कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झगडा मिलाएर फर्किंदै गरेका असईको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — सिरिजंगा गाउँपालिका–७ खेवाङ प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) बालकुमार राईको मृत्यु भएको छ ।

सिदिङवा गाउँपालिका–७ सुरुमखिमको बुरुमखिम भन्ने स्थानबाट झगडा मिलाएर फर्कंदै गरेका उनको बिहीबार बिहान २:४५ बजे मृत्यु भएको वडाध्यक्ष नरेन्द्र तिवारीले बताए ।

राईको मृत्युको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले समेत पुष्टि गरेका छन् । ताप्लेजुङ प्रहरी प्रमुख महेन्द्र श्रेष्ठ नेतृत्वको टोली घटना जानकारीमा आएलगत्तै घटनास्थलतर्फ गएको निरौलाले बताए ।

वडाध्यक्ष तिवारीका अनुसार इन्चार्ज राईसहित ३ जनाको टोली झगडा मिलाएर बुधबार बिहान ११ बजे बुरुमखिमबाट हिँडेको थियो । उनीहरुले बुरुमखिम प्राविका शिक्षक गौरीशंकर भट्टराईकोमा बिहानको खाना खाएका थिए ।

त्यहाँबाट खेवाङका ज्ञानु ताम्लिङकोमा पुगेर भीरमौरीको मह, दूध चिया र दुई गिलास मोही पिएका तिवारीले बताए । सार्कीगाउँ छेउको चौतारोमा पुगेपछि इन्चार्ज राई र हवलदारलाई हिँड्न कठिन भएको थियो । राईको अवस्था नाजुक बनेपछि उनलाई स्थानीय कुमार सार्कीको घरमा राखिएको थियो । हवलदार र जवान भने प्रहरी चौकीमा जानकारी गराई स्वाथ्यकर्मीलाई घटनास्थलसम्म ल्याएका थिए । मह खाएका हवलदार र असई दुवैले बान्तासमेत गरेका स्थानीयको भनाइ छ । राईलाई महको असर परेको हुन सक्ने तिवारीको आशंका छ ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार उनलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर पोस्टमार्टम गरिनेछ । ‘सडक बिग्रिएकाले हामीलाई घटनास्थल पुग्नै समय लाग्यो, अब धरान लगेर पोस्टमार्टम गरेपछि मात्रै कारण थाहा हुन्छ,’ श्रेष्ठले टेलिफोनमा भने । स्थानीयले फुड पोइजनिङको आशंका गरे पनि पोस्टमार्टम नगरी यकिन गर्न नसकिने श्रेष्ठ बताउँछन् ।

भोजपुरको लेकखर्क घर भई झापाको दमक बस्दै आएका ४२ वर्षीय राई अघिल्लो हप्ता मात्रै प्रहरी इन्चार्ज भएर खेबाङ पुगेका थिए । त्यहाँ पुग्न सदरमुकाम फुङलिङबाट गाडीमा ७ घण्टा समय लाग्छ । तर वर्षाको समयमा यातायात अवरुद्ध हुन्छ । तेल्लोक इलाका प्रहरी कार्यालयबाट करिब ५ घण्टाको पैदल यात्रामा पुगिन्छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?