कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुम्बईबाट आएका थिए झापाका संक्रमित

अर्जुन राजवंशी

बिर्तामोड — शनिबार कोभिड–१९ पुष्टि भएका झापा गाउँपालिकाका युवा हप्ता दिनअघि भारतको मुम्बईबाट फर्किएको खुलेको छ । रोजगारीका सिलसिलामा मुम्बई गएका उनी दुई जना साथीसँग लकडाउनकैबीचमा नेपाल आइपुगेका हुन् ।

मुम्बईबाट आएका थिए झापाका संक्रमित

गाउँपालिकाको लसुनास्थित सीमानाकाबाट लुकीछिपी उनीसहित तीन जना नेपाल प्रवेश गरेका थिए । सीमा प्रवेश गरेलगत्तै उनीहरुलाई देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । तीनै जनालाई जेठ ४ गते कुमरखोदस्थित डिल्लीराज माविको क्‍वारेन्टाइनमा राखिएको थियो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्षण विश्वकर्माका अनुसार उनीहरु र उत्तर प्रदेशबाट आएका ११ जनाको पीसीआर परीक्षणका लागि बिहीबार स्वाब नमुना संकलन गरेको थियो ।

पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएका युवासँगै आएका दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएका युवकलाई शनिबार नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको विश्वकर्माले बताए । हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । दुई जना भने उपचारपछि घर फर्किसकेका छन् ।


प्रकाशित : जेष्ठ १०, २०७७ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?