कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन उल्लंघन गरेको आरोपमा २८ नेपाली भारतीय जेलमा

सुम्निमा चाम्लिङ

इटहरी — भारत उत्तर प्रदेशको बागपत जिल्लामा २८ जना नेपाली नागरिक जेलमा रहेको पाइएको छ । सुनसरीको कोसी गाउँपालिकाका १७, भोक्राहा नगरसिंह गाउँपालिकाका १ जना र १० जना सप्तरीका नागरिक रहेको पाइएको हो ।

लकडाउन उल्लंघन गरेको आरोपमा २८ नेपाली भारतीय जेलमा

लकडाउन उल्लघंन गरेको अभियोगमा उनीहरुलाई गत बिहीबारदेखि बागपत जिल्ला कारागारमा राखिएको हो । जेलमा रहेका नागरिकले भ्वाइस म्यासेजमार्फत आफूहरु जेलमा रहेकाले उद्धार गरिदिन आग्रह गरेको कोसी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले बताए ।

अन्सारीका अनुसार गत फागुन ५ गत सप्तरीमा सम्पन्‍न इस्लामिक भेलामा सहभागी टोली ज्ञान बाँड्ने उद्देश्यले भारतको विभिन्न स्थान हुँदै भारतको उत्तर प्रदेश पुगेका थिए । भारतको दिल्लीमा आयोजित मुस्लिम कार्यक्रममा सहभागीमा कोरोना संक्रमण देखिएपछि भारतले कडाइ गरेको थियो ।

सोही क्रममा उत्तर प्रदेश पुगेको नेपाली टोलीसहित अन्य भारतीय नागरिकलाई ३९ दिन कृष्ण उच्च माविको क्वारेन्टाइनमा राखिएकोे अध्यक्ष अन्सारीको भनाइ छ । भारतीय नागरिकलाई छाडिए पनि नेपाली नागरिकलाई कारागार चलान गरिएको खबर आफूलाई आएको अध्यक्ष अन्सारीले जानकारी दिए ।

कोसी गाउँपालिका वडा ४ का जहाँगिर मन्सुरीका बुवा कैयम मन्सारी जेलमा छन् । उनका अनुसार क्वारेन्टाइनमा रहँदासम्म बुवासँग फोनमा कुराकानी भइरहन्थ्यो । ६ दिनदेखि भने सम्पर्क हुन सकेको छैन । उनले भने, ‘पाँच दिनपछि हामीलाई घर पठाउँछन् भन्नुहुन्थ्यो । तर अहिले उहाँहरुलाई जेलमा राखिएको रहेछ ।’

‘व्रत बसेका बुवाले पानी पनि खान पाउनु भयो/भएन । घरका सबै पिर गरिरहेका छन् । सरकारले चाँडै घर ल्याइदिए हुने थियो,’ उनले भने ।

उनीहरु बसेको क्वारेन्टाइनमा २८ नेपालीसहित २ सय ५० जना भारतीय नागरिक रहेका थिए ।

‘बागपतका जिल्लाका एसपीसँग कुरा गर्दा नागरिकलाई नेपाल पठाइसकेका छौ‌ भन्छन् । तर अहिलेसम्म जेलबाट भने छाडिएको रहेनछ,’ कोसी गाउँपालिका अध्यक्ष अन्सारीले भने । उनका अनुसार उद्धारका लागि संघीय सांसद ज्ञानेन्द्र कार्कीले मगंलबार परराष्ट्र मन्त्रालयमा घटनाबारे जानकारी गराइसकेका छन् ।

यस्तै, कोसी गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत समेत घटनाबारे परराष्ट्र मन्त्रालयमा जानकारी गराउने तयारी भएको उनले बताए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?