कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रानी नाकाबाट अढाइ सय भित्रिए

देवनारायण साह

मोरङ — विराटनगरस्थित रानी नाकाबाट भारतमा रोकिएकाहरुलाई मंगलबारबाट भित्र्याउन सुरु गरिएको छ । भारतको अररिया जिल्लाको विभिन्‍न क्‍वारेन्टाइनमा बसेका र रेलमा आएका २ सय ५० जना मंगलबार भित्रिएका छन् ।

रानी नाकाबाट अढाइ सय भित्रिए

भारतको विभिन्‍न ठाउँबाट आएका उनीहरुको नाकामै सम्पूर्ण विवरण संकलन गर्नुका साथै स्वास्थ्य परीक्षण गरेर भित्र्याइएको हो ।

मोरङ र भारतको अररिया जिल्लाका सुरक्षा प्रमुखहरुको बैठकले दुवै देशमा लकडाउनका कारण रोकिएका आ–आफ्ना देशका नागरिकलाई भित्र्याउने निर्णयपछि भित्र्याउन सुरु गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । ‘पहिलो चरणमा २ सय ५० जनालाई नाकामा विवरण संकलन गर्नुका साथै थर्मलगनले ज्वरो नापेर भित्र्यायौं,’ उनले भने, ‘अब केही दिन निरन्तर भारतमा रोकिएका नेपालीहरु आउने अवस्था छ ।’

भारतबाट आएकाहरुलाई विराटनगरस्थित डीएभी स्कूलमा निर्माण गरिएको होल्डिङ सेन्टरमा राखेको छ । तीन सय जना अटाउने क्षमता भएको उक्त होल्डिङ सेन्टरमा विस्तृत विवरण संकलन गरेर सम्बन्धित जिल्लाका स्थानीय तहलाई जिम्मा लगाउने नीति लिएको प्रजिअ भुजेलले बताए ।

उनले विराटनगर र रंगेलीको दुई वटा विद्यालयमा ८ सय शय्याको होल्डिङ क्षेत्र निर्माण गरिएको र थप क्षेत्रको निर्माण कार्य भइरहेको बताए । होल्डिङ क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनालाई समेत खटाइएको छ ।

प्रदेश १ मा लकडाउनका कारण रोकिएका भारतीयहरुलाई पनि पठाउने तयारी गरिएको प्रजिअ भुजेलले बताए । ‘सुनसरी, मोरङ र झापामा मात्रै इँटा उद्योगमा काम गर्ने भारतीय मजदुर २ हजार ५ सय बढी रहेको र उद्योग, चिया बगान, निर्माण लगायतका क्षेत्रमा समेत भारतीय मजदुर कार्यरत छन्,’ उनले भने, ‘रानी नाकाबाट भारत सरकारले बिहार राज्यका व्यक्तिहरुका लागि मात्रै आवागमन खुल्ला गरेकाले इँटा उद्योगमा कार्यरत मजदुरहरुलाई पठाउन समस्या छ ।’

प्रकाशित : जेष्ठ १३, २०७७ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?