ‘करिब १० लाख प्रत्यक्ष कामदारको रोजीरोटीमा असर पुगेको छ ।’ नेपालका सबै हिमालमा सर्वाधिक आरोहण गराउने सेभेन समिट प्रालिका अध्यक्ष मिङमा शेर्पाका अुनसार, यसपटक चैतदेखि पदयात्रा र हिमाल आरोहण रोकिँदा अनुमानित २० अर्ब रुपैयाँ बराबरको कारोबार गुमेको छ ।

हिमाल आरोहणलाई संसारभर महंगो साहासिक खेलका रुपमा लिइन्छ । यससँग सम्बन्धित उपकरण, दस्तुर, बीमालगायतका खर्च महंगो हुने भएकाले अर्बौं रुपैयाँको व्यापार गुमेको उनले बताए ।

दुर्गम र हिमाली भेगमा उडान भर्ने साना वायुयानले ‘डलर–फेयर’आम्दानी गर्ने सिजन पनि यही बेला हो । वायुसेवा सञ्चालक संघका अनुसार गत वर्ष बसन्तकालीन हिमाल आरोहण सिजनमा साना वायुयान उडाउने एयरलायन्सले १ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए । यस वर्ष चैत ११ गतेबाट लकडाउन सुरु भएपछि यिनले झन्डै १ अर्ब रुपैयाँको बराबरको कारोबार गुमाएका छन् । काठमाडौंदेखि खुम्बु क्षेत्रका होटलले गुमाएको आम्दानीको त कसैसँग हिसाब नै छैन ।

‘के अब नेपालको पर्वतारोहण चाँडै पुरानो लयमा फर्किएला ?,’ यो प्रश्नको उत्तर दिँदै पर्वतारोहणका ज्ञातासमेत मानिने आङछिरिङ शेर्पाले भने, ‘कम्तीमा ४ वर्ष लाग्छ नेपालको पर्यटन बजार पुरानै लयमा उठ्न ।’ किनकी यतिबेला कोरानाले संसारभरको अर्थतन्त्रमा मन्दी ल्याइदिएको छ । अर्थतन्त्रसँग जोडिएका सबै श्रृखंला खल्बलिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको यस वर्ष ३ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरिसकेको छ । ‘१० वर्षअघि युरोपमा मन्दी आउँदा नेपालमा ३/४ वर्ष असर देखिएको थियो,’ शेर्पाले भने, ‘अहिले त सारा विश्वमा मन्दी छाएको छ । त्यसैले कम्तीमा ४ वर्ष लाग्ने नै छ ।’ अनलाइनमा आधारित तथ्यांक अनुसार, करिब ४५ सय स्वदेशी तथा विदेशीले सगरमाथा चुचुरोमाथि पाइला टेकिसकेका छन् भने आरोहणका क्रममा ३ सय हाराहारीले ज्यान गुमाइसकेका छन् ।

नेपालले १३ वर्षयता मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउँदै आएको छ । यो दिवसमा पर्यटन व्यवसायी, आरोहीलगायत सरकारका विभिन्न निकाय अत्यन्तै उत्साहजनक र उल्लाहसमय वातावरणमा यो कार्यक्रम काठमाडौंमा आयोजना गर्दै रेकर्ड ब्रेकरलाई पुरस्कृत गर्थे । तर, शुक्रबार पर्यटन मन्त्रालयमा जम्मा भएका मन्त्री योगेश भट्टराईसहित ४० हाराहारीले सामाजिक दूरी राख्दै सानो कार्यक्रम आयोजना गरे ।

मन्त्री भट्टराईले कोभिड –१९ को प्रकोपका कारणले उत्साहजनक र सार्वजानिक समारोहकासाथ यो कार्यक्रम आयोजना गर्न नसकिएकोमा थकथकी मान्दै अर्को सालको कार्यक्रम उल्लासमय वातावरणमा उत्साहका साथ आयोजना हुने आशा व्यक्त गरे । मन्त्री र आयोजक समितिका अध्यक्ष पर्यटन सचिव केदारबहादुर अधिकारीले हालै सगरमाथाबारे गुगलमा सार्वजनिक भएको सिमाकंन विवाद र चिनिया सर्भे टोलीबारे भने केही बोलेनन् ।

तर, शुक्रबारै काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले गत वर्ष नेपालतर्फबाट भएको र यस वर्ष चीन सरकारले गरेको सगरमाथाको सर्भे गर्ने दुबै टोलीलाई बधाई लेख्दै आफ्नो ट्विटर ह्याण्डलबाट दुवै मुलुकले संयुक्त विज्ञप्ति जारी गर्दै उचाई घोषणा गरिने बताएकी छन् । पछिल्ला दिन सुनिएका सगरमाथाबारेका विवादमा सरकारले केही नबोल्दा आङछिरिङसहित थुपै पर्यटन व्यवसायीहरुले मन दुखाएका छन् ।

प्रकाशित : जेष्ठ १६, २०७७ २०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×