कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीटीएम नहुँदा संक्रमितको सम्पर्कमा रहेका २ सय ५० को परीक्षण रोकियो

उदयपुरमा भीटीएम सकिएको ६ दिन बिते पनि सरकारले नपठाउँदा परीक्षण रोकिएको छ
डिल्लीराम खतिवडा

उदयपुर — कोभिड–१९ का बिरामी दैनिक बढिरहेका बेला कोरोना परीक्षण किटको अभाव भएको छ । जसका कारण संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रमा परीक्षण गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयहरूले जनाएका छन् ।

भीटीएम नहुँदा संक्रमितको सम्पर्कमा रहेका २ सय ५० को परीक्षण रोकियो

प्रदेश १ मा पहिलोपटक कोरोना संक्रमण देखिएको उदयपुरमा पीसीआर परीक्षणका लागि किट अभाव भएको छ । ६ दिनयता भीटीएमको मौज्दात शून्यमा झरेको छ । भीटीएम नहुँदा तत्काल परीक्षण नगरी नहुने २ सय ५० भन्दा बढी व्यक्तिको परीक्षण रोकिएको छ । ती व्यक्ति संक्रमित सञ्चारकर्मीको सम्पर्कमा रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले बताए । नमुना स्वाब संकलन गर्ने जनशक्ति पर्याप्त भए पनि भीटीएम नहुँदा स्वाब संकलन रोकिएको उनको भनाइ छ ।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के र आसपासका क्षेत्रमा पनि परीक्षण रोकिएको छ । ‘दुई दिनयता स्वास्थ्य कार्यालयमा भीटीएम शून्य छ,’ उनले भने, ‘३ गतेदेखि भीटीएम सकियो । यसबारे माथिल्लो निकायलाई जानकारी गराएका छौं । अहिलेसम्म प्राप्त भएको छैन ।’

पछिल्लोपटक कोरोना संक्रमित सञ्चारकर्मीको कन्ट्याक्ट ट्रेसिङका आधारमा ३८ जनाको नमुना संकलन गरिएसँगै भीटीएम सकिएको हो । प्रदेश सरकारले पठाएको ५ थान भीटीएम काम नलाग्ने भएपछि स्वाब संकलन रोकिएको प्रमुख सुवेदीको भनाइ छ ।

सुरुमा वैशाख ५ गते भुल्केस्थित नुरी मस्जिद र क्रमश: आसपासको बस्तीमा देखिएका ३२ र भुल्केबाहिर गाईघाट बजारमा बस्ने सञ्चाकर्मी गरी जम्मा ३३ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २३ जना कोभिड १९ उपचार केन्द्र विरानगरमा उपचार गरी फर्किसकेका छन् ।

परीक्षणले तीव्रता नपाउँदा जोखिम बढेको भन्दै स्थानीय चिन्तित छन् । एउटा बस्ती र समुदायबाट अर्को बस्ती र समुदायमा कोरोना संक्रमण फैलँदासमेत स्वाब परीक्षणको दायरलाई फराकिलो बनाउन नसक्नु सरकारको कमजोरी रहेको कांग्रेस नेता वसन्त बस्नेतले बताए ।

संक्रमित व्यक्तिको ट्राभल हिस्ट्री हेर्दा मास्क सिलाएर वितरण गर्ने, गाउँघर घुमेर चुरी बेच्ने, छाता र कुकर मर्मत गर्नेसम्मका छन् । तत्काल परीक्षण गर्नुपर्ने करिब ५ हजार छन् । तर स्वास्थ्य कार्यलायले अहिलेसम्म ५ सय ५२ महिला र ९ सय ८९ पुरुष गरी सहित १ हजार ५ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?